८ बैशाख २०८१, शनिबार

तीन हजार ६६७ आवास एकाइ सम्पन्न

gorkha
फाइल फोटो

शहरी विकास मन्त्रालयले सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा तीन हजार ६६७ आवास एकाइ सम्पन्न गरेको छ । मन्त्रालयको चालू आवमा हालसम्मको प्रगति सार्वजनिक गर्न आयोजना गरेको कार्यक्रममा मन्त्रालयले सो कार्यक्रमअन्तर्गत हालसम्म छ हजार ९६७ आवास एकाइ सम्पन्न भएको जनाएको छ ।

त्यस्तै सुरक्षित नागरिक आवास कार्यअन्तर्गत १२ हजार १४२ नयाँ लाभग्राही छनोट गरी पहिलो किस्ताबापतको रकम भुक्तानी गरिएको मन्त्रालयले जनाएको छ । शहरी विकासमन्त्री प्रभु शाहले विपन्न वर्गलाई लक्षित जनता आवास र सुरक्षित आवास कार्यक्रम स्थानीयस्तरमा अपेक्षा गरिए जस्तो प्रगति नभएको बताउनुभयो ।

यी कार्यक्रममा प्रभावकारिता, जवाफदेहिता र एकरुपता ल्याइने उहाँले बताउनुभयो । नयाँ शहर निर्माणका लागि कतिपय स्थानमा विस्तृत अध्ययन भइरहेको र अध्ययन भइसकेका स्थानमा कार्यन्वयनको क्रममा रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कुनकुन परियोजनामा समस्या छ त्यो हटाएर हेर्नलाई होइन देख्नका लागि शहर बनाउन लागिएको छ ।”

फुसको छानालाई विस्थापित गरी जस्तापाताले छाना छाउन सरकारले विसं २०७४÷७५ मा कार्यक्रम शुरु गरेको थियो । चालू आवभित्र मन्त्रालयले एक लाख ५० हजार सुरक्षित नागरिक आवास निर्माण गर्ने कार्यक्रम तय गरेको छ । आगामी तीन वर्षभित्र सात लाख ५० हजार फुसको छाना विस्थापन गर्ने लक्ष्य लिइएको मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीले जानकारी दिनुभयो ।

नयाँ लाभग्राहीलाई पहिलो किस्ताबापत प्रत्येक लाभग्राहीलाई रु ३० हजार दरले भुक्तानी भएको छ । गरिबीको रेखामुनि रहेका घरपरिवारलाई सुरक्षित र व्यवस्थित बसोबासको व्यवस्था गर्ने उद्देश्यले सरकारले आव २०७५÷७६ को नीति तथा कार्यक्रममा यसलाई समावेश गरेको थियो ।

मन्त्रालयको समग्र प्रगति २९ दशमलव ६७ प्रतिशत रहेको प्रवक्ता दवाडीले जानकारी दिनुभयो । चालू आवमा मन्त्रालयको चालूतर्फ विनियोजित पाँच अर्ब छ करोडमध्ये एक अर्ब ६६ करोड अर्थात् ३३ प्रतिशत खर्च भएको छ ।

त्यस्तै पूँजीगततर्फ, रु २५ अर्ब चार करोड विनियोजन भएकामा रु छ अर्ब ३८ करोड अर्थात् २९ प्रतिशत खर्च भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयको कूल बजेट रु ३० अर्ब रहेको छ ।