१२ बैशाख २०८१, बुधबार

कोरोनाका कारण ७५ प्रतिशत लघु तथा घरेलु उद्योग बन्द

udhog mantralaya nawayug

कोरोना भाइरसका कारण नेपालमा ७५ प्रतिशत लघु तथा घरेलु उद्योग पूर्ण रुपमा बन्द भएका छन् । कोरोनाका कारण सबैभन्दा धेरै लघु तथा घरेलु उद्योग प्रभावित भएको उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्रालयले सार्वजनिक गरेको उद्योगमा कोभिडले पारेको प्रभावको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

मन्त्रालयले सार्वजनिक गरेको उक्त अध्ययन प्रतिवेदनअनुसार ५४ प्रतिशत उद्योगहरुको ५० प्रतिशत उत्पादन क्षमतामा गिरावट आएको, ३२ दशमलव ४३ प्रतिशत उद्योगको ७५ प्रतिशतसम्म उत्पादनमा गिरावट आएको र २३ दशमलव ५२ प्रतिशत लघु घरेलु उद्योगको उत्पादन क्षमतामा ७५ प्रतिशत घटेको छ ।

उक्त अध्यनमा गरगहना, रंगरोगन, पेयपदार्थ, सिमेन्ट, तामा पित्तल भाडा, जलुविद्युत् उत्पादन, हस्तकला, तयारी पोशाक, परामर्शलगायत वस्तु तथा सेवा उत्पादन गर्ने उद्योगलाई समावेश गरिएको थियो । अध्यनमा लघु तथा घरेलु उद्योग १७, साना उद्योग आठ, मझौला चार र ठूला आठ उद्योग गरी ३७ उद्योगलाई नमूना (स्याम्पल) को रूपमा रहेका थिए । प्रतिशतको आधारमा २२ प्रतिशत ठूला उद्योग, ४६ प्रतिशत लघु घरेलु उद्योग, ११ प्रतिशत मझौला उद्योग र २१ प्रतिशत साना उद्योग अध्ययनमा सहभागी थिए ।

यसैगरी, अध्ययनमा सहभागी लघु तथा घरेलु उद्योगमध्ये ८२ दशमलव ३५ प्रतिशत उद्योगले कोभिड–१९ का कारण उत्पादनमा असर परेको, ७६ दशमलव ४७ प्रतिशतले कच्चा पदार्थ प्राप्ती गर्न कठिनाइ भएको र ८८ दशमलव २४ प्रतिशतले आफ्नो उत्पादनको बजारीकरण गर्न नसकेको बताएका थिए । यसैगरी, ८७ दशमलव ५ प्रतिशत साना उद्योगको उत्पादनमा प्रत्यक्ष असर परेको तथा ७५ प्रतिशत कच्चा पदार्थ प्राप्त गर्न कठिनाइ भएको प्रतिक्रिया दिएका थिए । ८७ दशमलव ५ प्रतिशत उद्योगले श्रमिकको परिचालन र उत्पादनको बजारीकरणमा असर परेको बताएका थिए ।

यस्तै अध्ययनमा सहभागी ५० प्रतिशत मझौला उद्योगले कच्चा पदार्थ प्राप्तिमा समस्या भएको, ७५ प्रतिशत उद्योगले श्रमिक परिचालनमा समस्या परेको बताएका थिए । ठूला उद्योगले भने कच्चा पदार्थको प्राप्ति, वस्तु तथा सेवाको उत्पादन, श्रमिक परिचालन तथा बजारीकरण सबै क्षेत्रमा असर परेको बताएका थिए । कोरोनाका कारण अधिकांश उद्योग नोक्सानमा रहेको तथा अध्ययनमा सहभागी उद्योगमध्ये १६ दशमलव २२ प्रतिशत मात्र नाफामा थिए । नाफामा रहेका उद्योगमध्ये ६६ दशमलव ६७ प्रतिशत ठूला उद्योग रहेका थिए ।