८ बैशाख २०८१, शनिबार

घरेलु हिंसापीडितलाई पुरानै अवस्थामा फर्काउन चुनौती

women

घरेलु हिंसामा परेका महिलालाई पारिवारिक पुर्नमिलन गराउन पाउँदा मनो–परामर्शकर्ताका रुपमा कार्य गर्दै आउनु भएका द्वारिका कुवँरलाई पुण्यको कार्य गरेको अनुभूति हुन्छ । छ वर्षदेखि कुवँर शुक्लाफाँटा नगरपालिकाले सञ्चालन गर्दै आएको नगर सेफ हाउसमा मनो–परामर्शकर्ताका रुपमा कार्य गर्दै आउनुभएको छ ।

घरेलु हिंसामा परेका महिलाका व्यथा र कथा सुनी नसक्ने हुन्छन् । शारीरिकसँगै मानसिक रुपमा समेत विक्षिप्त अवस्थामा पुगेका महिला गुहार माग्दै सेफ हाउसमा आउने गर्दछन् । “घरेलु हिंसाका कारण घरमा बस्ने वातावरण नभएपछि सेफ हाउसमा पुग्ने महिलाका पीडा सुनेपछि राति निन्द्रा नै पर्दैन” कुवँरले भन्नुभयो,“घरेलु हिंसामा परेका महिलामा रुने, कराउने, तर्सने, राति निन्द्रामा बर्बराउने र डराउनेजस्ता समस्या लिएर आउने गरेका छन् । पटकपटकको मनो–परामर्श दिएपछि मात्रै महिलालाई मानसिक रुपमा तयार हुन्छन् ।”

उहाँका अनुसार मानसिक रुपमा घर जान तयार भएका महिलासँगै पीडकलाई प्रहरीको रोहबरमा राखेर हिंसा नगर्ने कागज गरेपछि घर पठाउने गरिएको छ । “जघन्य प्रकृतिको घरेलु हिंसा गरेको रहेछ भने कानूनी कारवाहीका लागि प्रक्रिया अगाडि बढाउन पीडित महिलालाई कानूनी रुपमा सघाउने गर्दछौँ”, उहाँले भन्नुभयो,“मनोपरामर्शपछि पीडित महिलाको पारिवारिक पुर्नमिलन गराउन पाउँदा खुशीको सीमा नै रहँदैन ।”

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहरा हिंसामा परेका महिलाको व्यवस्थापन गर्ने कार्य निकै चुनौतीपूर्ण भएको बताउनुहुन्छ । “हिंसामा परेका व्यक्ति मानसिक रुपमा निकै विक्षिप्त अवस्थामा हुन्छन्”, उहाँले भन्नुभयो, “पुरानै अवस्थामा फर्काउने कार्य गर्नका लागि निकै मेहनतको काम हो । जुन सेफ हाउसका मनो–विर्मशकर्ताले गर्दै आउनुभएको छ ।”

उहाँले भन्नुभयो, ‘‘आवश्यकता परेका बेला हामीले पनि सहयोग गरेका छौँ । साधनस्रोत र क्षमताले भ्याएसम्म हिंसाका घटना न्यूनीकरणसँगै पीडकलाई न्यायिक पहुँच पु¥याउने कार्य गर्दै आएका छौँ ।” शुक्लाफाँटा नगरपालिकाका नगर प्रवक्ता जगतबहादुर सिंह विवाह गरेर ल्याएकी बुहारीलाई सासू ससुराले मन नपराएर छोराको अर्को विवाह गरी अर्कै ठाउँमा बस्नका लागि पठाउने र सन्तान भएपछि घर भित्र्याउने कार्य गर्न थालेपछि जेठी श्रीमतीमाथि हिंसा निम्तिने समस्या बढ्दै जान थालेको बताउनुभयो ।

“यस्ता समस्या धेरै आउन थालेका छन्” उहाँले भन्नुभयो, “यस्तो कार्य गर्नेलाई कानूनी दायरामा नल्याउँदासम्म समाजलाई हिंसारहित बनाउन सकिदैन ।” “प्रत्येक व्यक्तिलाई कानूनको अधिनमा रही विवाह गर्ने अधिकार भए पनि पहिलो विवाह छँदै दोस्रो विवाह गर्ने कार्य स्वतः कानूनअनुसार बदर हुने व्यवस्था रहेको छ ।

त्यस्तो विवाह गर्ने व्यक्तिलाई तीन वर्षसम्मको जेल सजाय हुने व्यवस्था छ । त्यस्तो कार्य गर्ने व्यक्ति सरकारी जागिरका लागिसमेत अयोग्य हुन्छ”, उहाँले भन्नुभयो, “बहुविवाह गर्ने कार्यलाई निरुत्साहित गर्न कानूनतः कारवाही प्रक्रिया अगाडि बढाइनुपर्छ ।”

सेफ हाउसले मेलमिलापको माध्यमबाट विवादलाई निरुपण गर्दा नगरपालिकाको न्यायिक समिति र प्रहरीमा आउने विवादको चाप घटेको उहाँले बताउनुभयो । घरेलु हिंसामा सबैभन्दा बढी मदिरा सेवनका कारण श्रीमान्ले श्रीमतीमाथि कुटपिट गर्ने, गालीगलौज गर्नेलगायतका घटना बढी हुने गरेका छन् ।

त्यसपछि बहुविवाह, बालविवाह, जबरजस्ती करणी, अंश विवाद, पारिवारीक हिंसा, यौनजन्य हिंसा, गालीगलौज, लेनदेन, चरिचरनलगायतका विवाद बढी सेफ हाउसमा पुग्ने गरेका छन् । हिंसामा परेका महिला उहाँका परिवारबीच छलफल गरी पुर्नमिलन गराउने कार्यसँगै हिंसाको प्रकृतिलाई मध्यनजर गरी कानूनी सेवासमेत दिइँदै आएको सेफ हाउस सञ्चालक समितिका सदस्य मधु बोहराले बताउनुभयो ।

“पीडितहरुलाई पुनः परिवारमा सम्बन्ध कायम गरी सामाजिक सद्भाव कायम गराउनु यस संस्थाको उद्देश्य हो” उहाँले भन्नुभयो, “हालसम्म १८१ महिला र पाँच जना बालिकालाई सेवा दिइएको छ ।” उहाँका अनुसार हालसम्म जबरर्जस्ती करणीका छ जना, घरेलु हिंसा ७८ जना, कुटपिट ५५ जना, बहुविवाहका १७ जना, बालबाविवाहका तीन जना, अलपत्र परेका १२ जनालाई सेफ हाउसबाट सेवा दिइएको छ । यसमध्ये २० जनालाई मनो–परामर्श सेवा दिइएको छ ।

न्याय माग्दै सेफ हाउसमा आएका महिलालाई पारिवारिक पुर्नमिलनको कार्य गराउन डडेल्धुराको जोगबुढा, ग्वानी, कञ्चनपुरको बैलौरी, गोकुलपुर, बेलडाँडी, दोधारा चाँदनी पुगेर छलफलका माध्यमबाट समस्या हल गरिएका छन् । सेफ हाउसमा पुगेका महिलालाई औषधोपचार, लुगाकपडा, घरसम्म पुग्ने भाडाको समेत व्यवस्था गरिँदै आएको छ ।

महिला अधिकारकर्मी पुष्पा केसी घरेलु हिंसा भोगी रहेको व्यक्तिले शारीरिक, मानसिक यौनिक तथा आर्थिक यातना सहनु परेको बताउनुहुन्छ । आर्थिक स्रोतसाधनका पहुँचबाट वञ्चित गर्ने घर निकाला गर्ने, कुटपिट गर्ने, दुव्र्यवहार गर्नेजस्ता कार्यलाई कानूनअनुसार दण्डनीय गर्ने भनिए पनि अधिकांश हिंसाका घटना मेलमिलापका माध्यमबाट मिलाइने भएकाले पीडकको मनोवल उच्च भई झनै हिंसामा उत्रिने गरेको पाइएको उहाँले बताउनुभयो ।

अवस्था हेरेर सेफहाउसमा पीडा बोकेर आउने सबैलाई सेवा दिनुपर्ने नगर उपप्रमुख तुलसीदेवी हमालले बताउनुभयो, “महिलालाई समाजमा हेर्ने दृष्टिकोणमा विस्तारै परिवर्तन आउन थाले पनि घरेलु हिंसामा महिला नै पर्ने कार्य भने रोकिएको छैन यो चिन्ताको विषय हो” उहाँले भन्नुभयो, “घरेलु हिंसा न्यूनीकरणका लागि जनचेतनासँगै कठोर रुपमा कानूनी लडाइँ लड्नु जरुरी छ ।”
विभिन्न खाले हिंसा न्यूनीकरणका लागि कानून बने पनि प्रभावकारी कार्यान्वयन नहँुदा हिंसाले प्रश्रय पाउने गरेको उहाँको भनाइ छ । नगर प्रमुख दिलबहादुर ऐर सेफ हाउसलाई दिगो रुपमा सञ्चालन र व्यवस्थित गर्नका लागि छिट्टै कार्यविधि निर्माण गर्ने बताउनुहुन्छ । “कार्यविधि निर्माणपश्चात् भाडाको घरमा सञ्चालन हुँदै आएको सेफहाउसका लागि जग्गा र भवनको व्यवस्था गर्ने कार्य अगाडि बढाइन्छ”, उहाँले भन्नुभयो, “हिंसापीडितलाई पारिवारिक पुर्नमिलनसँगै कानूनी उपचार उपलब्ध गराउनका लागि मनो–परामर्शकर्ताको सेवा सुविधामा समेत ध्यान दिइने छ ।”

हिंसारहित समाज निर्माण गर्नका लागि सबैको सहकार्यको जरुरी रहेको उहाँको भनाइ छ । सेफ हाउस सञ्चालनका लागि चालू आवको साउन महिनादेखि पुस मसान्तसम्म रु तीन लाख १५ हजार ४१६ खर्च भएको छ ।