७ बैशाख २०८१, शुक्रबार

अलग अल दलबाट एउटै पदमा एकै वडाका चार महिला चुनाव लड्दै

International Womens Day

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्याग्दीको एक स्थानीय तहमा एकै वडाका चार महिलाले अलग अलग दलबाट एउटै पदमा उम्मेदवारी दिनुभएको छ । बेनी नगरपालिकाको उपप्रमुखमा एउटै वडाका चार महिलाले उम्मेदवारी दिनुभएको हो ।

उपप्रमुखमा मनोनयन दर्ता गराउनुभएका अमृतदेवी बानियाँ, पशुपति शाही, ज्योति लामिछाने र मुना बानियाँ बेनी नगरपालिका–६ निवासी हुनुहुन्छ । बानियाँले नेपाली काँग्रेसबाट, शाहीले नेकपा (एमाले)बाट, लामिछानेले नेकपा (माओवादी केन्द्र) बाट र मुनाले नेकपा (एकीकृत समाजवादी)बाट उपप्रमुखमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

काँग्रेसबाट उम्मेदवार बन्नुभएकी अमृतदेवी पार्टीको गण्डकी प्रदेश समिति सदस्य हुनुहुन्छ । विसं २०५४ मा वडा नम्बर ९ अर्थुङ्गेको वडासदस्यमा निर्वाचित हुँदै राजनीति सुरु गर्नुभएकी उहाँ काँग्रेसको दुई कार्यकाल जिल्ला सदस्य र दुई पटक महाधिवेशन प्रतिनिधि भइसक्नुभएको छ । साथी संस्था, लायन्स क्लब, महिला स्वयंसेविकालगायतमा रहेर उहाँले सामाजिक अभियन्ताको रुपमा काम गरिसक्नुभएको छ ।

एमालेबाट उम्मेदवार बन्नुभएकी शाही पार्टीको जिल्ला कमिटी सचिवालय सदस्य तथा अखिल नेपाल महिला सङ्घको जिल्ला उपाध्यक्ष र अन्तरपार्टी महिला सञ्जालकी जिल्ला अध्यक्ष हुनुहुन्छ । गाउँको सामुदायिक वन, विद्यालय व्यवस्थापन समिति, आमा समूहलगायत सङ्घसंस्थामा आबद्ध भई उहाँ सामाजिक कार्यमा क्रियाशील हुनुहुन्छ ।

माओवादी केन्द्रबाट उम्मेदवार बन्नुभएकी लामिछाने पार्टीको प्रदेश कमिटी सदस्य हुनुहुन्छ । उहाँले अखिल क्रान्तिकारीबाट राजनीति सुरु गर्नुभएको हो । विसं २०६० देखि राजनीतिमा सक्रिय उहाँ हाल विभिन्न सङ्घसंस्थामा आबद्ध हुनुहुन्छ । लामिछाने यसअघिको निर्वाचनमा उपप्रमुखमा ३४ मतले पराजित हुनुभएको थियो ।

एकीकृत समाजवादीकी उम्मेदवार मुना पार्टीको केन्द्रीय कमिटी सदस्य एवं जिल्ला इन्चार्ज हुनुहुन्छ । विसं २०४८ देखि राजनीतिमा सक्रिय उहाँ यसअघि एमालेको प्रदेश कमिटी सदस्य हुनुहुन्थ्यो ।