१२ बैशाख २०८१, बुधबार

सलमान खान र सोमी अलीको अधूरो प्रेम कहानी: विवाह गर्न अमेरिकाबाट मुम्बई !

Salman somy beingindian

पाकिस्तानी मूलकी अभिनेत्री सोमी अली यतिबेला अभिनेता सलमान खानका कारण चर्चामा छिन् ।

९० को दशकमा सोमी अलीसँग सलमान खानको नाम असाध्ये जोडिएको थियो र दुबैको अफेयरको चर्चा पनि चारैतिर थियो । अब वर्षौंपछि सोमी अली सार्वजनिक भएकी छिन् र आफ्नो सम्बन्ध र करियरको विषयमा कुराकानी गरेकी छिन् । 

उनी सन् १९९१ मा सलमानसँग विवाह गर्न भनेर अमेरिकाबाट मुम्बई आएकी थिइन् । यो समयमा उनको उमेर १६ वर्षको थियो । भारत पुगेको एकवर्ष पछि नै उनको भेट सलमानसँग भयो ।

मुम्बई आएपछि उनले फोटोग्राफर राजाध्यक्षसँग आफ्नो फोटोसुट गराइन् र प्रोडक्सन हाउसमा जान थालिन् । यही क्रममा एकदिन एक प्रोडक्सन हाउसमा सलमानको नजर सोमीमाथि पर्यो । त्यसपछि उनले सोमीलाई फिल्म ‘बुलन्द’को अडिसनमा बोलाए । भलै यो फिल्म रिलिज त भएन, तर सोमीलाई भने अन्य फिल्मबाट अफर आउन थाल्यो ।

Somy Ali compressed

मुम्बई आएपछि उनी सलमानसँग नजिकमात्र भइनन्, उनले अभिनय पनि गरिन् । त्यसपछि उनीहरुले एक–अर्कालाई डेट गर्न थाले । तर उनीहरुले अभिनय गरेको त्यो फिल्म रिलिज हुन सकेन । त्यो समयमा उनीहरुबीचको सम्बन्धले राम्रै चर्चा पाएको थियो ।  दुबैको ब्रेकअप सन् १९९९ मा भयो र त्यसपछि सोमी पढ्नका लागि अमेरिका फिर्ता भइन् ।

टाइम्स फ इन्डियालाई दिएको अन्तरवर्तामा सोमी अलीले सलमानसँगको भेट र आफ्नो फिल्मी करियरबारे बिस्तारमा बताइन् । उनका अनुसार मुम्बईमाआएपछि उनले पोर्टफोलियो सुट गराइन् । उनी एक प्रोडक्सन हाउसमा पुगिन् तर अचम्म के भइदियो भने सलमान खान पनि त्यहाँ केही साथीहरुलाई भेट्न पुगेका रहेछन् । पछि उनलाई बोलाइयो । जुन फिल्म (बुलन्द) मा उनलाई कास्ट गरियो, त्यो रिलिज हुन पाएन तर त्यसको कारणले उनले थुप्रै फिल्म पाइन् ।

सोमी अलीले भनिन्, ‘निर्देशकहरु मसँग डराउँथे, म रिहर्सलका लागि जाँदैनथेँ । मेरो जीवनशैली भिन्न थियो । म यहाँ फिल्ममा करियर बनाउन आएकी थिइनँ, म त सलमान खानसँग विवाह गर्न चाहन्थेँ ।’

somy and salmanm g

‘मैले १६ वर्षको उमेरमा सलमान खानको फिल्म ‘मैने प्यार किया’ हेरेको थिएँ । त्यो फिल्म हेरेपछि मैले यही केटासँग विवाह गर्छु भनेर निर्णय लिएँ’, उनले भनेकी छन्, ‘मैले आमासँग भोलि भारत जाँदैछु भनें । आमासँग निकै जिद्दी गरें । मुम्बईमा हाम्रो एक नातेदार थिए । मैले उनीलाई भेट्न र ताजमहल हेर्ने बहाना बनाएर भारत जानका लागि आमाबाबुलाई मनाएँ । म पाकिस्तानमा केही दिन बसेपछि मुम्बई गएँ ।’

४० वर्षसम्म पनि किन अविवाहित हुनुहुन्छ भनेर सोधिएको प्रश्नमा उनले भनिन्, ‘मैले सामाजिक कार्यका लागि आफ्नै संस्था खोलेकी छु र म मेरो संस्थासँगै सफल वैवाहिक जीवनमा छु । जब तपाईं प्रेमलाई खोज्नुहुन्छ तब त्यो तपाईं भएठाउँ आउँदैन । अब मलाई सन्तान जन्माउन पनि चाहना छैन । तर जब भारतमा थिएँ तब मलाई विवाह गर्ने चाहना थियो र म पाँच सन्तान जन्माउन चाहन्थेँ तर अहिले ४० वर्षकी पुगेँ, अहिले चाहना छैन । यदि कोही व्यक्तिसँग तपाईंको विचार, धारणा मिल्दोजुल्दो छ र माया पनि गर्छ भने म पक्कै पनि यसका लागि सकारात्मक छु तर मैले अहिलेसम्म पनि त्यस्तो व्यक्ति भेटेकी छैन ।’

उनका अनुसार सन् १९९९ मा सलमान खानसँगको सम्बन्ध समाप्त भएपछि उनले मियामीमा आफ्नो होमटाउन जाने निर्णय लिइन् । उनका अनुसार मुम्बईमा हुँदा उनको भेट सैफ अली खान र चंकी पाण्डेजस्ता कलाकारसँग भएको र उनीहरुसँग काम गरेको उनले बताएकी छिन् । 

सोमीले वर्षौंदेखि सलमान खानसँग कुरा नगरेको बताएकी छिन् । उनले भनिन्, ‘मैले थुप्रै वर्षदेखि सलमान खानसँग कुनै कुराकानी गरेकी छैन । थुप्रै पटक त मानिसहरु तपाईंको जीवनमा आउँछन् । के गर्नुपर्छ, के गर्नुहुन्नँ भन्ने कुरा तपाईंले उहाँहरुबाट केही कुरा सिक्न पाउनुहुन्छ । र एक समय यस्तो पनि आउँछ जब तपाईं जीवनमा अघि बढ्न चाहनुहुन्छ ।’

लामो समयसम्म सलमानसँग डेट गरेपछि सन् १९९९मा उनीहरुको सम्बन्ध टुट्यो । सम्बन्ध टुटेपछि उनी अमेरिका फर्किइन् र आफ्नो पढाइ शुरु गरिन् । सोमी अहिले ‘नो मोर टियर्स’ नामक एनजीओ चलाउँछिन् ।