१५ चैत्र २०८०, बिहीबार

छाडियो ७० गोही नदीमा

croc

चितवन राष्ट्रिय निकुञ्जको प्रजनन् केन्द्रमा हुर्काइएका ७० घडियाल गोही नदीमा छाडिएका छन् । चालू आर्थिक वर्षको साउनयता निकुञ्ज हुँदै बग्ने राप्ती नदीमा छाडिएको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार विभिन्न समयमा गरी गोही छाडिएका हो । ती सबै गोहीलाई कसरा नजिकै नदीमा छाडिएको उहाँले जानकारी दिनुभयो । यस आर्थिक वर्षमा १०० गोही नदीमा छोड्ने योजना रहेको छ । अधिकारीका अनुसार अब छोड्ने गोहीलाई लोथर नजिकै राप्ती नदीमा छोडिने छ ।

यहाँ छोडिएका अधिकांश गोही भारततर्फ जाने गरेकाले राप्ती नदीको माथिल्लो भागमा छोड्न लागिएको हो । विगतमा राप्तीसँगै नारायणी, कालीगण्डकी, कोशी, बबई, कर्णालीलगायतका नदीमासमेत छोड्ने गरिएको भए पनि पछिल्ला वर्षमा राप्ती र नारायणीमा मात्रै छोडिदै आएको छ । ती नदीमा गोही संरक्षण हुन नसकेपछि नछोडिएको हो ।

निकुञ्जको प्रजनन केन्द्रमा हाल ५८२ वटा गोही रहेका छन् । सन् १९७८ मा केन्द्र स्थापना भएपछि गोहीको बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो । पछिल्लो गणना अनुसार राप्तीमा ११८ र नारायणीमा १०१ गोही रहेका छन् । गोहीले नदी किनारमा अण्डा पारेपछि जोखिममा रहेका अण्डालाई सङ्कलन गरेर प्रजनन केन्द्रमा ल्याई कोरल्ने र हुर्काउने गरिन्छ । तिनै गोहीलाई पाँच वर्षपछि नदीमा छोड्ने गरिएको छ ।

मरे पाँच हात्ती

चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ पालिएका पाँच हात्ती विभिन्न कारणले मरेका छन् । चालू आर्थिक वर्षको साउनयता ती हात्ती बुढो भएर र विभिन्न रोगका कारण मरेका हुन् ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्रका अनुसार सौराहाको दीपेन्द्र गज र सुन्दर माला, बेलसार पोष्टको विक्रमप्रसाद, खोरसोरको अप्सराकली र लामिचौर पोष्टको शङ्करप्रसाद मरेका हुन् । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठका अनुसार ५५ वर्षको दीपेन्द्र गज क्षयरोगले, ७५ वर्षको सुन्दरमाला बुढो भएर, २२ वर्षको विक्रमप्रसाद वामपुड्को र रोगी भएर मरेका हुन । जन्मेको १८ दिनमा अप्सराकली अकस्मात बिरामी भएर मरेको हो भने ४५ वर्षको शङ्करप्रसादको सानो आन्द्रा वटारिएर गाँठो परेसँगै पेट फुलेर मरेको हो ।

श्रेष्ठले शङ्करप्रसाद क्षयरोगका कारण मरेको हो की भन्ने आशङ्का गरिएको भए पनि पोष्टमार्टमपछि क्षयरोग नभएर आन्द्रा फुलेर मरेको पाइएको बताउनुभयो । बच्चा बिरामी भएको थाहानै ढिलागरी पाइएकाले बचाउन नसकिएको उहाँको भनाइ छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले प्राकृतिक कारणबाट धेरै हात्ती मरेपछि चिकित्सकसँग छलफल भइरहेको बताउनुभयो । पछिल्लो समय काम र चरेर फर्किएका हात्तीको खुट्टलाई सोडा पानीमा डुबाउने, धानलाई पखालेर मात्र खुवाउने जस्ता कार्य पनि थालिएको उहाँले जानकारी दिनुभयो । केही हात्तीको क्षयरोग परीक्षणका लागि नमूना लिएर पठाइएको छ । बरालले यहाँ परीक्षण नहुने भएपछि काठमाडौँ पठाइएको बताउनुभयो ।

यस वर्ष धेरै हात्ती मरेसँगै निकुञ्जमा हात्तीको स्वास्थ्यको विषयमा विशेष ख्याल गर्न थालिएको छ । विगतमा निकुञ्जका हात्तीमा क्षयरोग फैलिएर हात्ती मर्न थालेपछि औषधि खुवाइएको थियो । हाल निकुञ्जमा ५१ वटा हात्ती रहेका छन् । ६ वटा कोशी वन्यजन्तु आरक्षमा दरबन्दी भएर पनि यही काम गरिरहेका छन् । निकुञ्जको खोरसोरमा हात्ती प्रजनन केन्द्र रहेको छ । केन्द्रमा जङ्गली हात्ती धु्रवे, रोनाल्डोलगायतको संसर्गबाट छावा जन्मिने गर्दछन् ।

त्यहाँ जन्मिएका छावालाई हुर्काएर तालीमपछि काममा पठाउने गरिन्छ । निकुञ्ज सुरक्षामा हात्ती प्रयोग हुने गरेको छ । विगतमा पर्यटक घुमाउन प्रयोग गरिने भए पनि पछिल्ला वर्षमा निजी हात्ती मात्र प्रयोग गरिँदै आएको छ ।