१६ चैत्र २०८०, शुक्रबार

कम्तीमा तीस प्रतिशत युवा पार्टी नेतृत्वमा आउनुपर्छ : नेता पोखरेल

ishowr pokhrel

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य ईश्वर पोखरलेलले पार्टीको आगामी महाधिवेशनबाट कम्तीमा ३० प्रतिशत युवा नेतृत्व तहमा आउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय युवा सङ्घको दोस्रो पूर्ण बैठकको आज उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले पार्टीको नेतृत्वको नर्सरीका रुपमा युवा सङ्घ रहेकाले कम्तीमा ३० प्रतिशत नेतृत्वमा आउनुपर्ने बताउनुभयो ।

उहाँले ३० प्रतिशत युवा पार्टीको नेतृत्वमा नआउँदा पार्टीमा नेतृत्वको रिक्तता आउने र पार्टी संकटमा पर्ने बताउँदै भन्नुभयो, “त्यसैले अब म आफै कमसेकम ३० प्रतिशत युवा महाधिवेशनमा आउनुपर्छ भनेर म वकालत गर्छु,” उहाँले भन्नुभयो, “पार्टीको नेतृत्वमा आएका ३० प्रतिशतमध्ये ५० प्रतिशत अगाडि बढे भने नेतृत्वमा रिक्तता हुदैन ।”

उहाँले पार्टीको एकतापछि तीन वर्षमा पार्टी सबैतिर भएपनि शक्ति र संगठनमा देखिन नपाएको बताउनुभयो । “एकतापछि पार्टी शक्ति र संगठनमा देखिनुपर्नेमा त्यस्तो देखिएन । हाम्रो यही हो भूकम्पको बेला तीन महिनामा २७ हजार टहरा बनाएर नेपाली जनतालाई हस्तान्तरण गरेका थियौँ ।” उहाँले भन्नुभयो, “हाम्रो पार्टी राजनीतिक संगठनमात्र होइन सभ्यता र संस्कृति बोकेर आएको शक्ति पनि हो ।” युवा संघका इन्चार्ज महेश बस्नेतले सरकारले निर्वाचन घोषणा गरिसकेकाले युवा संघ निर्वाचनकेन्द्रित हुनुपर्ने बताउनुभयो ।

बैठकले संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ लाई जिम्मेवारीमुक्त गरेको छ । सोमबारसम्म चल्ने बैठकले संयोजक चयन गर्ने संघका नेता प्रभातविक्रम कटवालले जानकारी दिनुभयो ।