१४ बैशाख २०८१, शुक्रबार

प्रतिनिधिसभा भन्दा प्रदेशसभा कानून निर्माणमा अगाडि : सभामुख शाही

Karnali I2VYaB4kim

कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले कानून निर्माणका सन्दर्भमा प्रतिनिधि सभाभन्दा प्रदेशसभा अगाडि रहेको दाबी गर्नुभएको छ । प्रदेशसभा स्थापनाको दोस्रो वार्षिकोत्सवमा मंगलबार आयोजित अन्तक्र्रियामा उहाँले कानून निर्माणसँगसँगै विधेयक जनतामाझ लैजाने अभ्यासको शुरुआत गरेको बताउनुभयो ।

सभामुख शाहीले विधेयकको मस्यौदाबारे सरोकार वालामार्फत आम जनता माझ लैजाने प्रचलन प्रदेश सभाबाटै शुरु भएको दाबी गर्नुभयो । “जनतासँग प्रत्यक्ष सरोकार राख्ने विधेयकलाई विभिन्न जिल्लामा पुगेर जनताको राय लियौँ र जनताको सुझाव अनुसार ऐन-निर्माण गरेका छौँ”, उहाँले भन्नुभयो, “सकेसम्म प्रदेशसभालाई खुला संसद्को रुपमा विकास गर्न लागेका छौँ ।

प्रदेशसभामा जनताको पहुँच बढाउन विभिन्न प्रयास गर्दै आइरहेका छौँ ।” प्रदेशसभा सचिवालयका उपसचिव तेजप्रकाश जोशीले दोस्रो वार्षिकोत्सवको पूर्वसन्ध्यामा ब्याडमिन्टन प्रतियोगिता, कुर्सी दौड, घैँटो फोड्ने खेल आयोजना गरेको जानकारी दिनुभयो ।

ब्याडमिन्टन प्रतियोगितामा प्रथम गणेशप्रसाद देवकोटा र झुपलाल ढकाल, द्वितीय पदमप्रसाद चालिसे र फुन्जोक लामा, नृपबहादुर रावल, हरिबहादुर बुढाको टिमले तृतीय स्थान हासिल गरेको छ । कुर्सी दौडमा चन्दन वीसी र घैँटो फोड्नेमा हरिराम थारु विजयी बन्नुभएको छ ।