११ बैशाख २०८१, मंगलवार

कीर्तिमानी आरोही निर्मल पूर्जा मगर सद्भावनादूत नियुक्त

nirmal purja magar

नेपाल पर्वतारोहण सङ्घ (एनएमए) ले विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ को शिशिर याममा सफल आरोहण गरी नयाँ अभिलेख बनाएका आरोही निर्मल पूर्जा मगर ‘निम्स’ लाई सद्भावनादूत ‘गुडविल एम्बास्डर’ घोषणा गरेको छ ।

नेपाली पर्वतारोहीहरूको छाता सङ्गठन एनएमएले विश्वकै कठिन हिमाल केटूको सफल आरोहण गरी देशको पहिचानलाई विश्वभर पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेको भन्दै मगरलाई सन् २०२१ का लागि सद्भावनादूत बनाएको हो । आरोही मगरले यसअघि सात महिनामा विश्वका ८,००० मिटरभन्दा माथिका १४ वटा उच्च हिम शिखर सफलतापूर्वक आरोहण गरी ‘गिनिज बुक अफ वल्ड रेकर्ड’मा नाम दर्ता गर्न सफल हुनुभएको थियो ।

हालै आठ हजार ६११ मिटर उचाइको केटू प्रथम आरोही भएका आरोहण दलको नेतृत्व गर्ने पूर्जा मगरलाई नेपाल र नेपालको पर्वतीय पर्यटन विश्वमा प्रचार प्रसार तथा प्रवद्र्धन सहित सङ्घको प्रवद्र्धनमा सहयोग पुग्ने उद्देश्यले एनएमएले सद्भावनादूत घोषणा गरेको हो । यही माघ १८ गते सम्पन्न एनएमएको केन्द्रीय कार्य समितिको ५७औँ अत्यावश्यक बैठकले सद्भावनादूत मनोनयन गर्ने निर्णय गरी एनएमएको सन् २०२१ का लागि सद्भावनादूतका रुपमा जिम्मेवारी दिइएको संस्थाका महासचिव कुलबहादुर गुरुङले जानकारी दिनुभयो ।

सद्भावनादूत भएर संस्थाको साथै नेपालको पर्वतीय पर्यटनको प्रचारप्रसार कार्यक्रममा मगरले पुर्‍याउन सक्ने योगदानको कदरस्वरुप सङ्घको तर्फबाट मगरलाई करबाहेक नगद रु एक लाख उपलब्ध गराइने एनएमएका अध्यक्ष सन्तवीर लामाले जानकारी दिनुभयो । मगरसहित १० जना नेपाली आरोही समूहले ३८ वर्षपछि शिशिर ऋतु (विन्टर सिजन) मा गत माघ ३ गते (सन् २०२१ जनवरी १६ तारिख) मा पाकिस्तान स्थित केटू को सफलतापूर्वक आरोहण गरी नेपालको राष्ट्रिय झण्डा फहराई विश्व कीर्तिमान कायम गर्न सफल भएका थिए । त्यसैगरी एनएमएले केटू प्रथम आरोहण विजेता १० जना विश्व विख्यात कीर्तिमानी आरोहीलाई संस्थाबाट बधाइ, सम्मान तथा हौसला स्वरुप संस्थाको सदस्यता नवीकरण शुल्कमा १० वर्षसम्मको साधारण सदस्यता शुल्क मिनाहा गर्ने निर्णय गरेको संस्थाले आज सद्भावनादूत घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यसरी छुट गरिएका आरोहीमा निर्मल, पूर्जा मगर, मिङमा ग्याबु शेर्पा, मिग्मा गेल्जे शेर्पा, किलु शेर्पा, सोना शेर्पा, पेमद्धिरी शेर्पा, दाबा तेन्जिङ शेर्पा, गेल्जेन शेर्पा र मिङ्मा तेञ्जी, शेर्पा रहनुभएको छ ।