fbpx
१४ फाल्गुन २०७७, शुक्रबार

कैलालीमा कागती खेतीतर्फ बढ्दै आकर्षण

कैलालीको टीकापुर नगरपालिका–५ की दुर्गादेवी कुमाल परम्परागत कृषिखेती गर्दैै आउनुभएको छ । अहिले उहाँले आफ्नो मनस्थिति बदल्दै कागती खेतीमा रुचि देखाउनुभएको छ । गत आर्थिक वर्षमा रानी जमरा कुलरिया सिंचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइले दिएको अनुदानमार्फत् १० कठ्ठा जग्गामा कागतीखेती शुरु गर्नुभएकी उहाँ यसलाई व्यावसायिक रुपमा सञ्चालन गर्ने योजनामा हुनुहुन्छ ।

“मैले कृषिमा केही फरक गर्नकै लागि कागतीखेती शुरु गरेकी हुँ”, दुर्गाले भन्नुभयो, “कागती लगाएको करीब एक वर्ष पुग्नै लागेको छ । अर्को वर्षमा उत्पादन शुरु हुनेछ ।” कृषि जेटिए अध्ययन गरी कृषि व्यवसायमा लाग्नुभएकी दुर्गाका अन्य परिवारका सदस्य भने जागिरे पेशामा छन् । उहाँले कागतीखेतीको शुरुआतसँगै मौसमी तथा बेमौसमी तरकारी खेतीसमेत गर्दै आउनुभएको छ । “उत्पादन र आम्दानी राम्रो छ ।

मेरो अध्ययनको विषय पनि कृषि सम्बन्धी नै भएको हुँदा अरुको भन्दा राम्रो उत्पादन गर्न सफल भएकी छु”, दुर्गाले भन्नुभयो, “बजारीकरणमा समस्या छ । सरकारले उचित बजारीकरणको व्यवस्था गर्न सके कृषिबाटै सफलता हासिल गर्न सकिन्छ ।” टीकापुर नरगपालिका–३ की खेमा विकले रु १० हजार ५१० को लगानीमा दुई कठ्ठा क्षेत्रफलमा कागती रोप्नुभएको छ । रु छ हजार ३८२ आयोजनाको अनुदान र अन्य आफ्नो लगानीमा शुरु गरिएको कागतीखेती राम्रो हुँदै गएको खेमा बताउनुहुन्छ ।

उहाँले छाडा चौपायाका कारण कागतीका बोट बचाउन समस्या भएको बताउँदै अहिले कागतीखेतीलाई आफूले परीक्षणको रुपमा लिएको बताउनुभयो । “मेरो लागि यो नयाँ व्यवसाय हो । यसले उत्पादन कस्तो दिन्छ ? त्यसपछि मात्र थप गर्न सकिने अवस्था छ ।” खेमाले भन्नुभयो, “कागतीको बजारीकरणमा समस्या छैन । अहिले पनि प्रतिदाना पाँचदेखि १० रुपैयाँ तिरेर हामी आफैँ पनि प्रयोग गर्दै आएका छौँ ।” त्यस्तै लम्कीचुहा नगरपालिका–३ व्यवस्थित नगरका शङ्कर विष्ट होटल व्यवसाय गर्दै आउनुभएको थियो ।

होटलमा भविष्य नदेखेपछि शङ्कर कुखुरापालनतर्फ आकर्षित हुनुभयो । उहाँले कुखुरापालनसँगै छ कठ्ठा क्षेत्रफलमा कागती खेतीको शुरुआतसमेत गर्नुभएको छ । ‘‘अनुदानबाट रु १९ हजार ८४५ अनुदान पाएसँगै कागतीखेती शुरु गरेको हुँ । अहिलेसम्म हेर्दा राम्रै होला जस्तो छ ।” शङ्करले भन्नुभयो,“त्योसँगै मैले सल्यानबाट समेत कागतीका बिरुवा मगाएर थप गरेको छु ।” उहाँले स्थानीय र कडकनाथ कुखुरासँगै बङ्गुरपालनसमेत शुरु गर्नुभएको छ । चार जनाको परिवारमा शङ्कर र उहाँकी श्रीमती कृषि क्षेत्रमै लाग्नुभएको छ । जानकी गाउँपालिका–४ मुनुवाका सन्देशकुमार कठरियाले पनि कागतीखेती शुरु गर्नु भएको छ ।

कामकै सिलसिलामा दुई वर्ष कुवेत बस्नुभएका सन्देश विदेशमा पनि सोचेको आम्दानी नभएपछि स्वदेश फर्केर कृषि पेशामै लागेको बताउनुहुन्छ । “मेरो १९ जनाको परिवार छ । हामी सबै कृषि पेशामै छौँ”, सन्देशले भन्नुभयो, “कोही व्यावसायिक कृषि खेतीमा छौँ भने कोही परम्परागत खेतीमै जोडिएका छौँ ।” उहाँले आठ वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएको बताउनुभयो । “तरकारी खेतीबाट पनि राम्रो आम्दानी गर्न सकिँदो रहेछ । मैले दुई वर्ष विदेशमा सिकेको सीपलाई आफ्नै क्षेत्रमा प्रयोग गरिरहेको छु”, सन्देशले भन्नुभयो, “अहिले सन्तुष्ट छु ।

अहिले कागतीसँगै अन्य फलफूल खेतीको विस्तारमा पनि लागेको छु ।” टीकापुर नरगपालिका–४ बाघमाराका कर्णबहादुर थापाले एक बिघा क्षेत्रफलमा कागतीखेती विस्तार गर्नुभएको छ । उहाँले कागती खेतीसँगै बाख्रा र कुखुरापालनलाई पनि सँगै लैजाने बताउनुभयो । “हामीसँग सबै छ । नभएको इच्छाशक्ति मात्र हो”, थापाले भन्नुभयो, ‘एउटै व्यवसायले सफलता प्राप्त गर्न नसकिएला । त्योसँग थप व्यवसाय पनि जोडिनु पर्दछ ।” आयोजनाले अनुदान दिए पनि त्यसपश्चात् किसानको निगरानी नगर्दा समस्या भएको उहाँले बताउनुभयो ।

‘‘अनुदान दिएपछि त्यसको परिणाम कस्तो हुँदैछ भनी अनुगमन पनि हुन आवश्यक छ”, थापाले भन्नुभयो, “किसानले थुप्रै सहयोग पाएका छन् तर त्यो सहयोगको परिणाम आयोजनाले पनि खोज्नु पर्दछ ।” राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको कृषि कार्यक्रम कार्यान्वयन इकाइले किसानलाई कृषि क्षेत्रको लागि वार्षिक करोडौं रकमको अनुदान दिँदै आएको छ ।गत आर्थिक वर्ष आयोजनाले २७ जना कृषकलाई रु पाँच लाख १८ हजार ७०० मूल्यका फलफूल, बगैँचा प्रदर्शन कार्यक्रममार्फत् अनुदान वितरण गरेको छ । दुई बिघा क्षेत्रफलमा आँप, अढाइ बिघा क्षेत्रफलमा लिची, करीब नौ बिघा क्षेत्रफलमा कागतीखेती विस्तार भएको आयोजना प्रमुख भरत कँडेलले बताउनुभएको छ ।