१४ बैशाख २०८१, शुक्रबार

गृहमन्त्रीसँग अमेरिकी राजदूतको भेट

berry with badal

गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत ¥यान्डी बेरीले बिहिबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ । गृहमन्त्रालयमा भएको भेटमा नेपाल–अमेरिका सम्बन्ध, आपसी सहयोग र सहकार्यका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको थियो ।

भेटमा गृहमन्त्री थापाले अमेरिकाका राष्ट्रपतिमा जो बाइडेन निर्वाचित हुनु भएकामा राजदूत बेरीमार्फत बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै कार्यकालमा नेपाल–अमेरिका सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नेपालले कोरोना विरुद्धको खोप अभियान शुरु भएको जानकारी दिँदै अमेरिकाबाट समेत नेपालले खोप सहयोग पाउने अपेक्षा राखेको बताउनुभएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिनुभयो ।

गृहमन्त्री थापाले नेपालको विकास, विपद् व्यवस्थापन तथा सुरक्षा निकायको तालीम र भौतिक संरचना निर्माणलगायतका क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने आशा व्यक्त गर्नुभएको थियो ।

अर्को प्रसङ्गमा गृहमन्त्री थापाले सरकारले वैशाखमा निर्वाचन घोषणा गरेको जानकारी दिँदै सबै पार्टी निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गर्नुभयो । भेटमा राजदूत बेरीले नेपाल र अमेरिकाको सम्बन्ध प्रगाढ रहेको चर्चा गर्दै अमेरिकाका राष्ट्रपति बाइडेनको कार्यकालमा यो सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नेपालको लोकतन्त्र, मानव अधिकार, जलवायु परिवर्तनलगायतका क्षेत्रमा अमेरिकाको सहयोग जारी रहने बताउनुभयो । अमेरिकाले उत्पादन गरेको कोरोना भ्याक्सिन वितरणमा नेपाललाई प्राथमिकतामा राख्ने राजदूत बेरीले बताउनुभयो ।