७ बैशाख २०८१, शुक्रबार

पार्टी शुद्धीकरणको अभियान चलेको छ : प्रधानमन्त्री

KP Oli 1
फाइल फोटो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय पार्टी झन् एकताबद्ध भएर अगाडि बढेको बताउनुभएको छ । नेपाल ट्रेड युनिययन महासङ्घ (जिफन्ट)को राष्ट्रिय कार्यकर्ता भेलालाई आज यहाँ सम्बोधन गर्दै उहाँले पार्टी शुद्धीकरणको अभियान अगाडि बढेको र पार्टीभित्र विकृति, अराजकता र स्वार्थी प्रवृत्तिको किनारा लागेको बताउनुभयो ।

“ पार्टी शुद्धीकरणको अभियान चलेको छ, कोही पनि निराश हुनु पर्दैन”, उहाँले भन्नुभयो, “ आज पार्टीमा जुन एकता देखिएको छ, त्यो कति वर्षदेखि थिएन, आज हाम्रो पार्टी सबैभन्दा बढी एकताबद्ध पार्टी भएको छ । सबैभन्दा अनुशासित पार्टी हाम्रो पाटी हो ।” उहाँले नेकपा एक विचार, एक मन, एक उद्देश्य, एक धारणाका साथ समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न एकजुट भएर लागेको बताउनुभयो ।

अबको आन्दोलन देश भक्तिपूर्ण र लोकतान्त्रिक हुनुपर्नेमा जोड दिँदै उहाँले सामाजिक न्याय सहितको समतामूलक समाज निर्माण गर्न कम्युनिष्ट पार्टी मजबुत हुनुपर्ने बताउनुभयो । “सही विचार बोकेको र एकताबद्ध कम्युनिष्ट पार्टीले मात्र आन्दोलनलाई गति साथ हाँक्न सक्छ”, उहाँले भन्नुभयो, “हामीलाई अनुशासित र गतिशील पार्टी चाहिएको छ, आज हाम्रो पार्टी त्यस्तै बनेको छ, आज हामी विचारमा कुनै अलमलमा छैनौँ ।”

सरकार सुखी नेपाली समृद्ध नेपालीको नारा बोकेर अघि बढेको र त्यसबाट किञ्चित पछि नपर्ने दृढता व्यक्त गर्नुभयो । आफूले बारम्बार योग्यता र क्षमता भएका व्यक्तिलाई कामको जिम्मेवारी दिन खोज्दा भाग खोजेर हैरान पारेको गुनासो उहाँले गर्नुभयो । सरकारले गरेको जनपक्षीय कामलाई गुमराहमा राखेर केही सञ्चारमाध्यममले सरकारको कामको खोइरो मात्र खनेको आरोप लगाउँदै उहाँले वामपन्थी सरकार ढाल्ने अभियानमा पार्टीभित्रैका केही व्यक्ति लागेको बताउनुभयो ।

नेपालको परिवर्तनमा मजदूर आन्दोलनको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उहाँले सम्पूर्ण श्रमिकलाई एकताबद्ध बनाएर लैजान आग्रह गर्नुभयो । मजुदूर आन्दोलनलाई विभाजित गर्ने प्रयास भइरहेका तर्फ सचेत हुन आग्रह गर्दै उहाँले विभाजित व्यक्तिलाई पनि एकताबद्ध बनाएर लैजान सुझाव दिनुभयो । “बाटो विराएका मजदूर साथीलाई यस बाटोमा समाहित गर्नुपर्छ”, उहाँले भन्नुभयो, “नेपालमा एकताबद्ध मजदूर आन्दोलन निर्माण गरिनुपर्छ ।”

करार र दैनिक ज्यालादारीमा रहेका ३० हजार सरकारी कर्मचारीलाई सामाजिक सुरक्षाको दायरामा ल्याइएको जानकारी दिँदै प्रधानमन्त्री ओलीले अब नेपालमा कोही पनि भोकै नमर्ने र नपर्ने जिकिर गर्नुभयो । बेसहाराको अभिभावकत्व सरकारले लिने बताउँदै उहाँले बालबालिका तथा ज्येष्ठ नागरिकको प्रबन्ध पनि सरकारले गर्छ भन्नुभयो ।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरीले सरकारले मजदूरका पक्षमा विभिन्न कदम चालेको बताउनुभयो । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार तथा जिफन्टका पूर्वअध्यक्ष विष्णुप्रसाद रिमालले पार्टीकै शीर्ष नेताले जहिले पनि सरकारका कामको विरोध गर्दै आएको आरोप लगाउनुभयो ।

“उहाँहरुले कहिल्यै सरकारको कामलाई जनतासमक्ष लैजाने काम गर्नुभएन, प्रतिपक्षीभन्दा पनि चर्कोरुपमा सरकारको आलोचना गर्नुभयो”, उहाँले भन्नुभयो । जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले मुलुकमा फेरि पनि श्रमिकपक्षीय सरकार निर्माण गर्न आगामी वैशाखमा हुने निर्वाचनमा सक्रियतापूर्वक लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।