१४ बैशाख २०८१, शुक्रबार

फुजी स्याउप्रति जुम्लाका किसानको आकर्षण

Fuji apple

पछिल्लो समयमा यहाँका किसान विदेशी फुजी स्याउप्रति आकर्षण भएका छन् । जिल्लामै उत्पादन हुने अर्गानिक जुम्ली स्याउ भन्दा फुजी स्याउले राम्रो प्रतिफल दिने भएपछि जिल्लाका स्याउ किसान फुजी स्याउप्रति आकर्षण भएको जुम्ला एग्रो फर्मका सञ्चालक रेश्मा श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्लामा फुजी स्याउ खेती सफल भएसँगै जुम्ली एग्रो फर्म र हाम्रो सहकारी प्रालिले चार वर्षअघि १० वर्षका लागि चन्दननाथ मन्दिरको २० हजार वर्ग मिटर क्षेत्रफल जग्गा भाडामा लिएर स्याउ खेती शुरु गरेको थियो । शुरुआतमा ‘फुजी, गोल्डेन डेलिसियस, रेड चिप, गाला र जोर्डन गरी पाँच प्रकारका स्याउ लगाइएको उहाँले जानकारी दिनुभयो ।जिल्लामा इटालियन फुजी जातको स्याउखेती शुरु भएको चार–पाँच वर्षभयो । फुजीखेती जुम्लामा सफल भएपछि स्थानीय किसान फुजी जातको स्याउखेतीमै आकर्षित भएको प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना कार्यन्वयन इकाइ स्याउ सुपर जोन कार्यालयका कार्यालय प्रमुख नवराज भण्डारीले बताउनुभयो ।

यस वर्ष जिल्लाको गुठीचौर गाउँपालिकाको गुठीचौर एग्रो फर्मले एक लाख ५० हजार वर्गमिटरमा ३० देखि ४० हजार फुजी स्याउको बिरुवा रोप्ने तयारी गरेको उहाँले जानकारी दिनुभयो । भन्नुभयो,“तातोपानी गाउँपालिकाको हियाखोला गाउँका १ लाख ३० हजार वर्गमिटर क्षेत्रफलमा चार हजार फुजी जातको स्याउका बिरुवा रोप्ने तयारी रहेको छ । ”

स्याउखेतीमा कृषि कार्यालय र स्याउ सुपर जोनले बिरुवा र साना सिँचाइ घेरबारमा कार्यालयबाट किसानलाई अनुदान दिने स्याउ सुजर जोन कार्यालयले जनाएको छ । फुजी स्याउ प्रतिबिरुवा एक हजार, स्थानीय जातको स्याउको प्रतिबिरुवा ७० रुपैयाँ र ओखर प्रतिबिरुवा सात सय जिल्ला दररेट कायम गरेको छ । जिल्ला दररेट अनुसार किसानले प्रति बिरुवामा ५० प्रतिशत अनुदान प्राप्त गरेको परियोजनाले जनाएको छ ।

रु १३ करोड लगानी गुठीचौर एग्रो फर्मका सञ्चालक केसीबहादुर भण्डारीका अनुसार झण्डै १३ करोड लगानीमा फुजी जातको स्याउ खेती गर्ने योजना रहेका जानकारी दिनुभयो । स्थानीयको जग्गामा २० वर्ष भाडामा लिएर फुजी स्याउ खेती गर्न थालिएको उहाँले बताउनुभयो ।। उहाँले भन्नुभयो,“स्याउ खेतीका लागि भिरालो जमीन भन्दा समथर फाँट आवश्यक पर्ने भएकाले ५० प्रतिशत जमीन समथर बनाएको छ ।” घेर-बारको काम ८० प्रतिशत सम्पन्न भएको छ । फागुन–चैतमा सबै सम्पन्न गरी ३० देखि ४० हजार फुजी स्याउका बिरुवा रोप्ने तयारी अवस्थामा रहेको एग्रोफर्मका सञ्चालक भण्डारीले बताउनुभयो ।

फुजी स्याउबाट आकर्षक आम्दानी भएपछि युवालाई पनि स्वरोजगार बनाउने उद्देश्यका साथ परियोजना सञ्चालन गर्न थालिएको एग्रोफर्मका सञ्चालक भण्डारीले बताउनुभयो ।

स्थानीय जातको स्याउका बिरुवा जिल्लामा सात लाख बिरुवा उत्पादन भए पनि स्याउ सुपर जोनको मापदण्ड अनुसार ५० प्रतिशत बिरुवा काम नलाग्ने गुणस्तरहीन भेटिएको सुपरजोनका प्रमुख उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“गुणस्तरहीन बिरुवाले पाँच वर्षपछि किसानलाई घाटा हुने र किसान सचेत हुन आवश्यक छ  ।”

जिल्लाभर चार हजार ८०० हेक्टरमा स्याउखेती थालिएकामा एक हजार ५०० हेक्टरका स्याउले फल दिन कृषि विकास कार्यालयले जनाएको छ ।