१६ चैत्र २०८०, शुक्रबार

अनुशासित प्रतिनिधिसभा निर्माण गर्न निर्वाचन जरुरी छ : अर्थमन्त्री पौडेल

1236288042202101271811 be138a2c bb56 42c9 b841 23f83cfe2745 medium

अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले अनुशासित प्रतिनिधिसभा निर्माण गर्न निर्वाचन जरुरी रहेको बताउनुभएको छ । उहाँले आगामी वर्ष वैशाख १७ र २७ गते निर्वाचन हुने पक्का भइसकेका कारण निर्वाचनबाट असल प्रतिनिधि छनोट गर्ने अधिकार जनतालाई भएको बताउनुभयो ।

बुटवलको चौराह–चिडियाखोला सडक विस्तार कार्यको आज शुभारम्भ गर्दै मन्त्री पौडेलले जनताको चाहनाविपरीतका कार्यले गर्दा प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशमा जाने निर्णय सरकारले गरेको उल्लेख गर्नुभयो । “प्र्रतिपक्षभन्दा पनि आफ्नै दलको विरोधले गर्दा सरकारलाई समस्या भयो”, मन्त्री पौडेलले भन्नुभयो, “छापामार शैलीमा अविश्वासको प्रस्ताव ल्याउने तयारी भएपछि प्रतिनिधिसभा विघटन गरी सरकार जनतासँग जाने निर्णमा पुगेको हो ।”

अर्थमन्त्री पौडेलले मुलुक विकास निर्माणको महाअभियानमा अघि बढेर ‘समृद्ध नेपाल र सुखी नेपाली’को आकाङ्क्षा पूरा गर्न आफ्नो दलका नेताले व्यवधान सिर्जना गरेको बताउनुभयो । मन्त्री पौडेलले बुटवल नारायणगढ, बुटवल धानखोल सडक स्तरोन्नति, तिनाउ दानव करिडोर सडक आयोजना, झुम्साखोला खानेपानी, अन्तरराष्ट्रिय सम्मेलन केन्द्र निर्माण, तिनाउ नदी डाइभर्सन, अन्तरराष्ट्रिय विमानस्थल, मेडिकल कलेज निर्माण र सिद्धबाबा सुरुङ मार्ग निर्माण प्रक्रियामा रहेको भन्दै यी योजना सम्पन्न हुँदा रुपन्देही विकासको नमूना जिल्लाका रुपमा स्थापित हुने दाबी गर्नुभयो ।

मन्त्री पौडेलले बुटवल आधुनिक र व्यवस्थित शहर बन्दै गएको बताउँदै विकासका योजनालाई प्रभावकारी बनाउन स्थानीयको साथ र सहकार्य आवश्यक हुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “चौराह–चिडियाखोला सडक सडक निर्माण अघि नबढ्दा बुटवलको सुन्दरता बिग्रिएको थियो । अब बुटवलको अनुहार चहकिलो हुनेछ ।” मन्त्री पौडेलले सडक निर्माणका क्रममा घर हटाएर सडक विस्तार आयोजनामा सघाउनेप्रति आभार व्यक्त गर्दै आयोजना सम्पन्न गर्नका लागि सबैको सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

डिभिजन सडक कार्यालयका प्रमुख जयलाल मरासिनीले चौराहदेखि चिडियाखोलासम्म साढे तीन किलोमिटर हरियाली सडक निर्माणका लागि कञ्चनजङ्गा बिरुवा जेभी कम्पनी काठमाडौँले आगामी २०७९ वैशाख ३१ मा सम्पन्न गर्ने गरी ठेक्कामा लिएको जानकारी गराउनुभयो ।