१३ बैशाख २०८१, बिहीबार

घाँसदाउरा गर्नेलाई संरक्षणको पाठशाला

chitwan national park

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्नेहरुलाई वन्यजन्तुको आक्रमणबाट जोगाउन पाठशाला अभियान शुरु गरिएको छ । राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियानले अभियान सञ्चालन गरेको हो ।

अभियानका संयोजक अपिल घिमिरेका अनुसार चितवन जिल्लाभित्र पर्ने मध्यवर्तीका क्षेत्रमा संरक्षण पाठशाला सञ्चालन थालिएको छ । विभिन्न ठाउँमा गरेर ३२ कक्षा सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । शुक्रबारदेखि पाठशाला शुरु गरिएको हो । पुसको अन्तिम साता पाठशाला अभियानको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले शुभारम्भ गर्नुभएको थियो ।

घिमिरेका अनुसार विषय विज्ञहरुले पाठशालामा सहजीकरण गर्नुहुनेछ । उहाँले भन्नुभयो, “वन्यजन्तुको आक्रमणबाट मध्यवर्तीका बासिन्दालाई जोगाउनु पाठशालाको मुख्य उद्देश्य हो ।” वनमा घाँस दाउरा गर्न जाँदा वन्यजन्तुसँग कसरी जोगिने भन्नेबारेमा पाठशालामा सिकाइने छ । कुन वन्यजन्तुले कस्तो अवस्थामा कसरी आक्रमण गर्छ भन्नेबारे सिकाइएको छ ।

दुर्लभ र हिंस्रक वन्यजन्तु बाघ, गैँडाजस्ता जनावरबाट जोगिनका लागि ती जनावरसम्बन्धी अध्ययन गरेका विज्ञहरुले बच्ने उपायका बारेमा सिकाइरहेका छन् । पाठशालामा वन्यजन्तुको आनीबानी, बासस्थान, हिँडडुल, बाटोलगायतका बारेमा जानकारी दिइन्छ । एउटा कक्षमा ४० जना हाराहारी रहने अपेक्षा गरिएको छ । स्थानीय र विषयविज्ञको समय अनुकूल बनाएर कक्षा सञ्चालन गर्दै आइएको छ । नदी र जङ्गलमा आश्रित समुदायमा बढी मानवीय क्षति भएकाले यसको न्यूनीकरण गर्न पाठशाला शुरु गरिएको घिमिरेको भनाइ छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले मानव र वन्यजन्तुको द्वन्द्व न्यूनीकरण गर्दै मानवीय क्षति कम गर्न अभियान प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले समुदायस्तरमा गरिने यस्ता कार्यक्रमले संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । अभियानले स्थानीय बासिन्दालाई वन्यजन्तुबाट जोगाउनुका साथै वन र वन्यजन्तु संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने उहाँको भनाइ छ । बरालले पछिल्लो समय दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडाको चोरी शिकारी बढेसँगै निकुञ्ज प्रशासनले मध्यवर्तीका बासिन्दासँग नियमित छलफलसँगै संरक्षण शिक्षाका कार्यक्रम अरु बढाएको बताउनुभयो ।

निकुञ्जमा घाँस दाउरा गर्न जाँदा बर्सेनि धेरै सङ्ख्यामा सर्वसाधारणको ज्यान जानुका साथै घाइते हुने गरेका छन् । मध्यवर्ती क्षेत्र र स्थानीयवासीको खेतबारीमा पनि वन्यजन्तुको आक्रमणबाट मानिसको मृत्यु हुने गरेको छ । वन्यजन्तुको आक्रमण भएसँगै स्थानीय आक्रोशित हुने र संरक्षणमा बाधा पुग्ने भएकाले पाठशाला सञ्चालन गरिएको संयोजक घिमिरेले बताउनुभयो ।

श्रेष्ठ पक्राउ

जिल्ला प्रहरी कार्यालय चितवनले नेत्रविक्रम चन्द समूहका विद्यार्थी नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ गल्छी गाउँपालिका–१ घर भई हाल भरतपुर महानगरपालिका–११ बस्ने २४ वर्षीय सुमन श्रेष्ठ रहेका छन् ।

अखिल (क्रान्तिकारी) चितवनका सचिवालय सदस्य तथा भरतपुर महानगर संयोजक उनलाई प्रहरीले शुक्रबार भरतपुर महानगरपालिका–१० सप्तगण्डकी चोकबाट पक्राउ गरेको हो । चन्द समूहले आयोजना गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा समाजमा भय एवं त्रास उत्पन्न गराउने अभिप्रायले उच्छृङ्खल गतिविधि गर्ने योजना बनाइरहेको समयमा श्रेष्ठलाई पक्राउ गरिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङले जानकारी दिनुभयो । पक्राउ परेका उनलाई अभद्र व्यवहारअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरिएको उहाँले जानकारी दिनुभयो ।