१६ चैत्र २०८०, शुक्रबार

माविमा छैन दरबन्दी

teacher

माध्यमिक तहमा स्तरवृद्धि भएको १० वर्ष बित्दासमेत यहाँको एक विद्यालय शिक्षक दरबन्दीविहीन अवस्थामा छ । जैमिनी नगरपालिका–९ पैँयूथन्थापस्थित बिजुवा माध्यमिक विद्यालयमा मावि तहको दरबन्दी छैन ।

कक्षा १० सम्म पढाइ हुने सो विद्यालयको आधारभूत तहमा छ दरबन्दी र एक राहत शिक्षक छन् । बाँकी छ शिक्षक निजी स्रोतका छन् । दरबन्दी अभावमा विद्यालयले अतिरिक्त आर्थिक भार बोक्नुपरेको छ । शिक्षकलाई तलब खुवाउनै धौधौको स्थिति छ । निजी स्रोतबाट राखिएका शिक्षक टिकाउन गाह्रो भइरहेको प्रधानाध्यापक सतीदेवी थापाले बताउनुभयो । “न्यून तलब सुविधा दिएर राख्नुपर्ने अवस्था छ, अन्यत्र राम्रो अवसर आउँदासाथ शिक्षकहरु जानुहुन्छ”, उहाँले भन्नुभयो, “हामीले रोकेर राख्न पनि मिलेन ।”

अहिलेसम्म २०÷२२ शिक्षकले विद्यालय छाडेको प्रअ थापाले सुनाउनुभयो । “दरबन्दी नहुँदा एकदमै समस्या छ, स्थानीय स्रोत र अभिभावकबाट चन्दा सहयोग जुटाएर खर्च धानेका छौँ”, उहाँले भन्नुभयो । स्थायी दरबन्दीमा योग्य शिक्षक नहुँदा पढाइको गुणस्तरमा भनेजस्तो सुधार ल्याउन नसकिएको विद्यालयले जनाएको छ । आधारभूत तहको दरबन्दीमा रहेका शिक्षकले मावि तहलाई समेत हेर्नुपर्ने हुँदा तल्लो कक्षामा पढ्ने बालबालिकाको पढाइसमेत प्रभावित हुने गरेको छ ।

“विद्यार्थी सङ्ख्या पनि राम्रो छ, भौतिक पूर्वाधार पनि छ, दरबन्दी नपाएका कारण हामी समस्यामा पर्यौँ”, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष हरि शर्मा आचार्यले भन्नुभयो । स्थानीयवासीको ठूलो दुःख, कष्ट र मेहनत विद्यालयमा परेको उहाँको भनाइ छ । विद्यालयको भौतिक र शैक्षिक सुधारका योजनामा स्थानीयवासीले स्वतःस्फूर्त सहयोग गर्दै आएका छन् । दरबन्दी व्यवस्थापनका लागि नगरपालिकाको शिक्षा शाखालगायतका निकायमा धेरैपटक माग गरे पनि अहिलेसम्म सुनुवाइ नभएको प्रअ थापाको गुनासो छ ।

शून्य दरबन्दी भएका विद्यालयले पाउने गरेको शिक्षण सहयोग अनुदानसमेत गत वर्षदेखि रोकिएपछि विद्यालय थप मारमा छ । उक्त अनुदानबाट शिक्षकको तलब खर्चमा धेरथोर भरथेग हुँदै आएको थियो । शिक्षा शाखा प्रमुख खेम आचार्यले नगरभित्र शिक्षक दरबन्दी मिलानको प्रक्रिया थालिएको बताउनुभयो । “विभागको कार्यविधिअनुसार दरबन्दी मिलानको तयारीमा छौँ, शून्य दरबन्दी रहेका विद्यालयको समस्या अब हल हुन्छ”, उहाँले भन्नुभयो । विद्यार्थी सङ्ख्या र भूगोल दुवैलाई आधार मानेर दरबन्दी मिलान गर्ने योजनामा नगरपालिका छ । दरबन्दी मिलानमा ढिलाइ हुँदा कुनै विद्यालयमा शिक्षक कम, विद्यार्थी बढी त कतै विद्यार्थी कम, शिक्षक बढी भएको स्थिति छ ।