१३ बैशाख २०८१, बिहीबार

अक्टोबर १३मा ‘बाहुबली’ निर्देशक राजामौलीको ‘आरआरआर’

untitled 11

‘बाहुबली’ निर्देशक एसएस राजामौलीको बहुप्रतिक्षित फिल्म ‘आरआरआर’को रिलिज मिति सार्वजनिक गरिएको छ । सन् २०१७ मा रिलिज फिल्म ‘बाहुबली २–द कन्क्लूजन’ को चार वर्षपछि राजामौली ‘आरआरआर’ लिएर आउँदैछन् ।

तेलगुसँगै थुप्रै भाषामा रिलिज हुने फिल्म दसैँको अवसर पारेर रिलिज हुन लागेको हो । फिल्म ‘आरआरआर’ यही वर्षको अक्टोबर १३ (असोज २७) मा प्रदर्शन हुन लागेको छ ।

फिल्मको अन्तिम सेड्युल केही दिनअघि मात्र सकिएको थियो । आलिया भट्ट र अजय देवगनले केही दिनअघि मात्र फिल्मको सेड्युल सकाएका थिए ।

फिल्मकी अभिनेत्री आलिया भट्टले रिलिजको विषयमा सामाजिक सन्जालमार्फत जानकारी दिएकी हुन् ।

‘आरआरआरका लागि तयार हुनुहोस् । १३ अक्टोबर २०२१ मा थिएटरमा आउँदैछ,’ आलियाले ट्वीट गरेकी छन् ।

कोरोना भाइरसले सेड्युल यताउति पार्नु अघि यो फिल्म जनवरी ८ मा रिलिज हुने चर्चा थियो । तर, कोरोना भाइरसका कारण सुटिङ रोकिएपछि यो फिल्मको रिलिज पनि प्रभावित भएको हो ।

फिल्ममा जुनियर एनटीआर , रामचरणसँगै अजय देवगन र आलिया भट्टको मुख्य भूमिका रहेको छ । फिल्म ब्रिटिस समयको स्वतन्त्रता सेनानी सीताराम राजुको कथामा आधारित छ । राजामौलीको निर्देशन रहेको ‘बाहुबली’का दुई सिरिजले देशविदेश गरी हजार करोड कमाइ गरेको थियो । यो फिल्मको पनि बजेट ३ सय करोड हाराहारी रहेको छ ।

भारतीय फिल्ममा ‘बाहुबली’ र ‘बाहुबली २’ लाई सर्वाधिक सफल फिल्ममध्ये एक मानिन्छ । फिल्म ‘बाहुबली २’ले हिन्दी भर्सनमा मात्र ५ सय करोड अधिकको कारोबार गरेको थियो । फिल्मको हिन्दी भर्सनमा कुनै दक्षिण भारतीय फिल्मले पाएको यो अहिलेसम्मकै ठूलो सफलता हो ।

‘आरआरआर’ एक पीरियड फिल्म हो । जसको पृष्ठभूमि ब्रिटिस शासनको समयमा स्थापित गरिएको छ । फिल्मको कथा केन्द्रमा रहेको दुई स्वतन्त्रत सेनानी राम चरण र एनटीआर जुनियर वरिपरि घुम्नेछ ।

हालैमात्र यी दुई कलाकार साथ फिल्मको क्लाइमेक्स खिचिएको थियो । ‘आरआरआर’को पुरा नाम ‘रौद्राम रनम रुधीराम’ हो । तेलुगू भर्सनमा बनेको यो फिल्म हिन्दीसहित अन्य दुई भाषामा रिलिज हुनेछ ।

फिल्ममा जुनियर एनटीआरको भूमिकाको नाम कोमाराम भीम रहेको छ । कोमाराम भीम स्वतन्त्रताका सेनानी थिए । निर्देशक राजामौलीका अनुसार भीमले परम्परागत किसिमले शिक्षा हासिल गरेनन् र उनले युवावस्थामै गाउँ छोडेका थिए । तर जब उनी गाउँ फर्किए, त्यो समयमा उनी शिक्षित भइसकेका थिए ।

उनले आदिवासीका लागि ब्रिटिस शासनका विरुद्ध युद्ध लडेका थिए । उनले गुरिल्ला शैली अपनाएका थिए र पछि अंग्रेज शासनको विरुद्ध लड्दालड्दै शहीद भए । यो फिल्मको लगानी झण्डै चार सय करोड भएको बताइएको छ ।

‘आरआरआर’ दसैँमा रिलिज हुँदा यसको सबैभन्दा ठूलो प्रभाव नेपाली फिल्म उद्योगमा पर्नेछ । सबैभन्दा लामो बिदा हुने यो समयमा फिल्म रिलिज गर्न निर्माताबीच ठूलै हानाथाप हुने गरेको छ । सुटिङ सकेका फिल्म देखि सुटिङमा जाने सुरसार गरिरहेका फिल्मले पनि दसैँमा रिलिज गर्ने चाँजोपाँजो मिलाइरहेका छन् ।

भर्खरै सुटिङ सकाएको ‘परदेशी २’ हालसालै मात्र दसैँमा फिल्म रिलिज गर्ने घोषणा गरेको थियो भने निर्माता भुवन केसीले पनि अब सुटिङमा जाने ‘पारस’लाई दसैँमा रिलिज गर्ने बताउँदै आएका छन् । अघिल्लो साल कम्तीमा ६ वटा फिल्मले दसैँमा रिलिज गर्ने घोषणा गरेका थिए । तर, कोरोना भाइरसको महामारीका कारण हल बन्द भएपछि कुनै फिल्म रिलिज हुन सकेका थिएनन् ।