१२ बैशाख २०८१, बुधबार

नौ वर्षमा तीन लाख ८० हजारको मृत्यु

Syria

सिरियामा नौ वर्षदेखि जारी युद्धमा मृत्यु हुनेको सङ्ख्या तीन लाख ८० हजार पुगेको र ती मध्ये एक लाख १५ हजार युद्धमा सहभागी नरहेका नागरिक रहेको युद्ध अनुगमनकारी सिरियाली मानवअधिकारवादी समूहले सार्वजनिक नयाँ तथ्याङ्कमा उल्लेख गरेको छ । ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ का अनुसार मारिनेमा २२ हजार बालबालिका र १३ हजार महिला रहेका छन् ।

सिरियाको दक्षिणी सहर दारामा सन् २०११ को मार्च १५ देखि सुरू भएको सरकारविरोधी आन्दोलन पछि सिरियाले कल्पना नगरेको गृहयुद्धमा पुगेको हो । सिरियाली राष्ट्रपति बसर अल–असद विरोधी आन्दोलनलाई सरकारले कडारूपमा दवाउन खोजेपछि चारैतिर सशस्त्र द्वन्द्व चर्किएको थियो । जसका कारण सिरिया लगायत छिमेकी जिहादी समूह र विश्व समुदायको पनि त्यहाँ प्रवेश भएको थियो ।

सिरियामा जारी द्वन्द्वका कारण करिब एक करोड ३० लाख सिरियाली नागरिक आन्तरिक वा बाह्यरूपमा विस्थापित भएका उक्त संस्थाको तथ्याङ्क रहेको छ । युद्धका कारण सिरियामा अर्बौं अमेरिकी डलर बराबरको भौतिक संरचना नष्ट भएका छन् ।

सरकारी तथा गैरसरकारी समूहतर्फ गरी जम्मा एक लाख २८ हजार सुरक्षाकर्मी वा लडाकू मारिएका पछिल्लो तथ्याङ्कमा उल्लेख गरिएको छ । मारिनेमा आधाभन्दा बढी सिरियाली सैनिक रहेका बताइएको छ भने एक हजार ६८२ जना लेबनानी सिया समूह (हेजबुल्लाह) का सदस्य रहेका बताइएको छ । हेजबुल्लाह समूहले सिरियामा सन् २०१३ देखि लड्दै आएको छ ।

सिरियाको इदलिबमा सरकारले सन् २०१९ को डिसेम्बर १९ पछि निर्णायक सुरक्षा कारबाही भन्दै चलाएको अभियानका कारण यस क्षेत्रबाट अहिलेसम्म विस्थापित हुनेको सङ्ख्या दुई लाख ८४ हजार पुगेको संयुक्त राष्ट्रसंघ र मानवअधिकारवादी संगठनहरूले बताएका छन् ।

सिरियाको सुदुरपूर्व (जसलाई पेट्रोलियम पदार्थको उत्पादनका लागि सम्पन्न मानिन्छ) मा अमेरिकी सेनाको अहिले पनि उपस्थिति रहँदै आएको छ । सिरिया युद्धका कारण उक्त मुलुकको अर्थतन्त्रलाई तीन दशक पछाडी धकेलेको अनुमान सिरियाबारे अध्ययन गर्दै आएका राजनीतिक तथा आर्थिक विश्लेषकहरूले बताउने गरेका छन् । सिरियामा अर्थतन्त्रका लागि महत्व राख्ने तेल, कोइला तथा अन्य खानी र विद्युत निर्माका लागि बनाइएका धेरै का भौतिक संरचनाहरूमा आंशिक वा पूर्ण क्षति भएका कारण तीनले आफ्नो उत्पादनलाई सञ्चालन गर्न सकेका छैनन् । रासस

    सम्बन्धित समाचार...