१३ बैशाख २०८१, बिहीबार

राष्ट्रिय सभा उम्मेदवारी दर्ता आज, १८ जना चुन्न, २ हजार ५६ जनाले मतदान गर्ने

Election Commission Nepal

राष्ट्रिय सभा सदस्यतर्फ रिक्त १८ जना सदस्यमा ९ माघमा हुने निर्वाचनका लागि आइतबार (आज) उम्मेदवारी दर्ता हुँदै छ । निर्वाचनका लागि सातवटा प्रदेशमा गरी प्रदेशसभा सदस्य कुल ५ सय ५० र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख १ हजार ५ सय ६ गरी कुल २ हजार ५६ जनाले मतदान गर्ने छन् ।

सातै प्रदेशमा हुने निर्वाचनका लागि उम्मेदवारले सम्बन्धित प्रदेशमा तोकिएका निर्वाचन अधिकृतको कार्यालयमा गएर मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

उम्मेदवारहरूले प्रदेश १ को मोरङ, २ को धनुषा, ३ को ललितपुर, गण्डकी प्रदेशको कास्की, प्रदेश ५ को दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको डोटीमा रहेका निर्वाचन अधिकृतको कार्यालयबाट मनोनयन दर्ता गर्नुपर्नेछ ।
आयोगले निर्वाचनका लागि सात प्रदेशका सात स्थानलाई मतदानस्थल तोकिसकेको छ । निर्वाचनका लागि प्रदेश १ को विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, प्रदेश २ को जनकपुर उपमहानगरपालिकाको महेन्द्रनारायण स्मृति भवन, प्रदेश ३ को ललितपुर महानगरपालिकाको वडा समितिको भवनलाई मतदानस्थल तोकिएको छ ।

यस्तै, गण्डकी प्रदेशको कास्की जिल्ला निर्वाचन कार्यालय पोखरा, प्रदेश ५ को दाङको घोराही उपमहानगरपालिकाको कर्मचारी मिलन केन्द्रको भवन, कर्णालीको सुर्खेत जिल्ला निर्वाचन कार्यालय र सुदूरपश्चिमको डोटी जिल्लाको सिलगढी नगरपालिकाकोे पद्म पब्लिक मुक्तिनारायण उच्च माविलाई मतदानस्थल तोकिएको छ ।

आइतबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको आयोगले जनाएको छ । राष्ट्रिय सभातर्फ सदस्यका लागि उम्मेदवारको मनोनयन दर्ता गर्न उम्मेदवारले १० हजार रूपैयाँ धरौटी बुझाउनुपर्नेछ ।
महिला, दलित र अल्पसंख्यकलाई भने आयोगले धरौटी रकममा ५० प्रतिशत छुट दिने भएको छ । जसअनुसार सो समूहमा पर्ने उम्मेदवारले मनोनयन दर्ता गर्दा ५ हजार धरौटी बुझाए पुग्छ । तर, त्यसरी उम्मेदवारी दर्ता गर्न जाँदा आर्थिक रूपमा विपन्न भन्ने प्रमाणित गरेको काजगात आवश्यक पर्नेछ ।

मनोनयन दर्ताका लागि नागरिकता, मतदाता नामावलीको उतार र धरौटी जम्मा गरेको भौचर वा नगदी रसिद पेस गर्नुपर्नेछ । तर, दलका उम्मेदवारको हकमा दलले दिएको आधिकारिक पत्र पनि समावेश गर्नुपर्नेछ ।यसरी मनोनयन दर्ता गर्दा प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ बन्दसूचीमा नाम रहेको भए फिर्ता लिएको आयोगबाट प्राप्त पत्र चाहिन्छ भने लाभको पदमा भए राजीनामा दिनुपर्ने हुन्छ ।

यसैगरी, उम्मेदवारले नाम फिर्ता लिन चाहेमा २४ पुसका दिन बिहान १० देखि ४ बजेसम्म फिर्ता गर्न सक्नेछन् । उम्मेदवारको अन्तिम नामावली प्रकाशन २५ पुसमा दिउँसो १० देखि ४ बजेसम्म र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान सोही दिन १ देखि ४ बजेसम्मको समय तोकिएको छ । आयोगले राष्ट्रिय सभाका ५९ सदस्यमध्ये दुई वर्षे कार्यकाल सकेर रिक्त हुन लागेका १८ जना सदस्यका लागि निर्वाचन गर्न लागेको हो ।

निर्वाचनका लागि सातवटा प्रदेशमा गरी प्रदेशसभा सदस्य कुल ५ सय ५० र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख १ हजार ५ सय ६ गरी कुल २ हजार ५६ जना मतदाता रहने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

जसअनुसार प्रदेश १ मा प्रदेशसभा सदस्य ९३ र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख गरी २ सय ८४ गरी जम्मा ३ सय ६७ जना मतदाता रहनेछन् । यस्तै, प्रदेश २ मा प्रदेशसभा सदस्य १ सय ७ जना, स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख गरी २ सय ७२ गरी जम्मा ३ सय ७९ जना मतदाता रहेका छन् । यसैगरी, प्रदेश ३ मा प्रदेशसभा सदस्य १ सय १० र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २ सय ३८ गरी जम्मा ३ सय ४८ जना मतदाता रहनेछन् ।

गण्डकी प्रदेशमा प्रदेशसभा सदस्य ६० र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख १ सय ७० गरी जम्मा २ सय ३० जना तथा प्रदेश ५ मा प्रदेशसभा सदस्य ८७ र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २ सय १८ गरी जम्मा ३ सय ५ जना मतदाता छन् ।

यस्तै, कर्णालीमा प्रदेशसभा सदस्य ४० र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख १ सय ५८ गरी १ सय ९८ जना र सुदूरपश्चिममा प्रदेशसभा सदस्य ५३ र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख १ सय ७६ गरी जम्मा २ सय २९ जना मतदाता रहनेछन् ।