७ बैशाख २०८१, शुक्रबार

रूसमा नाभाल्नीको समर्थनमा प्रदर्शन, दर्जनौ पक्राउ

navalny protest

रुसमा जेलमा रहेका विद्रोही नेता एलेक्सी नाभाल्नीको समर्थनमा निकालिएको प्रदर्शनबाट शनिवार दर्जनौँ व्यक्तिहरूलाई गिरफ्तार गरिएको छ ।

रूसी प्रहरीले राजधानी मस्कोमा मानिसहरूलाई घरभित्रै रहन निर्देशन दिएको छ भने नाभाल्नीका निकटस्थहरूलाई शनिवारको प्रदर्शन अगाडि नै गिरफ्तार गरिएको छ । गत आइतवार जर्मनीबाट स्वदेश फर्केका विपक्षी नेता नाभाल्नी पुटिनका कटु आलोचक मानिनुहुन्छ ।

नाभाल्नीलाई विमानस्थलमा गिरफ्तार गरेपछि उहाँका समर्थकहरूले सामाजिक सञ्जालमार्फत आयोजना गरेको प्रदर्शन रुसका ६० सहरमा भएको बताइएको छ । शनिबार पक्राउ पर्नेहरूमा नाभाल्नीकी धर्मपत्नी सहितका नाभाल्नीका निकट सहयोगीहरू भएका प्रदर्शनकारी समूहले बताएको छ ।

रुसी विपक्षी नेता एलेक्सी नाभाल्नी पाँच महिना पहिले रूसको ओम्स्कबाट मस्कोका लागि एक विमानमा आउनेक्रममा अकस्मात विरामी परेको रिपोर्टपछि उहाँको विमानलाई आकस्मिक अवतरण गराई प्राथमिक उपचार दिइएको थियो ।

पछि उहाँको उपचारका लागि परिवारको आग्रहमा जर्मनीले इच्छा देखाएपछि उहाँलाई गत अगस्टमा बर्लिन लगिएको थियो । त्यहाँ उपचारका क्रममा उहाँको खानामा बेहोस पार्ने सोभियत कालीन रसायन नोभिचोकको प्रयोग गरिएको दावी जर्मन ल्याबहरूले दावी गरेका छन् । करिब पाँच महिनाको जर्मनी बसाई र उपचारपछि उहाँ बर्लिनबाट नियमित उडानमार्फत् गत हप्ता रूसी राजधानी मस्को फिर्ता हुनुभएको थियो ।

४४ वर्षीय नाभाल्नीलाई विमानस्थलको पासपोर्ट नियन्त्रण कक्षबाट प्रहरीले हिरासतमा लिएको छ ।