१२ बैशाख २०८१, बुधबार

प्रचण्ड-नेपाल समूहको काठमाडौंमा शक्ति प्रदर्शन, चक्रपथ भित्र भाडाका गाडी चलाउन रोक

Pro Ktm PressSangathan velaa

नेकपाको दाहाल–नेपाल समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ। सरकारको सिफारीसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा शक्ति प्रदर्शन गर्न लागिएको हो।

काठमाडौंका नौ स्थानबाट विरोध र्‍यलीसहित नेकपाले रत्नपार्कमा विरोधसभा गर्ने कार्यक्रम छ।

प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले काठमाण्डाैमा गर्ने शक्ति प्रदर्शनलाई लक्षित गरेर सुरक्षा व्यवस्था र ट्राफिक व्यवस्थापनमा कडाइ गरिएको छ ।

विरोध कार्यक्रमलाई लक्षित गर्दै अहिले काठमाण्डाैको चक्रपथभित्र भाडाका गाडी चलाउन दिइएको छैन । काठमाण्डाैका विभिन्न ठाउँबाट जुलुस निकालेर भृकुटीमण्डपमा शक्ति प्रदर्शन हुने भएकाले ट्राफिक व्यवस्थापन र सुरक्षा व्यवस्थापनमा त्यसैअनुसार तयारी गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

बाहिरी जिल्लाबाट समेत प्रदर्शनमा सहभागी हुनेहरु आउने भएकाले गाडी आवतजावतमा विशेष ध्यान दिइएको महाशाखाले जनाएको छ । नेकपाको प्रचण्ड-नेपाल समूहले अहिले काठमाण्डाैको भृकुटीमण्डप ‘वान वे’ सडकमा कार्यक्रम गर्ने ठाउँ बनाइरहेको छ ।

माइतीघर, डिल्लीबजारको चालखाल, लैनचौर, त्रिपुरेश्वर, शान्तिबाटिका, त्रिचन्द्र क्याम्पस, वाल्मीकि क्याम्पसलगायत ठाउँबाट निकालिएको जुलुस भृकुटीमण्डपमा शक्ति प्रदर्शनको रुपमा प्रदर्शन हुनेछ । उनीहरुको प्रदर्शनका कारण सडक अवरुद्ध हुने भएकाले गाडीहरुलाई आवश्यकताअनुसार डाइभर्सन गरिने महाशाखाले जनाएको छ ।

केन्द्रीय संघर्ष समितिले सभा र जुलुसलाई मर्यादित बनाउँदै तोकिएको नारा मात्र लगाउनुपर्ने निर्देशन जारी गरेको छ।  विरोधसभामा प्रदेश, जिल्ला र मोर्चा संगठनबाट कार्यकर्ता तथा नेताहरु सहभागिता हुने नेकपाले जनाएको छ।  

गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसँगै यसको विरोध भइरहेको छ । प्रतिनिधिसभा विघटनको विरुद्ध सर्वोच्च अदालतमा पनि रिट निवेदन परेको छ । सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।