१५ चैत्र २०८०, बिहीबार

दुई गैँडा मरे

ded raino

चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले दुई गैँडा मरेका छन् । निकुञ्जको पुरानो पदमपुरस्थित अर्ना रहेको क्षेत्रमा एउटा बच्चा र डुमरियामा अर्को भाले गैँडा मरेका हुन् ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार अर्ना राखिएको क्षेत्र नजिकै बुधबार एक वर्ष छ महिनाको भाले बच्चा मृतावस्थामा फेला परेको हो । सो बच्चाको शरीरमा कुनै घाउचोट नभएकाले चिसोका कारण मरेको अनुमान गरिएको उहाँले जानकारी दिनुभयो । चिकित्सकले मृत्युको कारण खोजी गरिरहेको निकुञ्जले जनाएको छ । गत महिना नवलपरासी क्षेत्रमा यस्तै ढङ्गबाट तीन महिनाको गैँडाको बच्चा मृतावस्थामा फेला परेको थियो ।

यस्तै बिहीबार दिउँसो निकुञ्जको बेलशहरघाट क्षेत्रमा एउटा गैँडा मृतावस्थामा फेला परेको छ । तीस वर्षको भाले गैँडा प्राकृतिक कारणले मरेको अधिकारीले जानकारी दिनुभयो । मृतावस्थामा भेटिएका दुवै गैँडाको खाग र खुर सुरक्षित रहेको निकुञ्जले जनाएको छ । साउनयता निकुञ्जमा यससँगै २२ गैँडा मरेका छन् । तीमध्ये चार चोरी शिकारीले मारेको निकुञ्जले जनाएको छ । शिकारी सक्रिय भएपछि पछिल्लो समय निकुञ्जमा गस्ती बढाइएको छ । गत वर्ष २६ गैँडा प्राकृतिक कारणले मरेका थिए ।