७ बैशाख २०८१, शुक्रबार

प्रदेशसभाको बैठकः राजनीतिक स्थिरता कायम राख्न मुख्यमन्त्रीको आग्रह

Dormani poudel

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजनीतिक स्थिरता, शान्ति र जनताप्रति उत्तरदायी एंव जिम्मेवार हुन प्रदेशसभा सदस्यलाई आग्रह गर्नुभएको छ ।

आज बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उहाँले नेपालको संविधानको मर्मअनुसार प्रदेश सरकारको गठनलगत्तै तीन वर्षको कार्यकालमा जनतालाई आर्थिक समृद्धि तुल्याउने विभिन्न कार्यक्रम र राष्ट्रिय गौरवका आयोजनाको निर्माण गर्ने कार्य प्रारम्भ गरेको बताउनुभएको हो ।

मुख्यमन्त्री पौडेलले सरकारले प्रदेशको १३ वटै जिल्लामा जनताको मागअनुसार स्वास्थ्य उपचार केन्द्र, खानेपानी निर्माण, कृषि सडक, विद्युतीकरण र राष्ट्रिय गौरवका आयोजनाका साथै सडक कालोपत्र गर्ने कामलाई तीव्रता दिएको पनि जानकारी दिनुभयो ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले संविधान विपरित प्रतिनिधिसभा विघटन भएकोमा चिन्ता व्यक्त गर्दै लोकतन्त्रको सुदृढीकरण र दीगो शान्तिका लागि कांग्रेस सडक आन्दोलनमा उत्रिनु परेको बताउनुभयो । उहाँले नेकपा फुटको सङ्घारबाट जोगिनुपर्ने सुझाव दिदैं बाह्य शक्तिले दललाई विखण्डन गर्न सक्ने सम्भावना बढेकाले यसप्रति दलहरु सजक हुनुपर्ने बताउनुभयो ।

नेकपा प्रचण्ड–माधव समूहका नेता अष्टलक्ष्मी शाक्यले नेकपाका नेताहरु देश र जनताप्रति जिम्मेवार हुन नसक्दा अहिले पार्टीप्रति वितृष्णा उत्पत्न भएको उल्लेख गर्दै सङ्घीय र प्रदेश सरकारका बीचमा सहकार्यका साथ राजनीतिक स्थिरताका लागि कार्य हुन नसकेकामा चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले अहिले जनतालाई आर्थिक समृद्धि, विकासको पूर्वाधार र मानव अधिकारको सम्वद्र्धन गर्न सङ्घीय सरकारले जिम्मेवार भई जनताप्रति जवाफदेही हुन नसक्दा पार्टी विभाजनको मुखमा पुगेको र प्रदेश सरकारले पनि सन्तुलित विकास प्रक्रियालाई अगाडि बढाउन नसक्दा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नुपरेको जानकारी दिनुभयो ।

साझा विवेकशील पार्टीका नेता रमेश पौडेलले प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा अहिले अदालतमा विचाराधीन रहेकाले अदालतबाट आएको निर्णयलाई सबैले स्वीकार गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल मजदूर किसान पार्टीका नेता सुरेन्द्रराज गोरसाइले सङ्घीय सरकार र प्रदेश सरकार जनताप्रति जवाफदेही हुन नसकेका कारण जनतामा निरासा छाएको उल्लेख गर्दै जनताप्रति जवाफदेही बन्न प्रदेश सरकारलाई आग्रह गर्नुभयो ।

राप्रपा नेतृद्वय रिना गुरुङ र रिता माझीले संविधानको मर्म र भावनाभन्दा दलहरुले सत्ताको होडबाजीमा लाग्दा अहिले मुलुकमा राजनीतिक अस्थिरता देखिएको बताउँदै सनातन हिन्दूधर्मको मुद्दालाई लिएर जनतामाझ जानुपर्ने धारणा व्यक्त गर्नुभयो ।

अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभाको बैठक स्थगन गरिएको छ ।