१६ चैत्र २०८०, शुक्रबार

सवारी चालकसँग लिएको घुस सहित तीन प्रहरी पक्राउ

chitwan narayanghat pulchowk

यातायात व्यवसायीसँग घुस लिएको अभियोगमा तीन प्रहरीलाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङको टोलीले उनीहरुलाई मङ्गलबार राति ९ः०० बजे पुलचोकबाट पक्राउ गरेको हो । कार्य क्षेत्रमा खटिएको समयमा यातायात व्यवसायीसँग रकम असुलेको अभियोगमा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार लोकशहादुर घर्ती, जवान जमुना खड्का र वडा प्रहरी कार्यालय नारायणगढमा कार्यरत प्रहरी जवान पूर्णसिंह रेश्मी मगरलाई नियन्त्रणमा लिइएको हो ।

उनीहरुलाई घुस दिएको अभियोगमा एक किराना व्यवसायीसँगै पाँच जनालाई पक्राउ गरिएको गुरुङले जानकारी दिनुभयो । उनीहरुको साथबाट घुसबापत लिएको रु दुई हजार १५० समेत बरामद गरिएको छ । उहाँले भन्नुभयो, “पक्राउ परेका तीन जना प्रहरीलाई निलम्बन गरी अनुसन्धानको प्रक्रिया शुरु गरिएको छ ।” गुरुङका अनुसार उनीहरुले पैसा सङ्कलनका लागि नारायणगढमा रहेको कालीगण्डकी किराना पसलका सञ्चालक राजेन्द्र पराजुलीलाई जिम्मा दिने गरेका थिए ।

उनलाई समेत नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो । घुस दिने छाहारी यातायात व्यवसायी समितिका अरुण गुरुङ, नारायणी यातायात व्यवसायी समितिका एकनाथ ढुङ्गाना र दीपक खड्की रहेका छन् । यस्तै केरुङ यातायातका छिरिङ लामालाई प्रहरीलाई घुस दिएको अभियोगमा पक्राउ गरी पाँचैलाई अभद्र व्यवहारमा मुद्दा दर्ता गरिएको उहाँले बताउनुभयो ।

पार्किङ निषेध तथा रोक्न निषेध गरेको स्थानमा पार्किङ गरेबापत बस, अटो रिक्सा, म्याजिक भ्यान लगायतका सवारी चालकसँग रकम लिएको उहाँले बताउनुभयो ।