६ बैशाख २०८१, बिहीबार

भीमसेन मन्दिर पुनःनिर्माण ५५ प्रतिशत सम्पन्न

patan

पाटन दरबार स्क्वायरस्थित भीमसेन मन्दिर पुनःनिर्माणको काम ५५ प्रतिशत सम्पन्न भएको छ । विसं २०७२ को भूकम्पका कारण मन्दिर जीर्ण भएको थियो ।

मन्दिरको दोस्रो तलासम्म दलिन राख्ने र गारो लगाउने काम सकिएको साइट इञ्जिनीयर प्रणाम होराले बताउनुभयो । उहाँले भन्नुभयो, “मन्दिरको माथिल्लो दुई छाना लगाउन बाँकी छ । मन्दिरमा प्रयोग गरिने झ्याल र कार्नेश मर्मत भइसक्यो भने आवश्यक सम्पूर्ण सामग्री लगभग जोहो गरिसक्यौँ ।” मन्दिरको दुई तलामा झिगटी लगाउन, माथिल्लो तलाका लागि टुँडाल अनि गजुर मर्मत र पाता सफा गर्ने काम भने बाँकी रहेको उहाँले बताउनुभयो । स्थानीय जनता अघि बढेपछि गुणस्तरीय काम भइरहेको र काम पनि ५५ प्रतिशत सम्पन्न भइसकेको ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष मनोजबहादुर न्याछयोंले बताउनुभयो । उहाँले भन्नुभयो, “अबको छ महिनाभित्रमा मन्दिर पुनःनिर्माणको काम सकिने छ ।” “हाम्रो सम्पदा हामी आफैँ बनाऔँ” भन्ने नारासाथ स्थानीय जनताले गाईको पुच्छरमा डोरी बाँधेर गजुर निकाली भत्काउन शुरु गरेपछि धमाधम पुनःनिर्माणको काम भइरहेको छ ।

मन्दिरको गजुर, तामा र धातुको पातालगायत अन्य महत्पूर्ण वस्तु रेखदेखको जिम्मा पुरातत्व विभाग, स्मारक संरक्षक तथा दरबार हेरचाह कार्यालय पाटन दरबार सङ्ग्रहालयको निगरानीमा छ । चार शताब्दीभन्दा पुरानो इतिहास बोकेको मल्लकालीन समयको भीमसेन मन्दिर उपत्यकाकै नमूना धरोेहरका रुपमा प्यागोडा शैलीमा निर्माण भएको थियो ।

मन्दिर पुनःनिर्माणमा लाग्ने सम्पूर्ण प्राविधिक सहयोगको जिम्मा काठमाडौँ भ्याली प्रिजर्भेशन ट्रष्टले लिएको छ भने राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, पुरातत्व विभाग, काठमाडाँै भ्याली प्रिजर्भेशन ट्रष्ट र मङ्गल टोल सुधार समितिलगायत विभिन्न सङ्घसंस्थासमेत यसमा लागि परेका छन् । मन्दिर पुनःनिर्माणमा सुन लेपन खर्चबाहेक रु चार करोड ९३ लाख लागत लाग्ने अनुमान गरिएको सङ्घले जनाएको छ ।

पुनःनिर्माणका लागि एभरेष्ट बैंकले रु एक करोड, प्राइम बंैकले रु १० लाख, वाणिज्य बैंकले रु पाँच लाख, ललितपुर महानगरपालिकाले रु एक करोड र तदर्थ समितिका सदस्यले रु ९० हजार दिइसकेको सङ्घका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम श्रेष्ठले जानकारी गराउनुभयो । माथिल्लो तल्लाको गजुर तथा धातुका छाना निकाल्ने तथा मर्मतपश्चात् पुनःराख्ने कामको जिम्मा भने पाटन हौगल टोल निवासी कल्याणकृष्ण ताम्राकारले लिनुभएको छ । मन्दिरलाई चाहिने डाँची र ईट्टा दक्षिण बाराही ब्रिक फ्याक्ट्रीका हीराकाजी महर्जन र तीर्थलाल महर्जनले उपलब्ध गराउनु हुने जनाइएको छ ।