७ बैशाख २०८१, शुक्रबार

‘अत्याधुनिक अनुसन्धान प्रणाली बसाल्दै अदुअआ’

ciaa

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सावित्री थापा गुरुङले आयोगलाई अबको अनुसन्धान अत्याधुनिक र वैज्ञानिक प्रणालीमा बसाल्दै लगिएको बताउनुभएको छ । बर्दिबासमा आयोगको नवनिर्मित दुई भवनको उद्घाटन कार्यक्रममा उहाँले अब अनुमान, अड्कल र अन्दाजका भरले नभई सुव्यस्थित तथा वैज्ञानिक प्रणालीबाट अनुसन्धान प्रणाली व्यवस्थित गरिएको बताउनुभयो ।

मुलुकभरि आयोगका कामलाई सुव्यवस्थित बनाउन चार खम्बे रणनीतिका आधारमा अघि बढिएको उहाँको भनाइ छ । आयोगका भवन भवनमात्र नभएर अब वैज्ञानिक र अत्याधुनिक अनुसन्धानका ठाउँ बनेका गुरुङले बताउनुभयो । “हामी प्रवद्र्धनात्मक, निरोधात्मक, उपचारात्मक÷दण्डात्मक र संस्थागत विकासको चार खम्बे नीतिबाट अघि बढेका छौँ”, गुरुङले भन्नुभयो, “हाम्रा भौतिक पूर्वाधार यिनै चार खम्बे रणनीतिका सहयोगी हुन् ।”

आयोगका सचिव सुरेश अधिकारीले सबैले आफ्नो दायित्व र कर्तव्यवोध गरेर अघि बढ्न आवश्यक रहेको औँल्याउनुभयो । बर्दिबासमा निर्मित आयोगका दुई नवनिर्मित प्रशासनिक भवनको लागत र समयबारे जानकारी दिइएको थियो । विसं २०७५ भदौ ५ गते निर्माण कम्पनी सिनर्जी÷ज्ञानज्योति जेभी कोटेश्वर काठमाडौँसँग सम्झौता भई निर्मित भवनको लागत रु १० करोड ६६ लाख ८३ हजार ६९३ रहेको आयोगको बर्दिबास कार्यालयले जानकारी दिएको छ । मुख्य प्रशासनिक भवनभित्र कार्यालय प्रमुखकक्ष, अनुसन्धानकक्ष, शाखा प्रमुख कक्ष र बैठकहलसमेत २२ कक्ष रहेका छन् । नवनिर्मित भवनमा अत्याधुनिक ल्याब र प्रयोगशाला रहने जनाइएको छ ।

विसं २०७० असोज १४ गतेको निर्णयबाट आयोगको कार्यालय हेटौँडाको सम्पर्क कार्यालयका रुपमा बर्दिबासमा स्थापित भएको हो । पछि विसं २०७५ असार ३१ गतेको निर्णयले शाखा कार्यालयका रुपमा काम गर्दै आएको बर्दिबासस्थित आयोगको कार्यालयको प्रदेश नं २ का महोत्तरी, धनुषा, सर्लाही, सिरहा र रौतटहसमेत पाँच, प्रदेश नं १ को उदयपुर र वाग्मती प्रदेशको सिन्धुलीसहित सात जिल्ला कार्यक्षेत्र छन् ।

कार्यालयमा गत आर्थिक वर्ष २०७६÷०७७ बाट सरी आएका एक हजार ५०८ र चालु आवको पुस मसान्तसम्मका ६०८ गरी जम्मा दुई हजार ११६ उजुरी परेमध्ये २२७ फछ्र्योट भई एक हजार ८८९ अझै अनुसन्धानकै क्रममा रहेका कार्यालय प्रमुख रामबन्धु सुवेदीले जानकारी दिनुभयो ।