१३ बैशाख २०८१, बिहीबार

‘दूधको मूल्य पाएनौं भन्दै, दूध पोखेर होइन खुवाएर विरोध गरौं : मुख्यमन्त्री पोखरेल

NDA Butwal 12 5 KfbbluV54V

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले दुग्धजन्य वस्तुको विविधीकरणमा जोड दिन दुग्ध व्यवसायीलाई आग्रह गरेका छन्। उनले दूध र दुग्धजन्य वस्तुको विविधीकरण गर्न नसके दुग्ध व्यवसायको भविष्य सुखद नरहेको बताए।

नेपाल डेरी एसोसियसनको २१औं केन्द्रीय साधारणसभालाई बुटवल सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले विरोध गर्ने शैली परिवर्तन गरी ध्यानाकर्षणका लागि उत्पादन खेरा नजानेगरी गर्न अनुरोध गरे। ‘दूधको मूल्य पाएनौं भनेर दूध पोख्नु गलत हो,’ मुख्यमन्त्री पोखरेलले भने, ‘पोख्नुको सट्टा विद्यालयका बालबालिकालाई निःशुल्क वितरण गरेर पनि विरोध गर्न सकिन्छ।’

उपभोक्ताको मन जित्नका लागि डेरी व्यवसायी ब्रान्डिङमा जान जरूरी भएको उनको भनाइ थियो। उनले सामूहिकताबाट अझ बढी वस्तुको उत्पादनका साथै गुणस्तरमा विशेष ख्याल गर्न आग्रह गरे। उत्पादनमा आधारित अनुदान प्रदेश सरकारले वितरण गर्दा राम्रो प्रतिफल प्राप्त भएको उनको भनाइ थियो। उनले कृषिमा अनुदान लक्षित समुदायमा पुर्‍याउने काममा प्रदेश सरकार लागिपरेको जानकारी दिए। प्रदेश सरकारले शून्य ब्याजदरमा कर्जा प्रदान गर्ने गरी बैंकहरूसँग कुरा गरिसकिएको उनले बताए।

प्रतिनिधिसभा सदस्य मोहन बाँनियाले स्वदेशी व्यवसायीहरू लगानीको लागि तयार हुँदा–हँुदै विदेशबाट लगानी भित्रयाउनु गलत भएको बताए। उनले यसका लागि सरकारले आत्मनिर्भर नभएका क्षेत्रमामात्र वैदेशिक लगानीका लागि प्राथमिकता दिने नीति ल्याउनुपर्ने बताए।

दुग्ध विकास संस्थानका महाप्रबन्धक वैकुण्ठ अधिकारीले कृषितर्फ दूधको योगदान धानपछिको दोस्रो ठूलो भएको बताए। प्रदेश ५ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव तेजबहादुर सुवेदीले किसान, दुग्ध व्यवसायी र अन्य आम उपभोक्ताको हितको लागि सरकार जहिले पनि तयार रहेको बताएका थिए।

साधारणसभामा डेरी व्यवसायीहरू सुमन सापकोटा, महालक्ष्मी डेरी कपिलवस्तुमा थानेश्वर न्यौपाने, सारदा डेरी दमकका निमानन्द खतिवडा, गौरी गंगा डेरी धनगढीका डम्बर बुढाथोकी, राष्ट्रियसभा सदस्य मोहन बाँनिया तथा डेरी व्यवसायी स्वर्गीय हरिप्रसाद सापकोटालाई मरोणापरन्त सम्मान गरिएको थियो। त्यसैगरी, दोलखाका लालबहादुर केसीलाई दीर्घसेवा सम्मानबाट सम्मान गरिएको थियो।

    सम्बन्धित समाचार...