१३ बैशाख २०८१, बिहीबार

देउवा पक्षले गरेको एकलौटी निर्णय नमान्ने पौडेल समूहको चेतावनी

देउवा पक्षले गरेको एकलौटी निर्णय नमान्ने पौडेल समूहको चेतावनी

कांग्रेस सभापति शेरबहादुर देउवा पक्षले गरेको एकलौटी निर्णय आफूहरूलाई मान्य नहुने कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बताएको छ ।

शनिबार कांग्रेस महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा बसेको सो समूहको बैठकले पार्टी सभापति देउबाले गरेको एकलौटी निर्णय मान्य नहुने निर्णय गरेको बताएको हो । वरिष्ठ नेता पौडेलले एकलौटी रूपमा गरिएका सबै निर्णय खारेज गर्ने माग गरेका छन् ।

शुक्रबार पौडेल समूहको बहिष्कारका बीच सभापति देउवाले केन्द्रीय कार्यसमितिको बैठक राखेर १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नुका साथै विभागको संख्या बढाउने र भ्रातृ संस्था नेपाल तरुण दलको कार्यसमितिको म्याद ६ महीना थप्ने निर्णय गराएका थिए । यी सबै निर्णयहरू खारेज गर्नुपर्ने पौडेल समूहको दाबी छ ।

पौडेलले गलत मनसायबाट गरिएको निर्णय भएकाले यसले पार्टीलाई धरापमा पार्ने बताए । उनले निर्णय खारेज नभए पार्टीभित्र संघर्ष गर्ने चेतावनी दिए ।

सो समूहले सहमति तोडिएको र विधान मिचिएकाले निर्णय सच्याइनुपर्ने निर्णय गरिएको बताएको छ ।

बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, कोषाध्यक्ष यादव, गगन थापा, प्रदीप पौडेल, शेखर कोइराला लगायत सहभागी थिए ।