१४ बैशाख २०८१, शुक्रबार

योगेश भट्टराईले ‘बैगुनी केटो’को प्रधानमन्त्री ओलीलाई जवाफ फर्काए

yogesh kp oli scaled

नेकपाका नेता पूर्व पर्यटनमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जवाफ फर्काएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले  ‘बैगुनी केटाकेटी’को संज्ञा दिएपछि योगेश भट्टराईले जवाफ फर्काएका हुन् । शनिबार राति ट्वीट गर्दै योगेशले केटा र केटीहरुको रगत, पसिना र मेहनतको जगमा खडा भएको व्यवस्था मै प्रधानमन्त्री ओलीले कुर्सीप्राप्त गरेको स्मरण गराए ।

शनिवार दिउसो राजधानीमा प्रदेश नं १ का कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले योगेश भट्टराईलाई आफूले चुनाव जिताउन देखि मन्त्री बनाउँनसम्म सहयोग गरेको तर अहिले छाडेर गएको गुनासो गरेका थिए।

‘दौडी दौडी गएर भोट मागिदिएर मन्त्री बनाएँ, उसका लागि अनेकथोक गरियो, ओलीले भनेका थिए, ‘तर एक दिन पुक्क लात्ताले हानेर भाग्यो, को रहेछ भनेर यसो हेरेको त त्यही केटो पो रहेछ।’

योगेशले आफूलाई छाडेर हिँडे पनि युवाहरुको कमी नभएको ओलीको भनाई छ। ‘हामी त्यस्तो कुरामा अल्झिदैँनौँ’, उनले भने, ‘एउटा केटोले छाडेर केही हुँदैन। युवाहरुको हामीलाई कुनै कमी छैन।’

प्रधानमन्त्रीले सार्वजनिक रुपमै गुनासो पोखेपछि नेता भट्टराईले सामाजिक सञ्जाल मार्फत जवाफ फर्काएका छन्।

पार्टी विभाजनपछि प्रचण्ड माधव नेपाल समूहमा रहेका उनले लेखेका छन्, ‘केटा र केटीहरुको रगत, पसिना र मेहनतको जगमा खडा भएको ब्यबस्था मै यहाँले कुर्सीप्राप्त गर्नुभएको हो । केटो भनिपाउदा मलाई दुःख छैन । तपाईंको स्तर थाहा पाएँ खुशी लाग्यो ।’

प्रधानमन्त्री ओली २०७४ को चुनावका क्रममा ताप्लेजुङ पुगेर मतदातामाझ नेता भट्टराईलाई जिताएर पठाएमा मन्त्री बनाउने जिम्मा आफ्नो भएको बताएका थिए।