७ बैशाख २०८१, शुक्रबार

नेपाल आउने पर्यटकको सम्पूर्ण विवरणसहितको एकीकृत पर्यटन तथ्याङ्क प्रणाली तयार गरिँदै

tourism ministry

नेपाल आउने पर्यटकको सम्पूर्ण विवरणसहितको तथ्याङ्क तथा सूचना राख्ने गरी एकीकृत पर्यटन तथ्याङ्क प्रणाली विकास गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पहल र नेपाल पर्यटन बोर्डको सहकार्यमा उक्त प्रणालीको विकास गर्न लागिएको हो ।

उक्त प्रणालीका बारेमा पहिलो पटक पोखरा पर्यटन व्यवसायी एवम् सङ्घसंस्थासँग राय सुझाव सङ्कलन गरिएको बोर्डका निर्देशक एवम् सूचना अधिकारी मणिराज लामिछानेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिलेसम्म नेपाल आउने पर्यटकको एकीकृत तथ्याङ्क राख्न सकिएको थिएन, अब उक्त प्रणालीको विकासपछि नेपाल आउने पर्यटकको सम्पूर्ण विवरणसहितको तथ्याङ्क राख्न सकिने छ, यसलाई प्रभावकारी रुपमा तयार गर्नका लागि पहिलो पटक पोखरामा सरोकार सङ्घसंस्था र पर्यटन व्यवसायीसँग छलफल गरेका छौँ ।”

उहाँले सो प्रणालीबाट नेपाल आउने पर्यटकको बसाइ अवधिदेखि आवश्यक सम्पूर्ण विवरण राख्न सकिने बताउनुभयो । “अहिलेसम्म पर्यटनको एकीकृत तथ्याङ्क सङ्कलन केन्द्र नहुँदा पर्यटनसँगसम्बन्धी कुनै पनि घटना एवम् गतिविधिको तथ्यसहितको विवरण पाउन सकेका छैनौंँ ।

यसले धेरैलाई अन्योलसमेत बनाएको छ । कहाँ कति पर्यटक आए, कति बसे, को कहाँ घुम्दैछन् भन्ने पनि थाहा छैन, अब डिजिटल प्रणालीको विकाससँगै सहज हुनेछ ”, लामिछानेले भन्नुभयो ।
उहाँका अनुसार तथ्याङ्क प्रणालीको विकाससँगै अहिले कोभिड–१९ का कारण समग्र पर्यटन क्षेत्रले भोग्नुपरेको समस्या, लगानी, नोक्सान र वास्तविक श्रमिकको तथ्याङ्कसमेत सोही प्राणालीबाट निकाल्न सकिने छ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले नेपाल सरकारले ढिलै भए पनि डिजिटल प्रविधिको प्रयोग गर्दै तयार गर्न लागेको एकीकृत सूचना प्रणाली पर्यटन क्षेत्रका लागि निकै स्वागतयोग्य भएको बताउनुभयो ।

“सरकारले ढिलै भए पनि राम्रो कुराको विकासमा पहल गरेको छ । यो पर्यटन क्षेत्रको लागि खुशीको कुरा हो”, उहाँले भन्नुभयो । “एकीकृत तथ्याङ्कका अभावमा यस क्षेत्रको सही सूचना र तथ्याङ्क आउन सकेको छैन, यस प्रणालीको विकाससँगै अब आउने दिनमा एकीकृत रुपमा सही तथ्याङ्क आउने छ ।” उहाँले यस प्रणालीबाट कुन देशको कति पर्यटक आए, कहाँकहाँ गए भन्ने विवरणसहित पर्यटन क्षेत्रका रोजगारदाता, श्रमिक र यस क्षेत्रका लगानीका बारेमा समेत एकीकृत सूचना आउने बताउनुभयो ।

“सूचना प्रणाली निर्माणपूर्व पर्यटन सम्बद्ध सङ्घसंस्था र व्यवसायीसँग रायसुझाव मागिएको छ, हामीले आफ्नो क्षेत्रबाट सुझाव दिएका छौँ । विशेष गरी पर्यटकले आफ्नो विवरण होटलको फ्रन्ट डेस्कमै बुझाउनुपर्ने भएकाले फ्रन्ट डेस्कका म्यानेजर र सिइओलाई पनि यस विषयमा विशेष प्रशिक्षण दिनु जरुरी छ ।”

भट्टराईले यस प्रणालीमार्फत नेपालका विभिन्न क्षेत्रमा पुगेका पर्यटकको अवस्थादेखि कुनै पनि समस्या परेको बेला उद्धार गर्नसमेत सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

पर्यटक बोर्डका कार्यकारी समिति सदस्य विप्लव पौडेलले एकीकृत पर्यटन तथ्याङ्क प्रणालीमार्फत आधिकारिक र सही तथ्याङ्क प्रेषित हुने बताउनुभयो । “यस प्रणालीको निर्माणपछि यस क्षेत्रको सम्पूर्ण कुरा आधिकारिक अभिलेखित हुनेछन्, कोही कसैले अनुमानका भरमा बोल्नु पर्दैन”, पौडलले भन्नुभयो ।

उहाँले पर्यटन मन्त्रालय र बोर्डले एकीकृत तथ्याङ्क प्रणालीको गृहकार्यका लागि पहिलो पटक पोखरामा सरोकार सङ्घसंस्था र व्यवसायीबीच रायसुझावसहित प्रशिक्षणसमेत दिएको जानकारी पनि दिनुभयो ।