१२ बैशाख २०८१, बुधबार

आयआर्जनमा सहयोगी बन्दै मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम

butwal mukhya mantri

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम बाँकेमा बेरोजगार नागरिकको आयआर्जनमा सहयोगी बन्दै गएको छ । लुम्बिनी प्रदेश सरकारद्वारा सञ्चालित कार्यक्रमअन्तर्गत सम्पन्न भएका गार्मेन्ट निर्माण, नेतृत्व विकास तथा प्रस्तावना लेखन, विद्युत् वायरिङलगायतका सीपमूलक तालीमबाट ग्रामीण क्षेत्रका नागरिकको आयआर्जन र रोजगारीमा सहयोग पुगेको छ ।

जिल्लाको राप्तीसोनारी, नरैनापुर, बैजनाथ, खजुरा, जानकी र खजुरा गाउँपालिकामा सञ्चालित मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम ग्रामीण नागरिकका पक्षमा क्षमता विकास, आयआर्जन र जीवनयापन सहज बनाउनका सहयोगी देखिएको जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले जानकारी दिनुभयो

“लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमले ग्रामीण नागरिकको आयआर्जन र रोजगारीमा प्रत्यक्षरुपमा सहयोग पुगेको छ”, उहाँले भन्नुभयो, “बेरोजगार नागरिकलाई क्षमता विकास र आयआर्जन बढाउन यो कार्यक्रम कोसेढुङ्गा सावित भएको छ ।”

उहाँले कार्यक्रम सञ्चालन तथा छनोटका लागि भएका प्रयास प्रशंसनीय रहेको उल्लेख गर्दै तालीममा सिकेको सीपलाई आयआर्जनका लागि पेशा सञ्चालनमा समेत समन्वय गर्नसके कार्यक्रम अझ प्रभावकारी हुने बताउनुभयो ।

राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले माग र आवश्यकताका आधारमा कार्यक्रम छनोट गरिएकोले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमले गाउँपालिकाका लाभग्राही नागरिकको जीवनमा उल्लेख्य सहयोग पुगेको बताउनुभयो ।

सो गाउँपालिकामा कार्यक्रमअन्तर्गत वडा नं ३ र ४ आदिवासी थारु महिलाका लागि तीनमहिने गार्मेन्ट निर्माण तालीम, वडा नं ८ र ९ का युवालाई १५ दिने नेतृत्व विकास तथा प्रस्तावना लेखन तालीम, वडा नं १ देखि ९ सम्मका युवालाई सुरक्षा सेवा र लोकसेवा परीक्षाका लागि एकमहिने तालीम, वडा नं ३ र ४ का युवालाई वाइरिङ तालीमको संयोजक श्रीवास्तवसहितको टोलीले अनुगमन गरेको कार्यक्रम सहजकर्ता जमुना चालिसले जानकारी दिनुभयोे ।

उहाँका अनुसार कार्यक्रमअन्तर्गत राप्तीसोनारी गाउँपालिकामा मुक्तकमैया महिलाका लागि व्यावसायिक बाख्रापालनका लागि बाख्रा सहयोग, बादी जातिका लागि सीप विकास तालीम, वडा नं ६ र ७ का थारु महिलाको परम्परागत सीपलाई बजारको मागअनुसारको सीप विकास तालीम, वडा नं ७ का ४०० ज्येष्ठ नागरिकका लागि न्यानो कपडा र थर्मस सहयोग कार्यक्रम सञ्चालन भएका छन् ।

उहाँले गत वर्ष वाइरिङ र ड्राइभिङ तालीमका सीप सिकेका ४० जना युवामध्ये २० जना युवाले आफ्नो पेशामा लागेर आयआर्जन गरिरहेको जानकारी दिनुभयो । तीन वटाका दरले एकल महिलालाई गरिएको बाख्रा सहयोगबाट हालसम्म सबैको घरमा नौ वटासम्म बाख्रा भएको उहाँको भनाइ छ ।

जिल्लामा यस वर्ष मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सञ्चालनका लागि महिला, युवा, मुक्तकमैया महिला, बादी जाति र ज्येष्ठ नागरिकलाई लक्षित गरी प्राथमिकता दिइएको उहाँले जानकारी दिनुभयो ।

खजुरामा ५० महिला स्वरोजगार

कार्यक्रमअन्तर्गत खजुरामा सञ्चालित झोला उत्पादन कार्यक्रमबाट ५० जना महिलाले रोजगारी पाएका छन् । महिलाले उत्पादन गरेको व्यापारिक झोला बिक्रीवितरणका लागि बजारमा समेत पठाइसकिएको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो ।

“मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमले खजुरालाई प्लाष्टिकमुक्त बनाउने अभियानमा सहयोगी भएको छ”, उहाँले रासससँग भन्नुभयो, “महिलाले सिकेको सीपबाट किफायत र सस्तो मूल्यमा झोला उत्पादन भएपछि प्लाष्टिकमुक्त खजुरा बनाउने अभियानमा सहयोग पुगेको छ ।”

प्लाष्टिक झोलाको साटो बजारमा महिलाले उत्पादन गरेको झोलाप्रति उपभोक्ता आकर्षित भएको पाइएको उहाँको भनाइ छ । खजुरा गाउँपालिकाको आठौँ गाउँसभाले खजुरालाई प्लाष्टिकमुक्त गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरिसकेको छ ।

“प्लाष्टिकमुक्त पालिका बनाउन गरेको प्रस्ताव गाउँसभाबाट सर्वसम्मतिले पारित भइसकेकाले अब हामी कार्यान्वयनको चरणमा रहेका छौँ”, अध्यक्ष कक्षपतिले भन्नुभयो, “गाउँपालिकाको आवश्यकता र नीतिसँग मिल्नेगरी मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमले सञ्चालन गरेको झोला बनाउने तालीमले आगामी दिनमा धेरै महिला स्वरोजगार हुनुहुनेछ ।”

कार्यक्रमअन्तर्गत बाँकेको वैजनाथ गाउँपालिकामा पनि सीपमूलक तालीम सञ्चालन भइरहेको प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीले बताउनुभयो ।
उहाँका अनुसार, वैजनाथमा चालू आर्थिक वर्षमा अतिविपन्न आर्थिक अवस्था कमजोर भएका व्यक्तिका लागि थारु हस्तकला उत्पादन, ब्युटीपार्लर, विद्युत् वायरिङ र बेत बाँस फर्निचर तालीम सञ्चालन भएका छन् ।

दुई महिनासम्म सञ्चालन हुने थारु हस्तकला उत्पादन तालीममा प्रत्येक वडाबाट दुई जनाको दरले आठ वडाबाट १६ जना, ४५ दिन सञ्चालन हुने ब्युटीपार्लर तालीममा १६ जना, तीन महिनासम्म सञ्चालन हुने विद्युत वायरिङ तालीममा २५ जना र तीन महिनासम्म सञ्चालन हुने बेत बाँस फर्निचर तालीममा २५ जना सहभागी रहेको कार्यक्रमका सहजकर्ता केशव चालिसेले जानकारी दिनुभयो ।

उहाँका अनुसार जानकी र डुडुवा गाउँपालिकामा पनि सीपमूलक तालीम सञ्चालनको तयारी भइरहेको छ । स्थानीयको आवश्यकता र गाउँपालिकासँगको प्रत्यक्ष समन्वयमा कार्यक्रम तथा तालीमको छनोट गर्ने गरिएको छ ।

अति गरीब, विपन्न परिवार, मधेशी मुस्लिम, महिला बालबालिका, एकल महिला, शिक्षामा पछि परेका समुदाय र व्यक्तिका लागि आयआर्जन, शिक्षा र अतिआवश्यकीय सहयोगका लागि मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सञ्चालन भएको कार्यक्रमका सहजकर्ता चालिसेले जानकारीदिनुभयो । अति गरीब, विपन्न र आर्थिकरुपले पछाडि परेका परिवारलाई प्रत्यक्ष सहयोग हुने गरी कार्यक्रम सञ्चालन गरिएको छ । यस वर्ष पनि गत वर्षका कार्यक्रमलाई निरन्तरता दिँदै केही थप गरिनेछ ।

कार्यक्रमअन्तर्गत बेरोजगार महिलालाई सीपमूलक तालीम, कृषकलाई बीउ, अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री र सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई झोला वितरण गरिएको उहाँको भनाइ छ ।

वैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचालले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमलाई प्रभावकारीरुपमा कार्यान्वयन गरी जनतालाई प्रदेश सरकारको अनुभूति गराउन सफल भएको जनाउँदै कार्यक्रमबाट गाउँपालिकामा परिवर्तन हुनेगरी योजना बनाएर निष्पक्ष र पारदर्शीरुपमा कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्नुभयो ।

जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमले अति विपन्न परिवारलाई प्रत्यक्ष लाभ हुनेगरी कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । आर्थिक तथा सामाजिकरुपमा प्रत्यक्ष लाभान्वित हुनेगरी कार्यक्रम छनोट गरिएको उहाँको भनाइ छ ।

जिल्ला समन्वय समिति सदस्य चेतबहादुर घर्तीले बाँकेमा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम प्रभावकारी देखिएको दाबी गर्नुभयो । “मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्तर्गत भएका तालीम तथा कार्यक्रमको हामीले प्रत्यक्षरुपमा अनुगमन तथा अवलोकन गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “ग्रामीण क्षेत्रका अतिविपन्न तथा बेरोजगार जनतालाई आयआर्जन बढाउन यो कार्यक्रम सहयोगी बनेको छ ।”

उहाँले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्दै जनतालाई प्रदेश सरकारको अनुभूति गराउन आवश्यकपर्ने सहयोग र समन्वयका लागि जिल्ला समन्वय समिति सदैव तयार रहेको बताउनुभयो ।