७ बैशाख २०८१, शुक्रबार

माघीमा थारू सङ्ग्रहालय अवलोकन गर्ने बढे

Tharu

दाङको थारू सङ्ग्रहालय अवलोकन गर्नेको सङ्ख्यामा वृद्धि भएको छ ।

थारूको परम्परालाई हेर्न माघीको अवसरमा सङ्ग्रहालय पुग्नेको भीडभाड बढेको हो । दङ्गीशरण गाउँपालिका–३ चखौरास्थित सङ्ग्राहलय पुग्नेको सङ्ख्या थामी नसक्नु रहेको महतवा महासङ्घका केन्द्रीय अध्यक्ष तथा सङ्ग्राहलय निर्माणका पहलकर्ता डिल्लीबहादुर चौधरीले बताउनुभयो ।

लुम्बिनी प्रदेशसभा सदस्यसमेत रहनुभएका चौधरीले भन्नुभयो, “हामीले थारूको कला, संस्कार, संस्कृति तथा परम्परालाई जोगाउन यो सङ्ग्राहलयलाई निर्माण ग¥यौँ, अहिले कला, संस्कार, संस्कृति बुझ्न माघीको अवसरमा यहाँ आउनेको सङ्ख्या निकै धेरै रहेको छ ।” माघ १ गते करिब तीन हजारको हाराहरीमा सङ्ग्राहलय अवलोकन गरेको थियो भने माघ २ गते करिब पाँच हजारले अवलोकन गरेको उहाँले जानकारी दिनुभयो । माघीको अवसरमा झनै धेरैले अवलोकन गरेको उहाँको भनाइ छ ।

थारू समुदाय मात्रै नभई हरेक समुदायले थारू सङ्ग्रहालय अवलोकन गर्ने गरेको भन्दै यसले थारूको कला, संस्कृति, परम्परा जीवन्त राख्न मद्दत पुग्ने उहाँको भनाइ छ । सङ्ग्रहालयमा थारू संस्कृति, परम्परा, कलासँग जोडिएका चित्र, मूर्ति, नक्सा, पोशाक, गहना र परम्परागत सामग्री राखिएका छन् । थारू जातिका परम्परा, नाचगान, चाडपर्व र सामाजिक जीवन झल्किने चित्र घरको भित्तामा सजिएका छन् । यस्ता सामग्री हेर्नका लागि दिनप्रतिदिन मानिसको घुइँचो लाग्ने गरेको छ ।

थारू गाउँको झल्को दिने परम्परागत घर, कोठा र देउता पनि राखिएको छ । थारू समुदायका पुराना गहना र कपडा पनि सङ्कलन गरिएका छन् । थारू राजाले कसरी राज्य सञ्चालन गरेका थिए भन्ने झल्काउन मूर्ति र नक्सा कोरिएको छ । नेपालका सबै थारूको इतिहास संरक्षण हुने गरी सङ्ग्रहालय निर्माण गरिएको प्रदेशसभा सदस्य चौधरीले बताउनुभयो ।

सङ्ग्रहालय राना, डंगौरा, देउखुरी, चितवन, कैलाली, कञ्चनपुर मोरङलगायत सबै ठाउँका थारूको संस्कृति र इतिहास एकै ठाउँमा देख्न पाइन्छ । यी सबै सामान नेपालका थारू बाहुल्यता भएको ठाउँबाट सङ्कलन गरी ल्याएको उहाँको भनाइ छ । यसलाई थारू जातिको अध्ययन र अनुसन्धानको केन्द्र बनाउने गरी तयारी थालिएकोसमेत उहाँको भनाइ छ । थारू जातिमा मान्छे मरेपछि घरका सबै सामान फाल्ने चलन रहेकाले केही परम्परागत सामग्री भेट्टाउनसमेत मुस्किल परेको उहाँले बताउनुभयो ।

सो सङ्ग्राहलय पाँच बिघा क्षेत्रफलमा निर्माण भएको सङ्ग्राहलय सञ्चालक समितिका संयोजक नरेन्द्र चौधरीले बताउनुभयो । जसमा अहिले रु ५० करोड बढीका संरचना थप गरिएको छ । पहिलोपटक दाङ जिल्लामा थारू जातिको आफ्नै पुर्खाको मूर्ति बनाएर सङ्ग्रहालयमा प्रदर्शनका लागि राखिएकाले यसले दाङ जिल्ला धेरै पाठ सिकाउने उहाँको भनाइ छ ।