४ बैशाख २०८१, मंगलवार

कुश्मामा बिहानै भूकम्प गएपछि …

earthquake1

पर्वत : मानिसहरु आ–आफ्नो काममा व्यस्त रहेका थिए । घरभित्र बिहानको खानपान गर्ने कार्यमा गाउँले व्यस्त रहेको अवस्थामा शुक्रबार बिहान ९ः३० बजेको समयमा भूकम्प गयो । लगातार ३० सेकेन्डभन्दा बढी गएको भूकम्पका कारण घर, टहरा भत्किए । बस्तीमा रहेका कतिपय मानिस घर बाहिर निस्किएर भागदौड गर्दै थिए त कतिपय घरले च्यापिएर घाइते अवस्थामा पुगेका थिए । केही व्यक्तिको पुरिएर ज्यानसमेत गएको थियो ।

त्यतिकैमा तत्काल सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी एम्बुलेन्ससहित घटनास्थलमा आइपुगे र घाइतेको तत्काल उद्धार गरी जिल्ला अस्पतालतर्फ लगे भने मृतकलाई पनि परीक्षणका लागि अस्पतालतर्फ लगियो । सुरक्षा निकायले सकुशल उद्धार गरेकालाई सुरक्षित स्थानमा लगेर राखेको थियो । उनीहरु आफन्तको अङ्गभङ्ग भएको र कतिपयले आफन्तलाई गुमाउनुपरेकोमा रोइकराइ गरेका थिए । तत्काल सुरक्षा निकायको उद्धार टोली घटनास्थलमा पुगेका कारण ठूलो जनधन क्षति हुनबाट जोगिएको दृश्यमा देखिन्थ्यो ।

यो घटना हो कुश्मा बजारमा जिल्ला विपद् व्यवस्थापन समिति पर्वतले भूकम्प सुरक्षा दिवसको अवसरमा गरेको विपद् उद्धार प्रतिकार्यको डेमोस्ट्रेसनको । भूकम्प गएपछि कसरी छिटो उद्धार गर्ने र नागरिकको जीउधनको सुरक्षा गर्न सकिन्छ भन्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा सशस्त्र प्रहरी बलको २५ नम्बर गणका सुरक्षाकर्मीको संयोजनमा उक्त डेमोस्ट्रेशन गरिएको हो ।

यसैगरी उद्धार टोली तयारी अवस्थामा राख्न सकियो भने जुनसुकै विपद्का घटनामा पनि ठूलो क्षति हुनबाट जोगाउन सकिन्छ भन्ने दृश्यले देखाएको छ । उक्त कार्यक्रममा सहभागी गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले विपद्को अवस्थामा सुरक्षा निकायको उद्धार टोलीले गरेको उद्धार कार्यको प्रशंसा गर्नुभयो । उहाँले तीनै तहका सुरक्षा निकायलाई आवश्यक सेवासुविधा र सामग्रीसहित तयारी अवस्थामा राख्नका लागि तीनै तहका सरकारको आवश्यक सहकार्य अवाश्यक रहेको बताउनुभयो ।

मन्त्री लम्सालले गण्डकी प्रदेश सरकारले जुनसुकै विपद्का घटनामा पनि तत्काल उद्धार गर्न सकियोस् भन्ने उद्देश्यले प्रदेशका सबै जिल्लामा एक एक वटा युनिट स्थापना गर्न थालेको बताउनुभयो । उहाँले प्रत्येक युनिटलाई स्रोतसाधन, उद्धारका सामग्रीसहित तयारी अवस्थामा राखिने बताउनुभयो ।

भूकम्प सुरक्षा दिवसको अवसर पारेर जिल्लावासीको जनचेतनाका लागि यस्तो कार्यक्रम आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताउनुभयो । उहाँले यो कार्यक्रमबाट नागरिक सचेतनामा वृद्धि हुने अपेक्षा गर्नुभयो । कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पङ्गेनीले अहिले स्थानीय तहमा भूकम्प प्रतिरोधी संरचना निर्माणका लागि जिम्मेवारी आएको बताउनुभयो ।