१६ चैत्र २०८०, शुक्रबार

मुख्यमन्त्री शेरधन राई विवाह गर्दै

sherdhan rai
फाइल फोटो

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको विवाह हुने भएको छ ।

मुख्यमन्त्री शेरधन राईले कहिले विवाह गर्लान ? धेरैले चासो राख्ने विषय हो ।

सञ्चारमाध्यमले पनि उनीसँग लिने गरेका अन्तर्वार्तामा यो प्रश्न प्राय छुट्दैन थियो । अब केही दिनमै मुख्यमन्त्री राई यो प्रश्नबाट छुट्करा पाउँदैछन् । उनको विवाहको लगन माघ ११ गते जुरेको छ ।

उनको विवाह अमेरिकामा बस्दै आएकी नेपाली युवतीसँग काठमाडौंमा हुने तय भएको हो । विवाह हुने तय भएको मुख्यमन्त्रीका स्वकीय सचिव नवराज राईले पुष्टि गरेका छन् । उनले भने, “विवाहको मिति तय भइसकेको छ । काठमाडौंबाट हुँदै छ ।”

काठमाडौंमा उनले माघ ११ गते शेर्पा थरकी युवतीसँग विवाह गर्ने भएका हुन् । 

विवाहलगत्तै प्रदेश राजधानी विराटनगरमा विवाहको शुभकामना तथा प्रितिभोज कार्यक्रम हुनेछ । विराटनगरमा हुने कार्यक्रममा प्रदेश १ का राजनीतिकर्मी, उद्योगी, व्यापारी, शुभचिन्तक, सांसद, कर्मचारीलगायत अतिथि र निम्तालुको सहभागिता रहने बताइएको छ । मुख्यमन्त्री राईले अन्तरजातीय विवाह गर्न लागेको उनी निकटस्थहरु बताउँछन् ।

संघीय सरकारका मन्त्री समेत बनिसकेका मुख्यमन्त्री राई उच्च पदमा पुगेसँगै उनको विवाहको चर्चा चल्ने गरेको थियो । यस अघि उनले सञ्चारमाध्यममा प्रदेशको नामाकरण पछि विवाह गर्ने भनेर बताउँदै आएका थिए ।