६ माघ २०७७, मंगलवार

माघीको रौनक आफ्नो भेषभुषामा सजिएकी थारु युवती (फोटोफिचर)

प्रदीपराज वन्त/रासस

कोरोना कहरकाबीच यतिबेला दाङदेखि पश्चिमी तराईको जिल्ला कञ्चनपुरसम्मका थारु बस्ती माघी पर्वमय भएका छन् । थारु समुदायको प्रमुख चाड माघीका अवसरमा यहाँ परम्परागत नाचगानका साथै पूजापाठ र रमाइलो गरी थारु बस्तीमा माघी मनाइरहेका छन् ।

थारु समुदायले माघी पर्वकै अवसरमा बडघर र भलमन्सा छनोट गर्ने, छोराछोरीको बिहे, अंशबन्डा र खेतीपातीको वार्षिक योजना निर्माणसमेत गर्ने अवसरका रुपमा लिने प्रचलन रहिआएको छ ।

कञ्चनपुरको थारु बाहुल्य क्षेत्र बेलौरी नगरपालिका–१० का वडाध्यक्ष हरिलाल चौधरीले कोरोनाका कारण धेरै खुला कार्यक्रम नरहेको बताए । “माघीका अवसरमा आफूभन्दा ठूलाबडाबाट आर्शिवाद लिने, घरायसी खानपानको काम भइरहेको छ”, उनले भने, “गाउँमा कोरोना देखिएकाले नाचगान र चहलपहल छैन ।” उनले स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर माघी मनाउने काम गाउँमा भइरहेको बताए ।

थारु समुदायको बसोबास रहेको बेलौरी, पुर्नवास, कृष्णपुर, शुक्लाफाँटा, बेदकोट र भीमदत्तनगरपालिकामा विभिन्न बस्तीमा माघी मनाइरहेका छन् । “विगतका वर्षमा केही दिन पहिलेदेखि निरन्तर माघी मिलन कार्यक्रम हुन्थे”, चौधरीले भने, “यसपटक कोरोनाका कारण सामान्य रुपमा मनाइँदैछ ।”

वर्ष दिनमा थारु समुदायको सबैभन्दा विशेष रुपमा मनाइने माघीका अवसरमा यहाँका विभिन्न मेला महोत्वसदेखि थारु बस्तीमा परम्परागत नृत्यले रमाइलो गरी मनाउने गर्थे ।

‘हर साल आउँछ माघी, माघी जान्छ आफ्नै सुरमा
खुशीयाली छ दाङमा, खुशीयाली कञ्चनपुरमा
हर साल आउँछ माघी, माघी जान्छ आफ्नै सुरमा’

थारु समुदायको गीतमा भनिएझै थारु समुदायका बालबालिकादेखि पाका पुस्तासम्म माघीमा रमाउँछन् । माघ १ गतेदेखि शुरु हुने सप्ताहव्यापी यो पर्वमा थारु समुदायले विभिन्न खानाका परिकारलाई बढी जोड दिन कूटानीपिसानी गर्ने, नयाँ लत्ताकपडा किन्ने र गाउँघरको सरसफाइ गर्ने काम गर्छन् ।

शुक्लाफाँटा नगरपालिका–५ का वडाध्यक्ष नरेन्द्र चौधरीले थारु बस्तीमा घरमै सामान्य रुपमा माघी मनाइरहेको बताए । “विगत वर्षको जस्तो नाचगान र रमाइलो छैन”, उनले भने, “कोरोनाका कारण सामान्य रुपमा मनाइरहेका छन् ।” उनले परम्परागत थारु समुदायको माघी पर्वलाई संरक्षण र सम्वद्र्धनका लागि राज्यको पनि लगानी आवश्यक रहेको बताए । “पर्यटकीय रुपले पनि माघी कार्यक्रम आर्कषकको केन्द्र बन्न सक्छ”, उनले भने, “युवा पुस्ताले पनि यसलाई परम्परागत रुपमा मनाउँदै आएका छन् ।”

त्यसैगरी माघीमा विशेषतः ढिक्री, तरुल, सखरखण्ड र फर्सी उसिनेर खाने गरिन्छ । माघीको अघिल्लो रात सुङ्गुर काटेर मासु खाने गरिन्छ, जसलाई थारु भाषामा ‘जिता मरना’ भन्ने प्रचलन रहेको उनले बताए । माघीको अघिल्लो दिन राति थारु समुदाय मासु, जाँड र ढिकरी खाएर रातभर जाग्राम बसेर ‘मघौटा’ नृत्यमा रमाउने गर्दछन् ।

के बुढा के तन्नेरी सब एकै ठाउँ भेला,
वर्ष दिनको पसिनालाई आज सुकाएर,
मिठो खाने राम्रो लाउने, रहर फुकाएर,
बल्ल आयो वर्ष दिनमा यति राम्रो चाड,
हाम्रो घर निकाखेर बटुलीमा माँड,
कटौरीमा मासु अनि बटुकीमा जाँड,
बल्ल आयो वर्ष दिनमा यति राम्रो चाड,
आफूपनि खाइदे साथी अरुलाई नी बाँड,
आज छैन कही चिसो चुलो धुवाँ उठ्यो धुर धुरमा,
हरसाल साल आउँछ माघी, माघी जान्छ आफ्नै सुरुमा

माघीको दिन (माघ १ गते) झिसमिसेमै उठेर नदी, जलाशयमा गई लोटामा सिक्का राखिएको पानीले नुहाउने र नुहाइसकेपछि सिक्का लुटाउने प्रचलन छ । माघीका अवसरमा तिलको आगो ताप्नाले वर्षभरि अन्जानवश गरिएको पाप नाश हुने धार्मिक मन्यतासमेत रहेको छ ।