१४ बैशाख २०८१, शुक्रबार

दुई श्रीमती विदेश, श्रीमान् घर कुरुवा…

rambahadur lopchan QaqMdhfpXZ

बच्चा हुँदैन भनेर बूढीले बहिनीसँग बिहे गराइदिइन्

सिन्धुपाल्चोक, जुगल गाउँपालिका १ सेलाङका ३६ वर्षीय भीमबहादुर लोप्चनको १७ वर्षको कलिलै उमेरमा छिमेकी राममायासँग विवाह भयो ।

सुरुका केही दिन त हाँसखेलमै बिते । वर्ष बित्दै गयो तर बच्चा भने हुन सकेन । उनीहरुमा एक खालको तनावको स्थिति सुरु भयो । उनीहरुका धेरै प्रयास असफल भए । यसैगरी झण्डै १० वर्ष बिताए ।

एकदिन राममायाले कठोर निर्णय लिएर अर्को बिहे गर्न भीमबहादुरलाई सुल्झाइन् । भीमबहादुरले पनि सहजै स्वीकार्नुभयो । अन्ततः राममायाले आफ्नै बहिनीसँग श्रीमानको बिहे गराइन् । बिहे गराउनुको एउटै कारण थियो बच्चा जन्माउनु, बच्चा भयो भने त्यो परिवारमा छुट्टै खुशी आउँथ्यो ।

तीन वर्ष अघि एउटा छुट्टै संयोग बन्यो । दुवैको केही महिनाको अन्तरालमै गर्भ बसेपछि भीमबहादुर तीन छक पर्नुभयो । तीन वर्षअघि राममाया र मोतीमायाले आठ महिनाको अन्तरालमा एकरएक छोरा जन्माए ।

बच्चा हुँदैन भनेर बूढीले बहिनीसँग बिहे गराइदिइन्, आखिर आठ महिनाको फरकमा बच्चा पायोु, मन्द मुस्कानसहित भीमबहादुरले त्यो क्षण सम्झिनुभयो । छोरा सुदीप र प्रवीन अहिले नजिकैको स्कुलमा कक्षा एकमा पढ्छन् ।

छोराहरु श्रीमानलाई छाडेर दुवै श्रीमती वैदेशिक रोजगारीका लागि अहिले कुवेतमा छन् । निःशुल्क भिसामा उनीहरु दुई वर्षअघि विदेश गएका हुन् । दुवै जना घरको काम गर्छन् । यता भीमबहादुर दुई छोराको रेखदेख गरी घर कुरुवा बन्नुभएको छ । आफू पनि विदेश जाने चाहना थियो तर भूकम्पले घर भत्काएकाले निर्माणको चरणमा भएर नगएको उहाँले सुनाउनुभयो ।

भीमबहादुरका दुइटा श्रीमतीले महिनाको १५ हजारदेखि २० हजार रुपैयाँसम्म पठाउने गर्छन् । उहाँले सबै पैसा बैंकमा राख्नुभएको छ । त्यसैबाट बैंकमा तीन लाख रुपैयाँ जम्मा भएको छ । यसपालि आउँदैछन्, त्यो पैसाले चौतारामा जग्गा किन्ने भनेका छन्, उहाँले भन्नुभयो ।

भीमबहादुरको मात्रै होइन, यहाँका धेरै महिला वैदेशिक रोजगारीका लागि विदेशिएका छन् । श्रीमान घर कुरेर बस्छन् । उहाँका साखै भाइ पेम्बाको पनि मेखामाई र रीतामाई गरी दुई श्रीमती छन् । उनीहरु पनि दिदीबहिनी हुन् । जेठी अहिले विदेशमै छिन् । जेठीकी दुई छोरा भए । कान्छीपट्टिबाट जन्मेको छैन ।

दश वर्षअघि ओमन, त्यसपछि झण्डै दुई वर्ष साउदी अरबमा बिताएर वैदेशिक रोजगारीको अनुभव लिनुभएका उहाँ आजकल काम हुँदा गाउँको ढुङ्गाखानीमा जानुहुन्छ, काम नहुँदा घर कुरुवा भएर बस्नुहुन्छ । बेलाबेलामा उहाँले आफूमा भूकम्पको पीडा छचल्किने गरेको तीतो अनुभव सुनाउनुभयो ।

उनका लागि कहिल्यै निको नहुने घाउ बनेर आयो विसं २०७२ वैशाख १२ को भूकम्प । भूकम्पमा परेर तीन वर्षका छोरा मायस गुमे । त्यो दिन मेखामाई छोरालाई झोलुङ्गोमा हालेर सुताउने तरखरमा हुनुहुन्थ्यो । एकैचोटी गुटुङ्टुङ भएर हल्लायो । एकैछिनमा घर गर्‍ल्यामगुर्लुम ढल्लो । मायस पुरिए । आमा मेखामाईको पनि टाउकोबाहेक सबै पुरियो ।
गाउँलेले निकै समय लगाएर आमालाई त निकाले । छोरा फेला परेनन् । तीन दिनपछि छोराको शव भेटियो ।

गाउँका धेरै महिला विदेश

भीमबहादुरकी दुई श्रीमती, पेम्बाकी एक श्रीमती मात्रै होइन, कान्छा भाइ निक्मा लोप्चनको श्रीमती सविना पनि कमाइका लागि विदेशमै छिन् । छिमेकी मिलन तामाङकी श्रीमती सलमायाँ पनि कुुवेत गएको निक्कै समय भयो । छिमेकी एक जनाको यसैगरी विदेश जाँदाजाँदै आपसी विवाद हुँदा दुवै श्रीमतीले छाडेको उनीहरुले बताए ।

सानुकान्छी तामाङकी छोरी सुनमाया पनि वैदेशिक रोजगारीका लागि दुबई गएकी छिन् । सेलाङ गाउँमा रहेका १९ भूकम्प प्रभावित परिवारका ६ जना महिला वैदेशिक रोजगारीमा छन् । उनीहरुका श्रीमान घर रुँगेर बस्छन् । गाउँलेका अनुसार पुरुषहरु गाउँमा भए पनि जुगल गाउँपालिकाका धेरै महिला विदेशिएका छन् ।

कानुनमा के छ ?

विगतको मुलुकी ऐनमा श्रीमान वा श्रीमतीबाट बच्चा नभएको प्रमाणित भएमा, नपुङ्सक भएमा, तीन वर्षसम्म एक अर्कालाई छाडेमा, पारपाचुके भएमा अर्को बिहे गर्न पाइने उल्लेख थियो ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ११ को विवाहसम्बन्धी कसुरमा भने बहुविवाह बदर हुने र बहुविवाह गर्नेलाई कैद सजायको कानुनी व्यवस्था छ । उक्त कसुरअन्तर्गत दफा १७५ मा विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्न नहुने र कुनै पुरुष विवाहित हो भन्ने जानीजानी त्यस्तो पुरुषसँग कुनै महिलाले विवाह गर्न नहुने उल्लेख छ । यसरी विवाह गर्ने वा गराउनेलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद र १० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिबाना हुने र बिहे स्वतः बदर हुने उल्लेख छ ।

उक्त कसुरको दफा १७३ मा २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नहुने र गरेमा तीन वर्षसम्म कैद र तीन हजार रुपैयाँ जरिबाना तथा विवाह बदर हुने उल्लेख छ । हद म्याद भने तीन महिनाको छ । कानुनमा कारबाहीको व्यवस्था भए पनि ग्रामीण भेगमा भने कानुनबारे जानकार नहुँदा बच्चामै बिहे हुने र बहुविवाह हुने क्रम रोकिएको छैन । नारायण ढुङ्गाना रासस

    सम्बन्धित समाचार...