१३ बैशाख २०८१, बिहीबार

आलापोटका ८०० घरलाई गुणस्तरीय खानेपानी

water tap

कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोटमा खानेपानी वितरण गर्न दुई लाख ३० हजार लिटर क्षमताको ट्याङ्की र फिल्टर निर्माण गरिएको छ ।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रका तीन मूलको पानी सङ्कलन गरेर वडा नं १ स्थित गागलफेदीमा ट्याङ्की र फिल्टर निर्माण गरिएको हो । वाग्मती प्रदेश सरकारको रु एक करोड ३० लाख लागतमा सो योजना सम्पन्न गरिएको हो । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत खानेपानी डिभिजन कार्यालय भक्तपुरले ट्याङ्की र फिल्टर निर्माण गरेको बताइएको छ । शुद्धीकरण गरिएको पानी वडाका करिब ८०० घरलाई वितरण गरिने छ ।

निकुञ्ज क्षेत्रबाट ल्याइएको शुद्ध पानीलाई फिल्टर गरी उपभोक्ताको धारामा पु¥याइने छ । यसअघि फिल्टर नगरिएको पानी वितरण हुने गरेकामा उद्घाटनपछि बिहीबारदेखि गुणस्तरीय पानी वितरण गरिने जनाइएको छ । निकुञ्जको सिसीघारी भन्ने स्थानबाट आलापोटमा पहिलोपटक विसं २०४० मा खानेपानी ल्याइएको थियो । यसैगरी विसं २०६४ मा पाखुरी खोल्चाबाट दोस्रोपटक पानी ल्याइएको उपभोक्ता समितिका उपाध्यक्ष भक्तलाल नगरकोटीले राससलाई जानकारी दिनुभयो । तेस्रोपटक खोलेस्थित नयाँमूलको पानी ल्याइएको हो ।

नवनिर्मित ट्याङ्की र फिल्टरको आज प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले उद्घाटन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले प्रदेशभर एक घर एक धाराको नीति अघि सारी काम भइरहेको बताउनुभयो । “पानीका स्रोत संरक्षण गरी प्रदेशसभाका ६६ वटै निर्वाचन क्षेत्रमा गुणस्तरीय पानी पु¥याइनेछ, खानेपानीलाई पहिलो प्राथमिकतामा राखिएको छ, यसैगरी सिँचाइ सेवा लैजान पनि ध्यान दिइनेछ, तालतलैया, ढुङ्गेधारा, राजकुलोलगायतको संरक्षण पनि गरिनेछ, प्रदेशमा लिच्छविकालदेखिका २४ वटा राजकुलो रहेको पत्ता लागेकाले तिनको संरक्षण गर्ने नीति पनि सरकारको छ”, उहाँले भन्नुभयो । छैमलेबाट हेटौँडा निस्कने सुरुङमार्ग निर्माणको काम प्रदेश सरकारले अघि बढाएको जानकारी पनि मन्त्री फुयाँलले दिनुभयो ।

बूढानीलकण्ठबाट गोकर्णेश्वर निस्कने सुरुङमार्गका विषयमा समेत अध्ययन भइरहेको मन्त्रालयले जनाएको छ । नेपाल तरुण दल काठमाडौँ जिल्ला अध्यक्ष कृष्णजी खड्काले साविकको आलापोट गाविसको वडा नं १ स्थित सूर्यमण्डली क्षेत्रका अझै खानेपानी नपुगेकाले छिटो लैजान माग गर्नुभयो । पानी नभएका कारण स्थानीयवासी समस्यामा रहेको उहाँको भनाइ थियो । कार्यक्रममा वडा नं २ का अध्यक्ष सुदर्शन धिमालले वडाभर खानेपानी पु¥याउन विभिन्न तहका सरकारसँगको सहकार्यमा काम भइरहेको बताउनुभयो । वडाको सूर्यमण्डली क्षेत्रमा पुरानो स्रोतबाट पानी ल्याउन काम भइरहेको जानकारी पनि उहाँले दिनुभयो ।

खानेपानीको व्यवस्थापन आलापोट खानेपानी व्यवस्थापन समाजले गर्दै आएको छ । समाजको चौथो साधारसभासमेत आजै सम्पन्न भएको छ । सभाले शिवराम बस्नेतको अध्यक्षतामा आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । समाजले घरघरमा मिटरसमेत वितरण गरी पानी व्यवस्थापन गर्छ । दश युनिटसम्म पानी उपभोग गर्नेलाई रु १००, २० युनिटसम्म उपभोग गर्नेलाई रु सात बढी, २५ युनिटसम्म उपभोग गर्नेलाई रु दश बढी, ३० युनिटसम्म उपभोग गर्नेलाई रु १५ बढी र ३१ युनिटभन्दा धेरै पानी उपभोग गर्नेलाई रु २५ बढी लिने गरी शुल्क निर्धारण गरिएको छ । सो अवसरमा पानी व्यवस्थापनमा काम गर्ने कर्मचारी परिक्षित धिमाललाई मन्त्री फुयाँलले रु दुई हजार नगदसहित सम्मान गर्नुभएको थियो ।