१४ बैशाख २०८१, शुक्रबार

पैयूँमा फोहर फाल्न शुरु

kusma bazar
फाइल फोटो

दक्षिण पर्वतको पैयूँ गाउँपालिकाले फोहर व्यवस्थापनका लागि ल्याण्डफिल साइटमा फोहर व्यवस्थापन गर्न थालेको छ । बढ्दो शहरीकरणसँगै गाउँपालिकाको केन्द्र हुवास र अन्य बजार क्षेत्रमा फोहर व्यवस्थापन चुनौतीको रुपमा रहेको थियो । गाउँपालिकाले जग्गाको अभावमा अहिलेसम्म फोहर व्यवस्थापन गर्न सकेको थिएन ।

हालै गाउँपालिकाले हातेमालो चोकबाट दुई किलोमिटर टाढा वडा नं १ टकलाकको घ्याङ्सिङमा ल्याण्डफिल साइट बनाएर फोहर व्यवस्थापन गर्न थालेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले जग्गा व्यवस्थापन गरी फोहर फाल्न शुरु भए पनि अझै व्यवस्थित गर्ने काम बाँकी रहेको बताउनुभयो ।

कुहिने र नकुहिने फोहर अलगअलग सङ्कलन गर्ने र फोहर प्रशोधन गर्ने योजना बनाइएको पौडेलले बताउनुभयो । फोहर थुपार्ने मात्रै नभई प्रशोधन केन्द्रसमेत बनाउने गाउँपालिकाको योजना रहेको र त्यसका लागि रु पाँच करोड खर्च लाग्ने अनुमानका साथ पूर्वाधार निर्माणको पहल भएको पौडेलले बताउनुभयो । गाउँपालिकाले फोहर फाल्न ६२ आना जग्गा खरीद गरेको हो ।

गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले बजार क्षेत्रमा चुनौतीको रुपमा रहेको फोहर व्यवस्थापन कार्य अब सहज भएको बताउनुभयो । फोहरका कारण बजार क्षेत्र दुर्गन्धित हुने समस्या हट्ने तिवारीले बताउनुभयो ।

स्थानीयवासीले घर र घरबाहिरको फोहर डस्टबिनमा जम्मा गरेर खोलाखोल्सीमा फाल्ने, जलाउने गरेका थिए । गाउँपालिका स्थापना हुँदादेखि नै फोहर व्यवस्थापनका लागि ल्याण्डफिल साइट बनाउने योजना भए पनि अहिले बल्ल जग्गा पाएपछि योजना पूरा भएको तिवारीले बताउनुभयो ।

जिल्लाका सात स्थानीय तहमध्ये कुश्मा नगरपालिकाले मात्रै व्यवस्थित तरिकाले फोहर व्यवस्थापन गर्दै आएको छ । मोदी गाउँपालिकाको फोहर अहिले पनि मोदीखोला र सडक छेउमा विसर्जन गर्दै आएको छ । फलेवास नगरपालिका, बिहादी र महाशीला गाउँपालिकामा पनि फोहर व्यवस्थापनका लागि ल्याण्डफिल साइटको अभाव छ भने जलजला गाउँपालिकाले पनि यसै वर्षदेखि फोहरको व्यवस्थापन कार्यलाई स्थानीय सङ्घसंस्थालाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

दुई गाउँमा हात्तीपाइले परीक्षण हुँदै

हात्तीपाइले रोगको वर्तमान अवस्था पत्ता लगाउन दुई गाउँमा परीक्षण गरिने भएको छ । कुश्मा नगरपालिका–१ पाङ र फलेवास नगरपालिका–५ खानीगाउँमा समुदायमा हात्तीपाइले रोगको अवस्था पत्ता लगाउन परीक्षण गरिने भएको हो ।

कीटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र हेटौँडाले पाङ र खानीगाउँमा हात्तीपाइले रोगको सङ्क्रमण रहेको तीन पटक गरिएको परीक्षणबाट पत्ता लागेको थियो । दुई स्थानमा हात्तीपाइले रोगका बिरामी रहेकाले जिल्लाभर ११औँ चरणसम्म हात्तीपाइलेविरुद्धको औषधि खुवाइएको छ ।

अहिलेको अवस्था पत्ता लगाउने उद्देश्यले दुई गाउँमा ६०० जनाको रगत परीक्षण गर्न थालिएको हो । कीटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र हेटौँडाले स्थानीय तह र स्वास्थ्य कार्यालय पर्वतको समन्वयमा समुदायमा परीक्षण गर्न थालेको जनाएको छ ।

केन्द्रका प्राविधिक सरोज अधिकारीले पर्वत जिल्लामा हात्तीपाइले रोग निवारण गर्ने हेतुले समुदायमा परीक्षण गर्ने र १२औँ चरणमा औषधि पनि खुवाउने कार्यक्रम सञ्चालन हुने जानकारी दिनुभयो । उहाँले देशभरि हात्तीपाइले रोग निवारणका लागि गर्दै आएका कार्य र पर्वतको अवस्थाका बारेमा जानकारी दिनुभयो ।

उहाँले पाङमा ३०० जना र खानीगाउँमा ३०० जनाको रगत परीक्षण गरेपछि जिल्लामा अर्को चरणमा औषधि खुवाउनुपर्छ वा पर्दैन भन्ने यकिन हुने बताउनुभयो । यसअघि पर्वतमा तीन पटकसम्म समुदायमा हात्तीपाइले रोगको अवस्था पत्ता लगाउन परीक्षण गरिएको थियो ।

कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पङ्गेनीले पर्वत जिल्ला मानव विकास सूचाकाङ्कमा ११औँ स्थानमा रहे पनि हात्तीपाइले रोगबाट मुक्त हुन नसक्नु आफैँमा दुखद् पक्ष रहेको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत पङ्गेनीले समुदायमा व्यापकरुपमा परीक्षण गर्ने अभियान पनि सञ्चालन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

जनस्वास्थ्य कार्यालयका प्रमुख डा भोजराज गौतम, पर्वत अस्पतालका प्रमुख डा शिशिर देवकोटा, कुश्मा नगरपालिका–११ का वडाध्यक्ष शिवप्रसाद पौडेल हात्तीपाइलेको निवारणका लागि सबै क्षेत्रमा जनचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो ।