१३ माघ २०७७, मंगलवार

पूर्वको पर्यटकको आकर्षणको केन्द्र बर्जु ताल

मुलुकमा सङ्घीयता आइसकेपछि स्थानीय तहमा लुप्त अवस्थामा रहेका तालतलैया, धार्मिक स्थल, पुरातात्विक महत्वको स्थानले ग्राह्यता पाउन थालेको छ । तराईमा सबैभन्दा ठूलो मानिएको प्रदेश नं १ को सुनसरीस्थित बर्जु तालको प्रचारप्रसारबाट सो ताल अवलोकन गर्न आन्तरिक तथा विदेशी पर्यटनको ओइरो लाग्न थालेको छ ।

खासगरी पहाडी क्षेत्रमा मात्र पाइने ताल तराईमा रहेकाले यस तालको बेग्लै आकर्षण र महत्वले गर्दा दिन प्रतिदिन अवलोकन गर्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । बर्जु गाउँपालिका–६ स्थित यो ताल पौराणिक, धार्मिक र ऐतिहासिक महत्वका साथै जैविक विविधतायुक्त समेत रहेकाले यसको विकासका लागि प्रदेश र स्थानीय सरकारले केही बजेट विनियोजन गरेका छन् ।

तालले कूल १५२ बिघा क्षेत्रफल ओगटेको छ भने यसअन्तर्गत ठूलो ताल ६० बिघा, सानो पूर्व ताल ३० बिघा र पश्चिम निर्माणाधीन अवस्थामा रहेको ३२ बिघाकोे ताल छन् ।

विसं २०७५ चैत ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले तालको निरीक्षण गर्दै यसलाई प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने बताउनुभएको थियो भने सोही दिनदेखि तालको प्रचारप्रसार एवं महत्व बढेको ताल संरक्षण समितिका पूर्वअध्यक्ष बालम चौधरीले बताउनुभयो ।

पहिलोपटक सरकारको तर्फबाट उच्च ओहदाका मानिसले अवलोकन एवं निरीक्षण गर्नुले पनि तालले व्यापकता पाउने आशा स्थानीय मानिसमा जागेको अध्यक्ष चौधरीले बताउनुभयो । त्यतिबेला प्रधानमन्त्री ओलीले यसलाई विश्वको आकर्षण केन्द्रको रुपमा विकास गर्ने गरी योजना बनाउने उल्लेख गर्नुभएको थियो ।

बर्जु तालको उचित विकास एवं आकर्षक बनाउन प्रदेश सरकार र बर्जु गाउँपालिकाले दृश्यावलोकन स्तम्भ निर्माण गर्न, सडक ग्राभेल बनाउन र तालको वरपरको माटो सम्याउनका लागि तत्काल रु दुई करोड चार लाख बजेट विनियोजन गरेको गाउँपालिकाका सूचना अधिकारी श्रीजना क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार तालको पूर्वी स्वागत द्वारका लागि रु १० लाख र दक्षिणका लागि रु १३ लाख ३९ हजार छुट्याइएको छ । यस्तै वनभोज स्थलका लागि रु १० लाख ५८ हजार, चमेनागृहका लागि रु ११ लाख २७ हजार र टिकट काउन्टर र सार्वजनिक शौचालयका लागि रु नौ लाख ९९ हजार खर्च गरिएको छ ।

तालको संरक्षण गरी यस क्षेत्रमा स्वदेशीविदेशी पर्यटकको आवागमनमा वृद्धि ल्याउन र यस क्षेत्रमा आर्थिक गतिविधि बढाउन स्थानीयवासी दिनरात जुटेका छन् । प्रदेश नं १ का उद्योग, पर्यटन तथा वन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुसियतले मुलुकको व्यापार घाटा कम गर्न तथा स्थानीय जनताको जीवनस्तर उकास्न र मुलुकमा आर्थिक समृद्धि कायम गर्न तालको विकासमा जुटेको धारणा व्यक्त गर्नुभयो ।

सो तालको परिधिको करीब सात किमी रहेको र यसको एकपटक परिक्रमा गर्न करीब दुई घण्टा समय लाग्ने संरक्षण समितिका पूर्व अध्यक्ष चौधरीले बताउनुभयो । पूर्व क्षेत्रको ऐतिहासिक नगरी विराटनगरबाट १२ किमीको दूरीमा पश्चिममा रहेको यो ताललै सबै उमेर समूहका लागि उपयुक्त मानिएको छ ।

ताल क्षेत्रमा वनभोज र घुम्नका लागि आन्तरिक पर्यटक मोरङ, सुनसरी, झापा, इलामबाट समेत आउने गर्दछन् । ताल क्षेत्रबाट सीमावर्ती भारतीय शहरी क्षेत्रको दूरी सरदर १२ किलोमिटर मात्र रहेकाले यहाँ भारतको जोगवनी, वीरपुर, फूल्काहा, घुस्की, बस्मतिया जस्ता शहर एवं कस्वाबाट अधिकांश पर्यटक घुम्न आउने गरेको पूर्व अध्यक्ष चौधरीले बताउनुभयो ।

कोरोना महामारीको बन्दाबन्दीको समयभन्दा अगाडि वर्षात्को महिनाबाहेक दैनिक एक हजारदेखि एक हजार ५०० पर्यटक घुम्ने आउने गरेका थिए । ताल घुम्नका लागि वार्षिक रुपमा आन्तरिक र बाह्य गरी पाँच लाख पर्यटकको सो क्षेत्रमा आउने गरेका छन् । यहाँ भारतीय नागरिकको उपस्थिति धेरै देखिने गर्दछ । यस क्षेत्रमा आन्तरिक पर्यटक अधिकांश बिदाका दिन र शनिबार आउने गर्दछन् भारतीय शनिबार, आइतबार अन्य बिदाका दिन आउने गरेको स्थानीयवासी रामचन्द्र मेहताले बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवं उद्योगपति राजेन्द्र राउतले तालको विकासमा निजी क्षेत्र पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै तालको आधुनिकीकरण गर्न, आकर्षण बनाउन प्रदेश सरकारले आवश्यक पहल गर्नुपर्नेमा जोड दिनुभयो । होटल व्यवसायी सङ्घका प्रदेश नं १ का अध्यक्ष राजन श्रेष्ठले आवश्यक पूर्वाधारको निर्माण भएमा पूर्व क्षेत्रमा पर्यटकीय गतिविधि बढाउन मद्दत पुग्ने धारणा राख्नुभयो ।

बर्जु गाउँपालिकाका अध्यक्ष रघुनन्दन चौधरीले गाउँपालिकाको मुख्य आकर्षणको केन्द्रको रुपमा रहेको यस तालको विकास गर्नुका साथै थप भौतिक पूर्वाधारको विकास गर्न पालिकाले आवश्यक कार्ययोजना बनाइरहेको जानकारी दिनुभयो । उहाँले पालिकाको निश्चित आम्दानी र स्रोतले एकैपटक धेरै काम गर्न नसक्ने भएकाले तालको उचित विकास एवं संरक्षणमा हाम्रा नजिकका प्रदेश सरकारले आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

बर्जु तालमा साइवेरियाका विभिन्न प्रजातिका चरा हिउँदको समयमा आउने र फागुनपछि आ–आफनै देश फर्कने गरेको स्थानीय शिक्षक मुसहर यादवले जानकारी दिनुभयो । उहाँले सो समयमा ११५ प्रजातिका चराले चरण एवं बसोवास गर्ने गरेकाले अमेरिका, बेलायत, फ्रान्स, जर्मनीलगायतका चरा अन्वेषक आउने गरेको जानकारी दिनुभयो । ताल क्षेत्रको वरपर सिमसार क्षेत्र भएकाले चरा, वनस्पति र जलचर जीवजन्तुुका विषयमा अध्ययनरत विद्यार्थी तथा शोधकर्तालाई शोध तयार गर्न उपयुक्त स्थल भएको छ ।

पौराणिक कथाअनुसार यो तालको विषयमा महाभारतमा पनि उल्लेख भएको र राजा विराटको गौशालाका गाई चर्ने चरण क्षेत्र भएको मान्यता रहेको छ । पहिले ३५० बिघा क्षेत्रफलमा फैलिएको ताल पञ्चायतकालमा अतिक्रमण भएपछि यसको क्षेत्रफल १५२ विघामा सीमित हुन पुगेको संरक्षण समितिका पूर्व अध्यक्ष चौधरीले बताउनुभयो । उहाँका अनुसार ताल क्षेत्रको वरिपरि स्थानीय बर्जु चौधरीको जग्गा रहेकाले उनकै नामबाट तालको नाम ‘बर्जु’ रहन गएको बताइन्छ ।

पर्यटकहरुलाई तालमा रमाउनका लागि १४ वटा चार सिटको डुङ्गा र एउटा ठूलो यान्त्रिक डुङ्गाको व्यवस्था गरिएको छ । तालको वरिपरि घुम्ने स्थानमा पर्यटकलाई थकान मेटाउन विश्रामका लागि फलामको कुर्सीको समेत व्यवस्था गरिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)की केन्द्रीय सदस्य भगवती चौधरीले ताल क्षेत्रको विकास गरी यस क्षेत्रमा बसोवास गर्ने नागरिकको जीवनस्तर उकास्ने गरी कार्ययोजना बनाउन विशेष पहल भइरहेको विचार राख्नुभयो ।

यसैगरी ताल क्षेत्रमा प्रवेशका लागि प्रतिव्यक्ति रु १० शुल्क उठाइने गरिएको र सङ्कलन गरिएको रकम ताल क्षेत्रको विकासमा खर्च गरिँदै आएको छ । राष्ट्रपति चुरे तराई–मधेस विकास समितिको रु तीन करोड ६६ लाखको लागतमा नेपाली सेनाले ताल पुनःनिर्माण कार्य सम्पन्न गरी विसं २०७३ मा हस्तान्तरण गरेको हो । तालको चारैतर्फ बाटो, चारवटा वनभोज स्थल, शौचालय, छातासहितको ६० वटा बस्ने ठाउँ, बालबालिकाको पार्क, तालको मध्यभागमा मन्दिर र चरा बस्न आइसल्याण्ड आदि निर्माण भएको छ ।

होटल व्यवसायी पुण्य भट्टराईले ताल यस क्षेत्रको मुख्य आकर्षणको केन्द्र रहे पनि यसको समुचित प्रचारप्रसार र सो क्षेत्रमा पर्यटकमैत्री खानपानको सहज व्यवस्था गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता औँल्याउनु हुन्छ । विराटनगर–११ का युवा भरत शर्मा बिदा र फुर्सदको समयमा तालमा पुगेर प्रशस्त मनोरञ्जन गर्न पाएकामा खुशी व्यक्त गर्नुहुन्छ ।

स्वच्छ वातावरण, खुला आकाश, फराकिलो स्थान, ग्रामीण क्षेत्र जस्ता गुणले भरिएको यो स्थानमा पर्यटक लागि वास बस्न घरवासको पनि व्यवस्था भएमा यसले अझ महत्व पाउने देखिन्छ । स्थानीय संस्कृति, परम्परा खानपिन, रहनसहनका बारेमा पनि पर्यटकले जान्ने बुझ्ने भएकाले यसतर्फ युवाहरु अगाडि आउनुपर्ने आवश्यकता देखिएको छ ।