११ बैशाख २०८१, मंगलवार

वीरगञ्जमा उपभोक्ता ठग्ने उद्योगलाई तीन लाख जरिवाना

jariwana fine

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले खरीद बिलविजक नराख्ने, गुणस्तरहीन सामान बेच्ने तथा मूल्यसुची नराखी उपभोक्ता ठग्ने ८० फार्मलाई जरिवाना गरी रु १९ लाख ८३ हजार असुली गरेको छ ।

सो कार्यालयले चालू आर्थिक वर्षको यही पुस १५ गतेसम्ममा रौतहट, बारा, सर्लाही, पर्सा, मकवानपुर र चितवनमा रहेको १४० व्यापारिक फार्ममा अनुगमन गरेको थियो । उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार ती फार्मलाई कारवाही गरी जरिवाना असुल गरेको कार्यालयका सूचना अधिकारी दिलीपखंग खत्वेले जानकारी दिनुभयो ।

यसैबीच विदेशी ‘लेबल’ लगाएर उपभोक्ता ठग्दै आइरहेका वीरगञ्ज महानगरपालिका वडा नं ६ रेशमकोठी चोकस्थित रहेका एसआर तयारी उद्योगमा स्थानीय प्रशासनले आइतबार छापामारी उद्योगलाई रु तीन लाख जरिवाना गरेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङको नेतृत्वको टोलीले सो उद्योगमा छापा मार्दा उद्योगले अन्तरराष्ट्रियस्तरको नाम चलेको कम्पनी एडिडास कम्पनीको टाउजर र द नर्थ फेस कम्पनीको नामको सुट उत्पादन गरी उपभोक्तालाई ठग्दै आइरहेको पाइएको थियो ।

टोलीमा सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक टीकाप्रसाद पोखरेल, वाणिज्य कार्यालयका निरीक्षक अधिकृत जीतबहादुर भण्डारीलगायतका सहभागि हुनुहुन्थ्यो । व्यापारीले म्याद गुज्रेको दैनिक उपभोग्यका सामान बेच्ने गरेको र मूल्यसुची नराखी उपभोक्तालाई ठग्न थालेको गुनासो आउन थालेपछि अनुगमनलाई तीव्रता दिइएको जनाइएको छ ।