१६ चैत्र २०८०, शुक्रबार

जुम्लाका बासिन्दा राडीपाखी सीप सिक्न व्यस्त

raadi paakhi

जुम्लाका ग्रामीण भेगका बासिन्दा हिउँद याममा राडीपाखी बनाउने सीप सिक्न व्यस्त छन् । राडीपाखीबाट आम्दानी बढ्न थालेपछि स्थानीयवासी सीप सिक्न तल्लिन भएका हुन् ।

तिला गाउँपालिका– १ का परने बस्नेतले राडीपाखी बनाउन सीप सिक्न शुरुआत गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विशेषगरी पछिल्लो समय लोप हुँदै गएको भेडापालनलाई संरक्षण गर्न र भेडाको ऊन बुनेर आयआर्जन गर्न यहाँका ग्रामीण भेगका स्थानीयवासी लागिपरेका छन् ।” अधिकांश स्थानीयवासी भेडा बाख्रापालनदेखि खरायोपालनतिर पनि सक्रिया भइरहेका छन् । ऊन खेर गइरहेको थियो । सीप नहुँदा परम्परागत राडीपाखीबाहेक अन्य वस्तु उत्पादन हुन सकेको छैन ।

अनुकूलन कोषको आर्थिक सहयोगमा वन तथा वातावरण मन्त्रालय र विश्व खाद्य कार्यक्रमको साझेदारीमा पेस नेपालद्वारा सञ्चालित क्याप्स कर्णालीले एकमहिने राडीपाखी बुनाइ तथा सीप सुधार तालिम सञ्चालन गरेको थियो । दुर्गमका बासिन्दाले ऊनका विविध सामग्री तयार गरी बजारमा बिक्री गर्न थालेको वीरबहादुर रावतले जानकारी दिनुभयो ।

गलबन्दी, गलैँचा, राडीपाखी र कोटे कपडालगायतका सामग्री यहाँका स्थानीयवासीले बुन्न सिकेका छन् । तालिमका अवधिमा ऊनबाट राडीपाखीलगायत सामग्री बुन्न सिकेको उहाँले बताउनुभयो । गाउँमा पछिल्लो समयमा सीप सिकाएर आत्मनिर्भर बन्न र आम्दानीको स्रोत बढाउने विभिन्न प्रकारका व्यावसायिक सीपमूलक तालीम लिने गरेको सिञ्जा गाउँपालिका प्रवक्ता नवीन शर्माले बताउनुभयो ।

राडीपाखी र कम्बल बुनेर भेडाको ऊनको सदुपयोग गरेका छन् । राडीपाखीबाट ओढ्ने ओछ्याउने कपडाका लागि यहाँका स्थानीयवासी प्रयोग गर्न गरेको तातोपानी गाउँपालिका– ४ का प्रेमराज पाण्डेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “राडीपाखी बुनेर बिक्रीका लागि बजार अभाव भएको छैन सो सामग्री खरीद गर्न घरमै आउने गरेका छन् । ” राडीपाखीबाट गलैँचा, टोपी र गलबन्दी बुन्न सिक्ने अवसर पनि मिलेको यहाँका स्थानीयवासी बताउँछन् । जिल्लाको सबैभन्दा दुर्गम तिला र तातोपानी गाउँपालिकाका बासिन्दालाई राडीपाखी बुनाई सीप सिकाइएको पेस नेपालका अध्यक्ष किशोर न्यौपानेले जानकारी दिनुभयो । स्थानीय भेडाको ऊनबाट विभिन्न सामग्री बन्न थालेपछि गाउँका स्थानीयवासीको जीविकोपार्जनमा सहज भएको उहाँले बताउनसभयो ।

उहाँले भन्नुभयो, “अहिले राडीपाखीको बजार मूल्य न्यूनतम रु चार हजारदेखि अधिकतम १० हजार रुपैयाँसम्म छ । जिल्ला आउने अधिकांश आन्तरिक पर्यटकले राडीपाखी खरीद गरेर लिने गरेका छन् । अब गलैँचा, गलबन्दी, टोपी बुन्न थालेपछि ऊनबाट उत्पादित वस्तुको मूल्य बढ्न सक्ने गाउँवासीको अपेक्षा रहेको छ ।”

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख पद्मप्रसाद उपाध्यायका अनुसार कार्यालयबाट विभिन्न प्रकारका सीपमूलक तालिम दिने गरेको र तीमध्ये ग्रामीण भेगका बासिन्दालाई राडीपाखी बुनाइमा राहत भएको उहाँले बताउनुभयो । जिल्लामा भेडापालन हुने गर्छ । यसबाट प्रशस्त ऊन उत्पादन गरेर गाउँवासीले आयस्रोतको गतिलो माध्यम बनाउन सकिने क्याप्स कर्णाली परियोजले जनाएको छ ।

परियोजनाले यहाँको तिला, तातोपानी र हिमा गाउँपालिकाका स्थानीयवासीलाई राडीपाखी बुनाइमा ती संस्थाले सहयोग गरेको छ ।