१५ बैशाख २०८१, शनिबार

बैतडी गढी क्षेत्र ‘सिल’

seal sil banda

बैतडी सदरमुकामस्थित गढी क्षेत्र ११ दिनका लागि ‘सिल’ गरिएको छ । कोरोना सङ्क्रमणका कारण एक स्थानीयवासीको मृत्यु भएपछि दशरथचन्द नगरपालिकाले वडा नं ४ को गढी क्षेत्र माघ ६ गतेसम्म सिल गर्ने निर्णय गरेको हो ।

केही दिनअघि मात्रै गढी क्षेत्रमा कोरोनाबाट एक व्यक्तिको मृत्यु भएपछि उहाँको सम्पर्कमा रहेकामा पनि कोरोना देखिएकाले गढी क्षेत्र आजदेखि माघ ६ गतेसम्म सिल गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्दले जानकारी दिनुभयो ।

नगरपालिकाको गढी क्षेत्रमै अहिले पनि सात जना सङ्क्रमित रहेकाले सङ्क्रमण नफैलियोस् भन्नका लागि गढी क्षेत्र सिल गरिएको हो । गढी क्षेत्र सिल भएसँगै आवतजावत नगर्न, शिक्षण संस्था बन्द गर्न आग्रह गरिएको छ भने बजार तथा पसल बन्द रहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

बैतडीमा अहिलेसम्म ६३६ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ भने कोरोनाबाट दुईको मृत्यु भइसकेको छ ।