७ बैशाख २०८१, शुक्रबार

‘प्रदेश सङ्घीयताको मुटु’

Sherdhan Rai

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश संरचना सङ्घीयताको मुटु भएको बताउनुभएको छ । केन्द्र र स्थानीय तहको प्रयोग लामो समयदेखि भए पनि प्रदेश संरचना नयाँ भएको उहाँले बताउनुभयो । आर्थिक ममिला तथा योजना मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्नु भएका मुख्यमन्त्री राईले प्रदेश नं १ को आर्थिक अवस्थाबारे जानकारी लिएपछि सङ्घीयताको मुटु प्रदेश भएकाले यसलाई समृद्ध बनाउनुपर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारको मुटु आर्थिक मामिला तथा योजना मन्त्रालय भएको तर्क गर्नुभयो ।

प्रदेश सरकारको मुटु पहिलो वर्ष राम्रै चले पनि दोस्रो वर्षको अन्त्यदेखि समस्या देखिँदै गएको आफूले पाएको उहाँले बताउनुभयो । मुख्यमन्त्री राईले भन्नुभयो, “चालू आर्थिक वर्षको बजेट प्रस्तुत भएर पारित भइसकेपछि मुटु क्रोनिक अवस्थामा पुगेको थाहा भयो ।” समस्या पहिचान भएकाले उपचारको प्रक्रिया शुरु भइसकेको मुख्यमन्त्री राईको भनाइ छ ।

प्रदेश सरकारले सही र यथार्र्थपरक बजेट बनाउन नसकेको र वित्तीय अनुशासन कायम नभएकाबारे विभागीय मन्त्रीलाई पटकपटक सचेत गराएको उहाँले बताउनुभयो । उहाँले मन्त्रालयमा देखिएको बेथितिलाई पूर्णरुपमा निर्मूल गर्न निर्देशन दिनुभएको छ । प्रणालीको विकास हुन नसक्दा मुलुकको दिगो र व्यवस्थित विकास हुन नसकेको उहाँले बताउनुभयो । प्रदेशमा प्रणालीको विकास गरी अनुसन्धानमा आधारित विकास कार्यअघि बढाइने उहाँले बताउनुभयो ।

पछिल्लो राजनीतिक घटनाक्रमले केही अन्यौलता देखिए पनि अन्यौलतामा नपरी काम गर्न कर्मचारीलाई उहाँले आग्रह गर्नुभयो । मुख्यमन्त्री राईले भन्नुभयो, “प्रदेशमा जसरी घटनाक्रम अघि बढेको छ, यसको भ्रममा नपर्नुहोला ।” आगामी माघ ७ गतेको प्रदेशसभापछि अन्यौलता हट्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । सरकार परिवर्तन हुने हल्लाको पछि लाग्नुपर्ने अवस्था नभएको उहाँले बताउनुभयो ।