७ बैशाख २०८१, शुक्रबार

झुटो विवरण पेश गरी धरानबाट नागरिकता

Citizenship

स्याङ्जा घर भएकी एक महिलाले धरान उपमहानगरपालिका–९ को बासिन्दा बनेर झुटो विवरण पेश गरी नागरिकता लिएको पाइएको छ । स्याङ्जाको वालिङ–३ घर भएकी मञ्जु क्षेत्रीले विसं २०७५ माघ ८ गते धरान–९ बाट नागरिकता लिएको पाइएको हो । उहाँलाई अर्घाखाँचीका गोपाल सेजुवालले बुबा बनेर नागरिकता दिलाएको पाइएको प्रहरीले जनाएको छ । वडाध्यक्ष रत्न कटवाललाई झुक्काएर ती सुजुवालले धरान–९ को बासिन्दा र मञ्जु आफ्नो छोरी भएको कागज बनाएर सिफारिस लिएको पाइएको छ ।

स्याङ्जा प्रहरीले ती महिलालाई पक्राउ गरेपछि यस्तो रहस्य सार्वजनिक भएको हो । वडा नं ९ का बासिन्दा बनेर मञ्जुलाई नागरिकता दिलाएका सेजुवाल हाल जापानमा रहेका छन् । छोरी बनाएर जापान लान उनले मञ्जुको नागरिकता बनाएको खुलेको छ ।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार झुटो विवरण पेश गरेर नागरिकता निकालिएको कारण ठूलो रकम खर्च गरेको हुनसक्ने बताउनुभयो । ती महिला पक्राउ परेपछि स्याङ्जा प्रहरीले नागरिकता सिफारिस गर्ने धरान–९ का वडाध्यक्ष रत्न कटवाललाई पनि अनुसन्धानको दायरामा ल्याउन इलाका प्रहरी प्रहरी कार्यालयसँग समन्वय गरेको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिनुभयो ।

यस विषयमा यहाँका वडाध्यक्ष रत्न कटवाललाई सोधपुछ गर्ने तयारी गरिएको प्रनाउ बस्नेतले जानकारी दिनुभयो । “हामी उहाँसँग सम्पर्क गर्न खोजिरहेका छौँ”, प्रनाउ बस्नेतले भन्नुभयो, “अर्घाखाँचीको सेजुवालले सुनसरीबाट नागरिकता बनाइदिन्छु भनेर ल्याएछन् । यहाँ झुट्टा विवरण पेश गरेर नागरिकता बनाइएको पाइयो, थप कुरा अध्यक्षसँग सम्पर्क गरेपछि खुल्नेछ ।”

अनुसन्धानको क्रममा नागरिकता धरानबाट झिकेको खुलेपछि स्याङ्जा प्रहरीले पक्राउ परेकी महिलासहित यो मुद्दा जिल्ला प्रहरी कार्यालय सुनसरीमार्फत धरान प्रहरीलाई जिम्मा दिएको छ । ती महिला ३४ वर्षकी भएको खुलेको तर विसं २०५५ को जन्मदर्ता गरेर दुई वर्षअघि २० वर्ष उमेरको नागरिकता लिएको पाइएको छ । जापानमा रहेका सेजुवालसँग फेसबुकमा चिनजान भएको र छोरी बनेर जापान जाने भनेर धरानबाट नागरिकता निकालेको हालसम्मको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिनुभयो । सेजुवल दुई वर्षअघि जापानबाट नेपाल आएर धरान–९ को बासिन्दा भई मञ्जुलाई नागरिकता निकालिदिएको खुलेको छ ।

नागरिकता निकालीदिएर उनी पुनः जापान फर्किएका थिए । ती युवती भने जापान जान प्रक्रिया मिलाउने क्रममा प्रहरीको फन्दामा परेकी हुन् । उहाँको वास्ताविक उमेरभन्दा कम उमेर नागरिकतामा देखिएपछि उहाँ शङ्काको घेरामा पर्नुभएको हो । नागरिकता सिफारिस गर्ने वडाध्यक्ष कटवाललाई प्रहरीले खोजी गरिरहेको छ । कटवाल भने सम्पर्कमा हुनुहुन्न । उहाँले प्रयोग गर्ने मोबाइल पनि ‘स्वीचअफ’ छ । गोपाल सेजुवाल नाम गरेको व्यक्ति आफ्नो वडामा अहिलेसम्म नाम नसुनेको र घटनाबारे केही थाहा नभएको ९ नं वडाका सदस्य मनोज राउतले बताउनुभयो ।