१३ बैशाख २०८१, बिहीबार

महावैमा खरको छानामुक्त अभियान

kharko

कालिकोटको महावै गाउँपालिकाले गाउँलाई खरको छानामुक्त बनाउने अभियान शुरु गरेको छ ।

आर्थिक अवस्था कमजोर भएका विपन्न तथा खरको छानामा बस्ने परिवारलाई खरको छानामुक्त अभियान थालेको हो । गाउँपालिकाले रकम अभावमा जस्तापाता खरिद गर्न नसकेर खर तथा परालले छाना छाउँदै आएका नागरिकको घर गाउँपालिकाले जस्ता पाताले छाइदिन थालेको हो ।

हावाहुरी चले खरको छानो उडाउने, आगलागी हुने र टिकाउ नहुने भएकाले खरको छानामुक्त अभियान थालिएको गाउँपालिका अध्यक्ष नन्दबहादुर सिंहले बताउनुभयो । “पहिलो चरणअन्तर्गत गाउँपालिकाले अनुदान दिएर वडा नं ७ र ८ यो अभियान शुरु गरेको छ”, उहाँले भन्नुभयो, “यो अभियान क्रमशः गाउँभरि लागू हुनेछ ।”

गाउँपालिकाभरि ३० प्रतिशत घर खरको छाना भएको र ती हटाउनका लागि गाउँ कार्यपालिकाको निर्णयानुसार खरको छानामुक्त अभियान थालिएको गाउँपालिकाका उपाध्यक्ष मनराज शाहीले बताउनुभयो । “यो कार्यक्रम सङ्घ, प्रदेश र स्थानीय तह सबैले सञ्चालन गरेका छन्”, उहाँले भन्नुभयो, “गाउँपालिकाले तीनै तहका सरकारको सहयोगमा यो अभियान सञ्चालन गरिएको छ ।”

खरको छाना भएका घर निकै जोखिममा रहेको र यसले मानवीय तथा धनजनको क्षति बढी गराउने भएकाले खरको छानामुक्त अभियानको आवश्यकता देखिएको उपाध्यक्ष शाहीले बताउनुभयो । “खरका छाना भएका घर विपत्तिको जोखिममा छन्”, उहाँले भन्नुभयो, “धनजनको हुने क्षति बचाउनका लागि खरको छाना हटाएर जस्तापाताको छाना राख्नेछौँं ।”