१४ बैशाख २०८१, शुक्रबार

शौचालयको अनुगमन गरेबापत घुस लिएको आरोपमा सव-इञ्जिनीयर पक्राउ

Bribe under the table
सांकेतिक तस्विर

जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) तनहुँका सवइञ्जिनीयर सुरेन्द्र अधिकारी रु एक लाख ५० हजार घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

सदरमुकाम दमौलीस्थित एक होटलमा उक्त रकमसहित सवइञ्जिनीयर अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले आज पक्राउ गरेको हो ।

जिल्लाको भानु नगरपालिका–५ मैवलस्थित सरस्वती माध्यमिक विद्यालयमा निर्माण गरिएको शौचालयको अनुगमन गरेबापत उक्त रकम घुस लिएको बताइएको छ ।

पटकपटक उक्त रकम माग गरेर सताउन थालेपछि रकम लिँदै गरेको अवस्थामा पोखराका प्रहरी नायब उपरीक्षक दीपेन्द्र बञ्जीयार थारुको नेतृत्वमा आएको टोलीले अधिकारीलाई पक्राउ गरेको हो । उक्त विद्यालयमा रु १४ लाख ६९ हजारको लागतमा शौचालय निर्माण गरिएको थियो ।

घुस लिँदै गरेको अवस्थामा सोही होटलमा बसेर मुचुल्का उठाएर कानूनी प्रक्रियाको लागि अघि बढाइएको आयोगका सूचना अधिकारी मेघनाथ रिजालले जानकारी दिनुभयो ।