१४ बैशाख २०८१, शुक्रबार

श्रीमती र बुहारी स्याहार्ने पुरुष

matritwa

कैलालीको टीकापुर–२ का विनोद कसारा भर्खरै बुबा बन्नुभएको छ ।

कसराकी श्रीमती पूजाले सन्तान जन्माएपछि कसाराको अहिलेको दैनिकी श्रीमतीको स्याहारसुसारमा बितेको छ । डेढ महिनाकी सुत्केरी श्रीमतीको खानपान, बच्चाको स्याहार, श्रीमतीको सरसफाइ जस्ता सबै काममा उहाँले सघाइरहनु भएको छ ।

कसाराले श्रीमतीको काममा सघाउनेमात्र होइन गर्भावस्था तथा सुत्केरी महिलाको मनोबल कमजोर हुन्छ भन्ने बुझेर बढी समय श्रीमतीसँगै बिताउने गर्नुभएको छ । “मेरो श्रीमतीको मनोबल कमजोर नहोस्, उसका मनमा कुरा नखेलून्, चिन्ता नगरोस् भनी दिनभरि रमाइला गफ गर्छु”, उहाँ भन्नुहुन्छ, “जसले आमा र बच्चालाई फाइदा होस् ।

म श्रीमतीले पोषिलो खानेकुरा खुवाउनमा जोड दिन्छु ।”कसाराको यो व्यवहारले उहाँकी श्रीमती पूजा पनि खुशी हुनुहुन्छ । “श्रीमान्ले स्याहारमात्र होइन माया पनि गर्नुभएको छ”, पूजाले भन्नुभयो, “टीकापुर नगरपालिकाले उपप्रमुख पोषण कोसेली दिएको थियो । त्यहाँ पनि सँगै गयौँ, सबैले श्रीमतीको कोसेली बुझ्न आएको भने खुशी भए ।

उहाँले मलाई अस्पतालमा जाँच गर्न जाँदा पनि एक्लै पठाउनु भएको छैन ।”टीकापुर–३ घियाका खुशीराम चौधरीले पनि सुत्केरी बुहारीको स्याहार गरिरहनुभएको छ । खुशीरामकी बुहारी लक्ष्मी पनि दुई महिनाकी सुत्केरी हुनुहुन्छ । खुशीरामका छोरा रोजगारीका सिलसिलामा घरबाहिर छन् । “बुहारी पनि छोरीजस्तै हुन् । उनको राम्रो स्याहार गरे पो बच्चा स्वस्थ हुन्छ”, खुशीराम भन्नुहुन्छ, “मैले घरको काममा पनि सघाउँछु ।

बुहारीका लागि नियमित खानासँगै अण्डा, माछा, मासुको व्यवस्था गरेको छु । अन्य पोषणयुक्त खानेकुरा पनि पहिलेभन्दा बढी खुवाउने गरेको छु ।” ससुराको राम्रो स्याहार पाएकी लक्ष्मी पनि खुशी हुनुहुन्छ । “माइती घर जस्तै लाग्छ । ससुराको जस्तो व्यवहार छैन”, लक्ष्मीले भन्नुभयो, “सके घरको सामान्य काममा सघाउँछु ।”टीकापुरकै नरेन्द्र शाहको बच्चा डेढ महिनाको छ । नरेन्द्रले पनि श्रीमतीको खानपान र स्याहारमा आफैँ खट्नुभएको छ । उहाँले ४० दिनसम्म श्रीमतीलाई आराम गर्न लगाएको, बच्चाको स्याहार आफूले गरेको बताउनुभयो । “श्रीमान्को साथ र सहयोग राम्रो पाएकी छु । बच्चा त दुवैको हो नि । मिलेर स्याहार गरे पो बच्चा स्वस्थ र परिवारमा खुशी आउँछ”, नरेन्द्रकी श्रीमतीले भन्नुभयो ।

टीकापुरकै रुपा सुनारको पहिलो बच्चा चार महिनाको भयो । रुपाका श्रीमान् धर्मबहादुरले रुपाको स्याहार गरेको देखेर छिमेकी नि दङ्ग छन् । गर्भावस्थादेखि विशेष स्याहार पाएकी रुपाको बच्चा जन्मदा चार किलोको थियो । “मैले अहिलेसम्म भान्साको काम गरेकी छैन । श्रीमान् जागिरे हुनुहुन्छ । बिहान घरको काम सकेर, दिउँसोका लागि मलाई खाजाको व्यवस्था गरिदिएर कार्यालय जानुहुन्छ”, रुपाले भन्नुभयो, “अहिलेसम्म पानीमा गर्नुपर्ने काम गरेकै छैन ।

बच्चा र मेरो कपडा धोएको देखेर छिमेकीले कुरा काट्छन्, मलाई नि अफ्ठेरो लाग्छ, तर उहाँ मान्नुहुन्न ।”रुपाका छिमेकी पूर्ण साउँदले धर्मबहादुरबाट आफूले धेरै कुरा सिकेको बताउनुभयो । “मलाई उनले श्रीमती र बच्चा स्याहारेको देख्दा पछुतो लाग्छ । मैले किन गरिनछु भन्ने लाग्छ”, छिमेकी साउँदले भन्नुभयो, “सबै महिलाले धर्मबहादुर जस्तै श्रीमान् पाए समाजमा हिंसा, दुःख रहने थिएन । सबै घरमा खुशी छाउँथ्यो ।” कैलालीका पालिकाले सुत्केरी तथा गर्भवतीको पोषण सुधार र जनचेतना वृद्धिका लागि पोषण कोसेली वितरण जस्ता कार्यक्रम गर्ने गरेका छन् ।

यहाँका पालिकाले कोसेलीमा अण्डा, घ्यू, गेडागुडी र फलफुल वितरण गरेर दम्पतीलाई नै सचेत गराउने गरेका छन् । यस वर्ष कैलालीको टीकापुर नगरपालिकाले २९७ जनालाई उपप्रमुख पोषण कोसेली वितरण गरेको छ । “कोभिड–१९ का कारण समयमै कोसेली वितरण गर्न सकिएन । अबका दिनमा मासिकरुपमा गर्ने तयारी छ”, उहाँ भन्नुहुन्छ, “कोसेली लिन आएका अभिभावक तथा परिवारका सदस्यलाई पोषण र स्वास्थ्य संवेदनशीलताबारे जानकारी दिने गरेका छौँ ।”