१० माघ २०७७, शनिबार

अध्यादेशबाट सङ्घीय शिक्षा ऐन ल्याउन माग

नेपाल शिक्षक महासङ्घ सहित विभिन्न शिक्षक सङ्गठनले प्रतिनिधिसभा विघटन भएको स्थितिमा अध्यादेशबाट सङ्घीय शिक्षा ऐन ल्याउन माग गरेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठसँग सिंहदरबारमा शिक्षक नेताहरुको प्रतिनिधि मण्डलले भेटी नयाँ संविधानअनुसार सङ्घीय ऐन ल्याउन ढिला भएकाले अध्यादेश ल्याउन माग गरेको हो ।

टोलीले बालविकास केन्द्रका सहजकर्ताहरुको सुविधा बढाउन, कक्षा ११ को नयाँ पाठ्यक्रम कार्यान्वयन गर्न, द्वन्द्वपीडित शिक्षकहरुको पुनः बहाली गर्नलगायत विषयमा पनि मन्त्रीसमक्ष ध्यानाकर्षण गराइएको र मागप्रति नवनियुक्त मन्त्री श्रेष्ठ सकारात्मक रहेको महासङ्घका अध्यक्ष बाबुराम थापाले जानकारी दिनुभयो ।

उहाँले शिक्षाका व्यापारी र दलालीकर्ताहरुसँग सतर्क रहेर काम गर्न पनि आफूहरुले सुझाव दिएको बताउनुभयो ।