८ बैशाख २०८१, शनिबार

‘पानीका दुःख सुनाउँदा अहिलेकाले अचम्म मान्छन्’

water pani

खोला बगेको पानीमा बाँसको चपेरोले बनाएको पँधेरो । सबेरै पानी लिन पुगेका पँधेर्नीहरु बिहान ढल्केपछि घर आइपुग्थे । पालो कुर्नुपर्ने, गाग्री भरिन पनि समय लाग्ने पँधेरोबाट फर्किदा घरमा भएका बुढापाका ढिलो भयो भनेर कराउँथे । बालबच्चालाई विद्यालय पठाउन अबेला र उमेरकालाई काममा जाने हतारो ।

बागलुङ नगरपालिका–१४ नारायणस्थानका महिलालाई केही वर्ष पहिलासम्म यस्तै समस्या थियो । खानेपानी मुहानको अभाव रहेको नारायणस्थानमा विगत लामो समयसम्म पानीको समस्या भोग्यो । बढ्दो जनसङ्ख्या र बसाइँसराइँसमेत बस्ती विकास भइरहेको नारायणस्थानमा अब भने खानेपानी समस्याका कारण पुराना पुस्ताले भोगेको समस्या कथा जस्तै हुनेछन् ।

नारायणस्थानकी तिलकुमारी बराईलीले पानी भर्न पँधेरो पुगेर फर्किदा सासूले ढिला गरेको भन्दै झपारेको अहिले पनि सम्झनुहुन्छ । “बाटो हिँड्नेले खाने पानी पाउँदैनथे, लाइन बसेर ल्याएको पानी सबैलाई दिन पनि नसकिने”, उहाँले भन्नुभयो, “पानीकै लागि धेरै समय बिताइयो ।” अहिले नारायणस्थानका घर–घरमा पानीका धारा पुगेका छन् । खोलाको पँधेरा पुग्नुपर्ने बाध्यता केही वर्ष पहिला हटेको नारायणस्थानमा अहिले घर–घरमा आफ्नै धारा छन् । भान्छाकोठा र गोठमासमेत आवश्यकता अनुसार धाराबाटै पानी खसाल्न सक्छन् ।

साना नातीनातीनालाई पहिलेको पानीका दुःख सुनाउँदा अचम्म मान्ने गरेको उहाँले बताउनुभयो । नारायणस्थनामा बागलुङ नगरपालिका–१३ पैञ्यूपाटाको धारापानी, वडा नं १२ अमलाचौरको धापेखोलाबाट केही वर्ष पहिले पानी आएको हो । दर्जनौं घरको एउटा सामुदायिक धारोबाट पानी खान्थे उनीहरु । अहिले कालीगण्डकी किनारको पानी बिजुलीले तानेर दुई किलोमिटरमाथि नारायणस्थानको शिरमा पु¥याइएको छ । जिल्लामा अहिलेसम्म बनेको सबैभन्दा ठूलो लिफ्टिङ प्रविधिको आयोजना हो, नारायणस्थान खानेपानी संस्थाले सम्पन्न गरेको आयोजना । प्रतिसेकेण्ड आठ लिटर पानी दिनमा आठ घण्टा तानेर नारायणस्थानका घरघरमा चौबिसै घण्टा पानी पु¥याइएको खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष चक्रबहादुर खत्रीले बताउनुभयो ।

“पहिले प्रतिसकेण्ड ६ लिटर पानी थियो, अहिले १४ लिटरभन्दा माथि हुन्छ”, उहाँले भन्नुभयो, “आठ घण्टा मात्रै कालीगण्डकी किनारको पानी तान्दा सबैधारामा दिनभर पानी बाड्न पुग्छ ।” नारायणस्थानका ७९७ घरमा धारा पुगेका छन् । ६० घर परिवारले अहिले पनि सामुदायिक धाराको पानी खान्छन् । ‘लागेको हिसाब दिनु प¥या, पानी जति पनि छ’ तिलकुमारीले भन्नुभयो, “पहिले खानेपानी पुगेको थिएन्, अहिले तरकारी लगाउन पनि पुगेको छ, ।” खानेपानी संस्थाको धारा जोड्न १५ हजार रुपैयाँ लाग्छ । विपन्न परिवारका लागि पाँच हजारमा घरघरमा धारा जोड्ने व्यवस्था रहेको खत्रीले बताउनुभयो ।

घरघरमा धारा पुगेपछि अहिले स्थानीयवासीको दैनिकी फेरिएको छ । सुख्खा माटोका डल्ला पल्टिने नारायणस्थानमा लहलह तरकारी फल्न थालेको वडा सदस्य नारायणप्रसाद श्रेष्ठले बताउनुभयो । बटुवाले पानी नपाउने ठाउँ भनेर चिनिने नारायणस्थानमा अहिले सामुदायिक धारामा बटुवाले नुहाउनसमेत पुग्नेगरी पानी रहेको उहाँले बताउनुभयो ।

नारायणस्थानमा भैरहेको बस्ती विकासलाई समेत ध्यानमा राखेर नारायणस्थानमा पानीको प्रबन्ध भएको छ । “कालीगण्डकी किनारका मुहान सङ्कलन गरेर ल्याइएको पानी हामीले चौविसै घण्टा तान्न सक्छौं”, वडाध्यक्षसमेत रहनुभएका खत्रीले भन्नुभयो, “जनसङ्ख्या र बस्ती बढेमा अझै पचास वर्षलाई पानीको समस्या हुन्न ।” पछिल्लो पटक कालीगण्डकीको किनारका मुहान सङ्कलन गरेर लिफ्टीङ प्रविधिमार्फत पानी माथी पु¥याउन रु दश करोड खर्चिएको हो ।

नेपाल सरकारको ८० प्रतिशत र स्थानीयवासीको २० प्रतिशत साझेदारीमा गत चैतमा योजना सम्पन्न भएपछि नारायणस्थानमा पानीको अभाव टरेको हो ।

    सम्बन्धित समाचार...