११ माघ २०७७, आईतवार

‘बालुवा नचाले चुलामा आगो बल्दैन’

भीमदत्त नगरपालिका–९ खल्लाका नन्दा भुलको उमेर ६० वर्ष ढल्किनै लागेको छ । उमेर ढल्दै गए पनि काम गर्ने जोस् र जागर भने तन्नेरीको जस्तै छ । बिहानीको झिसमिसेदेखि साँझ अबेरसम्म महाकाली नदीको बगरमा बालुवा गिट्टी चाल्नु उहाँको दिनचर्या हो ।

नदीको बगरमा बालुवा नचाले उहाँको घरको चुलोमा आगो बल्दैन । बाध्यतावस उहाँले बालुवा गिट्टी चाल्ने कार्यलाई अङ्गाल्दै आउनुभएको छ । आर्थिक रुपमा विपन्न परिवारका भुलले नदीको बगरमा पाँच वर्षदेखि बालुवा गिट्टी चाल्दै आउनुभएको छ । बालुवा गिट्टी चालेर बिक्री गरी आएको पैसाले उहाँले परिवारको खर्च चलाउँदै आउनुभएको छ । ब्रह्मदेव बजारबाट झण्डै पाँच किलोमिटर उत्तरमा रहेको खल्ला बस्तीमा बस्दै आउनुभएका नन्दाको घरबासका लागि मात्रै जग्गा रहेको छ ।

घरका लागि आवश्यकपर्ने खाद्यान्न, लत्ताकपडाको जोहो बालुवा गिट्टी चालेर आउने रकम जेनतेन धानिदै आएको छ । “गाउँमा रोजगारीका लागि अरु विकल्प छैन”, उहाँले भन्नुभयो, “बालुवा गिट्टी चाल्नु रहर नभएर बाध्यता हो । यसबाटै घरखर्च चलेको छ ।” विगतमा गाउँका युवा भारतमा मजदूरी गरी जीविका चलाउँदै आएका थिए । कोरोनाको महामारी फैलिएपछि अधिकांश युवा भारतमा रोजगारी गुमेपछि घर फर्केका छन् । घर फर्केपछि रोजगारी नहुँदा अधिकांश परिवारका युवादेखि बुढापाकासम्म नदीको बगरमा बालुवा गिट्टी चाल्ने कार्यमा संलग्न हुँदै आएका छन् ।

भारतबाट फर्केका करन सार्कीसमेत नदीको बगरमा श्रीमतीसँगै बालुवा गिट्टी चाल्ने कार्य गर्दै आएका छन् । चारदेखि पाँच दिनमा उहाँले चालेको बालुवा गिट्टी बेचेर रु दुई हजार जति कमाउने गरेका छन् । “बिहानदेखि साँझसम्म नदीको बगरमै हुन्छौं”, उहाँले भन्नुभयो, “पाँच दिनदेखि एक हप्तामा दुई हजार जति कमाइ हुन्छ । त्यही कमाइले घरको खाना खर्च धानिएको छ ।” “बस्दै आएको ऐलानी बलौटे जग्गामा लगाएको अन्नले एक महिना खान पुग्दैन ।

नजिकैका बजारमा रोजगार पाइदैन । बालुवा नचालेर के गर्नु” उहाँले भन्नुभयो, “बाध्यता छ ।” बालुवाप्रति ट्राली रु एक हजार र गिट्टी प्रति ट्राली रु दुई हजारमा बिक्री हुने गरेको छ । “नदीको बगरमा बालुवा गिट्टी चाल्न थालेपछि भगाउने समेत गरिन्छ”, अनिता सार्कीले भन्नुभयो, “पहिला माथिल्लो भागमा बालुवा गिट्टी चाल्थ्यौं । त्यहाँ चाल्न दिइएन । भगाइयो । यहाँबाट कुन दिन भगाउने हुन ठेगान छैन ।” “बालुवा गिट्टी चालेर नबेचेपछि गुजारा चल्दैन । यो कार्य रोकेपछि बिजोग नै हुन्छ । साँझ बिहानको खानाको छाक टार्नसमेत मुस्किल हुन्छ”, उहाँले भन्नुभयो ।

आर्थिक अभावका कारण अभिभावकसँगै नदीको बगरमै बालबालिकासमेत बालुवा गिट्टी चाल्ने कार्यमा संलग्न हुने गरेका छन् । घरखर्च चलाउन निकै अप्ठेरो परेका कारण बालबालिकालाईसँगै काममा लगाउनुपरेको अधिकांश परिवारले दुःखेसो पोख्नुभयो । “कोरोना सङ्क्रमणका कारण विद्यालय पनि सञ्चालनमा छैनन् । त्यसैले पनि विद्यालय पढ्दै आएका बालबालिकालाई बालुवा गिट्टी चाल्ने कार्यमा लगाएका छौं”, बालुवा गिट्टी चाल्नमा संलग्नहरुले भन्नुभयो, “विद्यालय सञ्चालन भए पनि कापी, कलम र पोशाकको व्यवस्था गर्नेसम्मको हैसियत धेरैसँग छैन ।

विद्यालय पढदै गरेकालाई बिचमै विद्यालय छुटाएर काममा लगाउनुपरेको छ ।” यहाँका अधिकांश बालबालिकाले बालुवा बोकेरै पढाइ खर्च जुटाउने गरेको स्थानीयवासीको भनाइ छ । बजारक्षेत्रमा आवश्यक पर्ने अधिकांश बालुवा बालबालिकाले चाल्ने गरेको स्थानीयवासी अनिता सार्कीले बताउनुभयो । निःशुल्क पढ्न पाउनुपर्ने बालबालिकाको अधिकार संविधानमा किटान गरिएको भए पनि, सरकारले समेत बालबालिकालाई अनिवार्य रुपमा विद्यालय पठाउन भर्ना कार्यक्रम सञ्चालन गरे पनि भीमदत्त नगरपालिका–९ खल्लालाई छुन सकेका छैनन् ।

अभिभावकहरूकै असहयोगका कारण बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन कठिन भएको दाबी नगरपालिकाको छ । विद्यालय नआएर बालुवा बोक्दै घरखर्च चलाउने बालबालिकाका विषयमा सम्बन्धित सबै निकायले छलफल गरी समस्या समाधानतर्फ लाग्नुपर्ने उहाँको भनाइ छ । बालुवा गिट्टी चाल्दाचाल्दै धेरै जना बिरामी भए पनि उपचार खर्च नहुँदा रोग पालेर बस्नुपर्ने अवस्थासमेत रहेको छ ।

महाकाली नदीको बगरमा बालुवा चाल्नेमा अधिकांश दलित परिवार संलग्न छन् । बालुवा गिट्टी चाल्ने परिवारको आर्थिक अवस्था दयनीय छ । बस्नका लागि गतिलो घरसमेत छैन । अधिकांश परिवार झोपडीमा बस्दै आएका छन् । महाकाली नदीमा बालुवा गिट्टी चाल्नेको सङ्ख्या सय भन्दा बढी छ ।